×

नारायणी नदी संरक्षणका लागि जल संवाद

images


नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकारवालाले जोड दिएका छन् । पछिल्लो समय नदी प्रदूषित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले नदीका कारण धेरै सम्भावना भएको बताएका छन् । 

बिहीबार नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० नवलपुरको गैँडाकोटमा आयोजित ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना ’सम्बन्धी तेस्रो जल संवाद कार्यक्रममा सरोकारवालले नदी प्रदूषण रोक्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले हामीसँग भएका नदी तथा खोलाले सम्भावनासँगै चुनौती थपेका बताउनुभयो । नदीका कारण बाढी, पहिरो र भूक्षयको जोखिम भएको उल्लेख गर्दै उहाँले खोलानाला तथा जलाधार क्षेत्रको संरक्षण गरेमा मात्रै मानव जातिको अस्तित्व रहने बताउनुभयो । 

कार्यक्रममा भरतपुर महानगरपालिका वतावरण शाखाका जानुका केसीले भरतपुरको फोहोर व्यवस्थापनको काम भइरहेको बताउनुभयो । अहिले भरतपुरका विभिन्न स्थानबाट सङ्कलन भएको फोहोर नदी किनारमा लगेर फालिएको भए पनि यसको दीर्घकालीन समाधान महानगरले खोजेको उहाँको भनाइ थियो । 

कार्यक्रममा विश्व वन्यजन्तु कोष नेपालको पानी कार्यक्रम अधिकृत अरुण देवानले सहरीकरण बढ्दै गएको अवस्थामा नदी संरक्षणमा चुनौती थपिएको बताउनुभयो ।  उहाँले संवाद कार्यक्रम गर्दा नदी तटीय क्षेत्रका प्रभावित र सरोकारवालाबीच कुराकानी हुनसक्ने भएकाले जलाधार क्षेत्रको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सञ्जाल गठन

‘नारायणी नदी तथा जलाधार संरक्षण सञ्जाल’ गठन गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । 
सञ्जालले कार्ययोजना तथा विधान निर्माण गरेर नदी तथा जलाधार क्षेत्र संरक्षणका लागि कार्यक्रम अघि सार्ने बताइएको छ । जलाधार क्षेत्र संरक्षणसम्बन्धी पैरवी गर्दै संरक्षणसम्बन्धी गतिविधि गर्दै अघि बढ्ने सञ्जालको मुख्य उद्देश्य रहेको छ ।

शुक्रबार​ ७ असोज २०७९ ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया