महोत्तरी । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले बदलिएको नयाँ परिस्थितिमा राष्ट्र ठुलो सङ्कटको स्थितिमा पुगेको र यति ठुलो विध्वंस पहिले कहिल्यै नभएको बताएका छन् । यो परिस्थितिमा राष्ट्रिय शक्तिहरूका बिचमा सहमति, समझदारी आवश्यक रहेकोमा जोड दिँदै उनले देश भित्रका सबै वामपन्थी र कम्युनिस्टहरूको बिचमा एकता तथा शान्ति सम्झौता र सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सबै राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प नभएको बताएका हुन् ।
'यो अन्तरिम सरकार एउटा जटिल परिस्थितिमा बनेको छ र यो अन्तरिम सरकारले ६ महिनापछि निर्वाचनको घोषणा गरेको छ । हामीले कुनै हिचकिचाहट नराखीकन, कुनै दुविधा नराखीकन यतिबेला सम्पूर्ण राष्ट्र एकजुट भएर घोषित मितिमा नै निर्वाचन सम्पन्न गर्ने र नयाँ प्रतिनिधिसभा हुँदै जेनजी युवाहरूका मागलाई पनि सम्बोधन गर्ने गरी र आम जनताका असन्तुष्टि र आक्रोशलाई पनि सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्दछ भनेर निर्वाचनको निम्ति अपिल गर्ने पार्टी पनि माओवादी केन्द्र नै भयो,’ मोहत्तरीमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले स्पष्ट पारे । हिजो प्रधानमन्त्री सुशील कार्कीले बोलाएको सर्वदलीय बैठकमा करिब-करिब सबै राजनीतिक दलले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको र निर्वाचनमा भाग लिन तयार भएको स्थिति बनेको उनको भनाई थियो । उनले यस प्रक्रियाको नेतृत्व माओवादी केन्द्रले गरेको दाबी गर्दै देश सहज निकासको बाटोतिर जानुमा माओवादी केन्द्रको भूमिकालाई जनताले टोल-टोलमा पुर्याइदिनुपर्ने आह्वान गरे ।
साथै प्रचण्डले जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन् । महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुने बताएका हुन् ।
‘अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्,’ उनले भने, ‘अरू कसैले जेनजीका माग पूरा गर्दैनन् ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा विगतदेखि नै माओवादीले उठाउँदै आएको चर्चा गरेका प्रचण्डले यसविरुद्धमा रहेकाहरूले जेनजीकाे भावना बुझ्न नसक्ने बताए । ‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा छ, जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्धमा छ, जो समावेशी लोकतन्त्रको विरुद्धमा छ, उनीहरूले जेनजीको भावनालाई बुझ्न सम्भव छैन,’ उनले थपे, ‘यसकारण मैले पेरिसडाँडाबाट पनि पत्रकारहरूसँगको कुराकानीमा पनि जेनजीलाई लगातार अपिल गर्दै आएको छु ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो मित्र र बैरी चिन्न पनि जेनजीलाई आग्रह गरे । ‘आजका जेनजीले आफ्नो मित्र र दुस्मन को हो चिन्न सक्नुपर्यो, आफ्ना अभिभावक र मित्रलाई दुस्मनजस्तो, दुस्मनलाई मित्र जस्तो ठान्ने हो भने त्योभन्दा ठूलो दर्भाग्य यो देशका लागि केही हुन सक्दैन,’ प्रचण्डले भने ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा माओवादी प्रवेश गरिएको थियो । त्यसतर्फ इंगित गर्दै प्रचण्डले खादा लगाइँदिदा थाक्ने गरी पार्टी प्रवेश भएको र तीमध्ये ६० प्रतिशत जति जेनजी भएको बताए ।
उनले जनयुद्ध र जनआन्दोलन गर्दा आफू पनि जेनजी नै भएको जिकिर गरे । उनले भने, ‘मैले कहिलेकाहीँ भन्छु, हिजो हामीले जनयुद्ध र जनआन्दोलन गर्दा जेनजी नै थियौं, आज मधेशमा सयौँको संख्यामा पहिलोचोटि जेनजी आन्दोलनपछिको अतिभव्य सार्वजनिक कार्यक्रममा सयौँ-सयौँ, हजारौं वरिपरि, ६० प्रतिशत जेनजी कुन पार्टीमा प्रवेश गरे? माओवादी केन्द्रमा ।’
प्रचण्डले सरकारलाई खबरदारी गर्दै दमनको बाटो नअपनाउन आग्रह गरे पनि सरकार दमनमा उत्रिएको बताए । दर्जनौँ युवाहरूको हत्या र घाइते हुने स्थिति भएपछि आफूहरूले अभियान रोकेर रातारात काठमाडौँ आएर जेनजी युवाहरूको मागलाई समर्थन मात्रै नभई राति नै पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएर सरकारले गरेको बर्बर दमनको भण्डाफोर तथा भर्त्सना गरेको दाबी गरे ।
माओवादी केन्द्रले मृतकहरूलाई शहीद घोषणा गर्ने, उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने र केपी ओलीले अविलम्ब राजीनामा दिनै पर्छ भन्ने पहिलो वक्तव्य दिएको उनले बताए । २४ गतेको विध्वंस रोक्नका लागि आफूहरूले माग गरेकै दिन ओलीले राजीनामा नदिएका कारण देशमा भयानक विध्वंस मच्चिएको उनले उल्लेख गरे ।
प्रतिक्रिया