×

जीर्ण बन्दै ऐतिहासिक गर्भादरबार

images

गोदावरी- कैलालीको चुरे गाउँपालिका–४ मा रहेको ऐतिहासिक राणाकालीन गर्भादरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षण अभावमा खण्डहरमा परिणत हुँदै गएको छ ।

दरबार जीर्ण बन्दै गइरहेको भए पनि त्यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि त्यसको संरक्षणमा कसैको ध्यान जान नसकेको स्थानीयवासी चक्र बोगटीले बताउनुभयो । दरबार संरक्षणका लागि स्थानीय बासिन्दाले सरोकारवाला निकायसँग पटक–पटक आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

दरबार दिनप्रतिदिन भत्किने क्रममा छ । कतिपय भाग भत्किएर दरबारको शोभा बिगँ्रदै गएको छ । बोगटीले भन्नुभयो, “सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको क्षेत्र खण्डहरमा परिणत हुँदै गएको छ । वर्षौँदेखि दरबार प्रयोगविहीन बनेपछि भत्किँदै गएको छ ।” कलाकृति जडित भित्ता  २०५५ सालदेखि भत्किन सुरू भएको स्थानीयवासी प्रकाश गुरुङले बताउनुभयो ।

गर्भा दरबारमा चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । खड्कशम्शेरका छोरा बहादुर शम्सेरपछि दरबार बहादुरशम्सेरका साहिँला छोरा तेजप्रकाशशम्शेर जबराको भागमा परेको स्थानीय जानकार बताउँछन् । राणाशासनको अन्त्यपछि पनि शासकहरू बसेका उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि नबसेको बताइन्छ ।

चुरे क्षेत्रमा पर्ने गर्भादरबार हावापानी, मौसम र भौगोलिकरूपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकहरूले गर्भालाई रोजेको हुनसक्ने बुझाइ छ । मास पिसेर त्यसबाट निर्माण गरिएको दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । दश रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीनतले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङसमेत बनाइएको छ । त्यो अहिले पुरिँदै गएको छ । राणा शासक खैरालाको दरबारबाट डोटी बर्छेनको च्युरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फु काफलीमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको इतिहास खैरालाका बूढापाका सुनाउँछन् ।

दशक पुरानो राणाकालीन दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । देशमा पटकपटक शासन व्यवस्था फेरिए पनि ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारमा ध्यान पुग्न नसकेको वडाध्यक्ष किष्ण मल्लले बताउनुभयो । दरबार संरक्षण गर्न पालिकाको बजेट पर्याप्त नहुने भएकाले सङ्घ र प्रदेश सरकारले यसको संरक्षणका लागि बजेट विनियोजन गर्नुपर्ने स्थानीयको माग छ । पछिल्लोपटक स्थानीय सरकार आइसकेपछि दरबार सडक सञ्जालसँग जोडिएको छ ।

चुरे गाउँपालिकामा रहेका छवटै वडा सडक सञ्जालसँग जोडिएको गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउदले बताउनुभयो ।  दरबारलाई सडक सञ्जालसँग जोेडेपछि पछिल्लोपटक आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको छ । तर त्यसको कार्यान्वयन हुनसकेको छैन । पुरातत्व विभागले भनेबमोजिम दरबारको पुनःनिर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयन हुन नसकेको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले बताउनुभयो ।

दरबारको मर्मतका लागि पुरातत्व विभागको टोलीले स्थलगत अध्ययन गरेर गत वर्ष फर्किएको थियो । दरबार संरक्षणका लागि प्रदेश सरकारले पुरातत्व विभागसँग समन्वय गर्दै आएको मन्त्री सोडारीले बताउनुभयो । कैलाली सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने दरबारको प्रवद्र्धनमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने र यसबाट स्थानीयको जीवनस्तरमा सुधार गर्न सकिने स्थानीयवासी बताउँछन् ।

बुधबार ९ चैत २०७८ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया