×
images

चार्ल्स शोभराजलाई जेलमुक्त गर्न भक्तपुर जिल्ला अदालतले पत्र पठायो

काठमाण्डौँ।  बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई रिहा गर्न भक्तपुर जिल्ला अदालतले कारागारलाई पत्र पठाएको छ । केन्द्रीय कारागार सुन्धारामा शोभराजलाई रिहा गर्न पत्राचार गरिएको भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार ऋतबहादुर पुलामी मगरले रातोपाटीलाई जानकारी दिए ।


१९ वर्षदेखि नेपालको कारागारमा रहेका शोभराजलाई बुधबार सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।


नेपाल घुम्न आएका क्यानेडियन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको मुद्दा भक्तपुर जिल्ला अदालतमा चलेको थियो । क्यारियरेको शव भक्तपुरको साँगामा फेला परेको हुनाले भक्तपुर जिल्ला अदालतमा सो मुद्दा चलेको थियो ।


काठमाडौं जिल्ला अदालतमा शोभराजविरुद्ध अमेरिकन नागरिक कोन्नी जो ब्रेन्जीचको हत्या गरेको मुद्दा र जाली नोटबारे मुद्दा चलेको थियो । ‘पुरानो कैदी पुर्जीमा जिल्ला अदालत काठमाडौंबाट जाली नोट र हत्या मुद्दा चलेको देखिएको छ’ भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार ऋतबहादुर पुलामी मगर भन्छन्, ‘त्यसबारे सर्वोच्चको आदेशमा केही भनिएको छैन, हामीले काठमाडौंलाई पनि जानकारी गराएका छौँ ।’

शोभराज फ्रान्सेली नागरिक हुन् । काठमाडौं जिल्ला अदालतबाट पत्र आएपछि शोभराजलाई रिहा गरिने केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेले रातोपाटीलाई बताए । उनले भने–‘भक्तपुरबाट पत्र आएको छ, काठमाडौंबाट पत्र आउन बाँकी छ ।’

अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जीचको शव जडिबुटीनजिकै मनहरामा फेला परेको हुनाले सो मुद्दा काठमाडौं जिल्ला अदालमा चलेको बताइएको छ । सो मुद्दाबारे सर्वोच्चले बुधबार गरेको संक्षिप्त आदेशमा बोलिएको छैन । भक्तपुरको पत्रबाट शोभराज जेलमुक्त नभएपछि वरिष्ठ अधिवक्ता गोपाल शिवकोटी ‘चिन्तन’ले उनलाई रिहा गराउन सक्रियता देखाएका छन् । 

बिहीबार ७ पुस २०७९ ०३:१४ PM मा प्रकाशित

प्रतिक्रिया