×

डीएनए रिपोर्ट लुकाइएको भन्दै कुमारी आमा’ निहारिका अन्तर्राष्ट्रिय मिडिया

images

‘कुमारी आमा’ निहारिका राजपूत आफ्नो माग नेपालमा सुनवाइ नभएको भन्दै मुद्दा अन्तर्राष्ट्रियकरणका लागि नयाँ दिल्ली पुगेकी छन् । उनी पाँच दिनअघि अर्की ‘घरेलु हिंसा पीडित’ बिनु यादवका साथमा दिल्ली गएकी हुन् ।

आफ्नो मुद्दालाई भारतीय लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ल्याएर नेपालको न्यायिक निकायलाई दबाब पुर्‍याउन नयाँ दिल्ली आएको निहारिकाले बताइन् । आफ्नो बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको दुई महिना बितिसक्दा पनि रिपोर्ट सार्वजनिक नगरिएको र आरोपीलाई सजायबाट उन्मुक्ति दिने चलखेल गरिएको उनको आरोप छ ।

निहारिकाले नयाँ दिल्लीबाट नजिकै रहेको नोयडा फिल्म सिटीमा पुगेर केही भारतीय टेलिभिजन च्यानलका पत्रकारहरूसँग आफ्नो मुद्दाबारे जानकारी गराएकी छन् ।

आजतक, एबीपीन्यूज, न्यूज २४ लगायतलाई आफ्नो मुद्दाको फेहरिस्त दिएको र उनीहरूले अध्ययन गरेर एक हप्ताभित्र रेस्पोन्स गर्ने आश्वासन दिएको निहारिकाले बताइन् ।

‘नेपालका सञ्चारमाध्यमले पनि मलाई साथ दिइरहनुभएको थियो । तर, सरकारले गम्भीर रूपमा नलिएपछि म अन्तर्राष्ट्रिय मिडिया गुहार्न बाध्य भएकी छु,’ दिल्लीबाट निहारिकाले भनिन्, ‘यदि परिस्थिति आएको खण्डमा म नयाँ दिल्लीमै राष्ट्रपति भवन वा संसद् भवन अगाडि पनि अनसन बस्न सक्छु ।’

आफ्नो बच्चा र आरोपीको डीएनए टेस्ट गराउनुपर्ने माग गर्दै निहारिका गत साउनमा १७ दिनसम्म आमरण अनशन बसेकी थिइन् । सरकारसँग तीन बुँदे सहमतिपछि उनले अनसन तोडेकी थिइन् । त्यसपश्चात् जनकपुर उच्च अदालतको आदेशमा बच्चा र आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गरिएको थियो । गत २६ भदौमा डीएनएका लागि दुवैको नमुना लिइएको भए पनि अहिलेसम्म रिपोर्ट सार्वजनिक भएको छैन । नमुना लिँदा २१ दिनभित्र रिपोर्ट आउने भनिएको थियो ।

विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणको रिपोर्ट आइसके पनि गोप्य राखिएको बुझिएको छ । उक्त सिलबन्दी रिपोर्ट जनकपुर उच्च अदालतको पेशीमा मात्रै खोलिने स्रोतले बतायो ।

‘हामी आफैँले रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, सिधै अदालतलाई पठाइदिएका छौँ,’ विधि विज्ञान प्रयोगशाला खुमलटार स्रोतले भन्यो ।

उच्च अदालतमा पेशी कहिले तोकिन्छ भन्ने टुंगो छैन । चुनावअघि पेशी तोकिने सम्भावना नरहेको स्रोत बताउँछ । चुनावअघि आफूले फेरि अर्को सडक संघर्ष गर्ने त्रासले पेशीमा ढिलाइ गरिएको भन्दै निहारिका असन्तुष्ट छिन् ।

डीएनए म्याच भएको अवस्थामा पनि अदालतले आफूलाई पूर्ण न्याय नदिने उनको चिन्ता छ ।

‘डीएनए म्याच भइसकेपछि आरोपीलाई बलात्कारमा सजाय दिनुपर्छ भन्ने मेरो माग हो,’ उनले भनिन्, ‘उसले मलाई श्रीमतीको रूपमा स्वीकार्ने वा अंश दिएर पन्छाउने कुरामा म विल्कुल सहमत छैन । त्यो म कुनै हालतमा मान्दिनँ ।’

मधेस प्रदेश सरकारले लामो समयदेखि संघर्षरत निहारिका राजपूतलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको थियो । तर, उक्त रकम पनि हालसम्म नपाएको निहारिकाको गुनासो छ ।

अर्की हिंसापीडित बिनु यादवले पनि आफूमाथि हिंसा गर्नेहरू खुल्ला रूपमा हिँडिरहेको भन्दै न्यायको माग गरेकी छन् । उनले पनि आफ्नो मुद्दा अन्तर्राष्ट्रिय मिडियाबाट बाहिर ल्याउने बताइन् ।

आइतबार​ ६ कात्तिक २०७९ ०२:२० PM मा प्रकाशित

प्रतिक्रिया