×

काठमाडौँ १ को मतपरिणाम : किन उदाएन वैकल्पिक शक्ति ?

images

काठमाडौ । यसपालि काठमाडौँ १ को चुनावी प्रतिस्पर्धा र परिणाम रोचक रह्यो । आठ स्वतन्त्र उम्मेदवारहरू यहाँ एक मतदेखि पाँच मतमा खुम्चिएका छन् । 

स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बु र खुमकला लामिछानेले एक–एक मत, निर्जल शाह र संगीता राजवाहकले दुई–दुई, सीता तामाङ (केसी), देव शर्मा र मिरा विष्टले तीन–तीन र सुनिता बसेलले पाँच मत पाएकी छन् । थाहा छैन, यीमध्ये को कसको डमी उम्मेदवार हो ! यद्यपि यसले देखाउँछ– यहाँ स्वतन्त्र उम्मेदवारले राजनीति गर्ने रहर मात्रै गरे कि ! यसले सङ्केत गर्छ– व्यक्ति दल र नेताहरूको काम–कारबाहीप्रति राजनीतिक व्यवस्थाप्रति असन्तुष्ट छ भने वरपर नहेरी विद्रोह गर्दो रहेछ । यसले दर्शन दिन्छ– मतदाताहरूले मतदान गर्नु अगाडि ‘केही न केही’ आधार खोज्दा रहेछन् । 

दलीय आस्थाकै मत बढी ?

काठमाडौँ महानगरपालिकाका चारवटा वडा समेटिएको यस क्षेत्रमा ४५ हजार ०१८ मतदाता छन्, यसपालि यहाँबाट २६ हजार ९७८ मत खस्यो भने ८१२ मत रद्द भयो । निर्वाचन आयोगका अनुसार, यस क्षेत्रबाट दलका (२१) र स्वतन्त्र उम्मेदवार (११) गरी ३३ उम्मेदवार चुनावी मैदानमा थिए । 

हाम्रो राजनीतिक इतिहासका लौहपुरुष गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह यसपालि ७ हजार १३९ मतसहित पुनः यस क्षेत्रबाट निर्वाचित भएका छन् । बहुदलीय व्यवस्था र पहिलो हुने निर्वाचित हुने प्रणालीमा निर्वाचित हुनेको भन्दा पराजित हुनेको मत बढी हुनुलाई स्वाभाविकै मान्नुपर्छ । उसो त, यहाँ पुराना दुई दल कांग्रेस (गठबन्धन) र एमाले (किरण पौडेल, प्राप्त मतः ३,५३२) लाई १०,६७५ मत प्राप्त भएको छ । प्रत्यक्षतर्फको यस मतलाई दलीय आस्थाको मत मान्ने हो भने, वैकल्पिक व्यक्ति र शक्तिको मत कमै हो । 

अघिल्लोपटक रवीन्द्र मिश्र विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवार थिए, यसपालि राजावादी पार्टी (राप्रपा)मा प्रवेश गरी उनले उम्मेदवारी दिए । संघीयता, धर्मनिरपेक्षताको विपक्षमा विचार दिँदै आएका मिश्रले दुईपटक फरक–फरक पार्टीबाट उम्मेदवार बनी दुवैपटक सम्मानजनक मत ल्याए ।

यहाँनेर प्रश्न उब्जेको छ, मिश्रलाई प्राप्त मतलाई दलीय आस्थाको मत भन्ने कि वैकल्पिक शक्ति (नयाँ दल) वा व्यक्ति (नयाँ वा ताजा अनुहार) को ?

राप्रपा पुरानै दल हो, यो पार्टी ०४८ सालदेखि चुनावी मैदानमा छ । मिश्रलाई राष्ट्रिय राजनीतिमा नयाँ अनुहार तर पुरानै (पश्चगामी) विचारका मान्नुपर्ने हुन्छ ।     

वाम विश्लेषक श्याम श्रेष्ठ, मतदाताले विचार हेरेर मत नदिएको विश्लेषण गर्छन् । ‘मिश्रको हकमा सिद्धान्त र विचारले पाएको भोट होइन, यसरी भोट दिन भए राप्रपाले देशैभरिबाट राम्रो भोट ल्याउँथ्यो,’ उनी भन्छन्, ‘मतदाताले नयाँ व्यक्ति र विकल्प रोजेका हुन् । यसले के सङ्केत गर्छ भने, पुराना दलले आफूलाई नसुधार्ने हो भने राजनीति जतासुकै पनि जान सक्छ ।’ विश्लेषक श्रेष्ठ पुराना पार्टी र बूढा नेताप्रति मतदाताको वितृष्णा बढेको बताउँछन् ।   

विकल्पका लागि ‘नयाँ तरंग’

पछिल्लो समय हामीकहाँ हुने तीनै तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार र वैकल्पिक शक्तिप्रति मतदाताको रुझान बढेको देखिन थालेको छ । गत वैशाखको स्थानीय निर्वाचनमा काठमाडौँको मेयरमा बालेन्द्र शाह र धरानको मेयरमा हर्क साम्पाङ निर्वाचित भए । देशको संघीय राजनीति रहेको महानगर र लाहुरेहरूले निर्माण गरेको सहर भनेर चिनिने धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार आउँदा यसले देशभर एक खालको नयाँ तरंग ल्यायो, खासगरी सामाजिक सञ्जालमा । 

वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा काठमाडौँको मेयरमा बालेन्द्र साहसँग प्रकाशमान पत्नी सिर्जना सिंह पराजित भएकी थिइन् । यसले सङ्केत गर्थ्यो– यहाँका मतदाताले केही नयाँ चाहन्छन्, यहाँका मतदाताले दल र व्यक्तिको विरासत मात्रै हेर्दैनन् ।    

चार दशकदेखि राजनीतिमा सक्रिय ६६ वर्षीय सिंह यसपालिसहित पाँचपटक (२०५१, ०६४, ०७०, ०७४ र ०७९ मा) सांसद, सभासद् र केही पटक मन्त्री भइसकेका छन् ।

उनीसँग प्रतिस्पर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र (वर्ष ५७), राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम (वर्ष ३५) र नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल (वर्ष ५८)लाई यहाँ वैकल्पिक व्यक्ति र शक्तिका रूपमा हेरिएको थियो । 

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका मिश्र र नेपाल प्रहरीका पूर्वडिआइजी खरेल मिडियामा चर्चा कमाएकै व्यक्ति हुन् । उनीहरूसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धामा नयाँ अनुहार थिए, पुकार बम । आफूलाई अभियन्ताका रूपमा चिनाउने बम पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका हुन् । 

बमले ४ हजार ११५ मत पाउँदा खरेलले ३ हजार १२४ मत प्राप्त गरे । यी दुवैको सङ्ख्या जोड्दा निर्वाचित सिंहको भन्दा ९६ ले बढी हुन्छ । पछिल्लो ६ वर्षदेखि राजनीतिक मैदानमा रहेका मिश्र अघिल्लोपटक सिंहसँगै ८१८ मतको झिनो अन्तरले पराजित भएका थिए, यसपटक झनै झिनो मतान्तर (१२५)ले पराजित भए । 

यो खालको मत परिणामले देखाउँछ– यहाँका मतदाताले नयाँ व्यक्ति, शक्ति र युवा चाहेकै हुन् । 

हामी यतिखेर दशवर्षे जनयुद्ध र ०६२/६३ को आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रक्रियामा छौँ । संविधान बनिसकेपछि राज्यले दुईवटा निर्वाचन गर्न सफल भएको छ । राजनीतिक रूपमा देशमा परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नभएपछि पछिल्लो समय राजनीतिमा उदाउन नयाँ वा ताजा अनुहार र युवाहरू जाग्न थालेका छन् । सँगसँगै पुराना राजनीतिक दल र पाका नेताप्रति एक खालको वितृष्णा पनि देखिन्छ । पछिल्लो समय नेकपाको दुई तिहाइको सरकार ढलेसँगै जनतामा अझ निराशा छायो । 

यसपालि काठमाडौँ १ मा जसरी मतदाता बाँडिए यसले स्पष्ट गर्छ– यहाँका मतदाताले केही नयाँ अनुहार वा वैकल्पिक शक्ति खोजिरहेका छन् । अब पुराना दल र पाका नेताले ऐनामा हेर्नुपर्छ– मेरो वा हाम्रो अनुहारमा कहाँनेर दाग लाग्यो ? 

मङ्गलबार ६ मंसिर २०७९ ०३:११ PM मा प्रकाशित

प्रतिक्रिया