×

मकै पोलेरै टर्छ छाक

images


कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ५८ वर्षीया पार्वती धामी ठेलागाडामा मकै पोलेर बेच्नुहुन्छ । साँझबिहानको छाक टार्न झरिमा छाताको ओत लागेर पनि आफ्नो कामलाई निरन्तरता दिँदै आउनुभएको छ । वृद्ध अवस्थामा पनि उहाँको सहारा ठेलागाडा बनेको छ । करिब छ वर्षदेखि मकै पोलेरै साँझबिहानको जोहो गरिरहेको उहाँले बताउनुभयो ।
    
“पानी प¥यो भनेर घरमै बसेँ साँझ भोकै बस्नुपर्छ ।” उहाँले भन्नुभयो, “मकै बेचेर आएको पैसाले साँझ बिहान खान ठिक्क हुन्छ । यसबाट  दैनिक पाँच सय जति आम्दानी हुन्छ  ।” दोधारा चाँदनीबाट प्रतिकेजी रु ४० मा मकै खरिद गरेर महेन्द्रनगर बजारमा बेच्ने गरेको धामीले बताउनुभयो । “पोलेको मकै एउटा रु २५ मा बिक्री गर्छु मेरो पेट पाल्न ठिकै भएको छ ।” उहाँले भन्नुभयो,“मकै बेचेर आएको पैसाले चामल खरिद गरेर लग्छु साँझबिहानलाई पुग्छ । दिनमा काम नगरे साँझ चुलोे बाल्नै मुस्किल हुन्छ । ”
    
विसं २०५८ मा श्रीमान् बेपत्ता भएपछि उहाँ एकल हुनुभयो । दार्चुलाको मालिकार्जुन–३ निवासी धामी हाल महेन्द्रनगरस्थित कटानमा कोठा भाडामा लिएर बस्दै आउनुभएको छ । “एउटा छोरी थिइन् छोरीको पनि बिहेपछि श्रीमान्ले अर्को बिहे गरेर छोड्यो ।” उहाँले भन्नुभयो–“अहिले छोरीको सहारा म मेरो सहारा छोरी भएका छौँ ।” धामीकी छोरी लक्ष्मी पनि महेन्द्रनगर बजारमै आइसक्रिम बेच्दै आउनु भएको छ । 
    
“छोरीको कमाइले कोठाभाडा तिर्न र अरु खर्च चलाउन पुग्छ ,” उहाँले भन्नुभयो–“अहिले सबै कुरा महँगो भएको छ साँझबिहानको चुलो बाल्नै मुस्किल छ ।” छोरी लक्ष्मीले मौसमअनुसारको व्यवसाय गर्ने गरेको बताउनुभयो । “जति बेला जे काम पायो त्यही गर्छु काम गरेर खानु छ,” उहाँले भन्नुभयो,“दैनिक मजदूरी गरेर खान लाउन ठिक्क भएको छ ।” सानै उमेरमा बिहे गर्नुभएकी लक्ष्मीले श्रीमान्ले दोस्रो बिहे गरेपछि निकै समस्या झेल्नु परेको बताउनुभयो । 

“अहिले आमासँगै बस्दै आएको छु मेरो सहारा आमा, आमाको सहारा म छु ।” उहाँले भन्नुभयो,“सरकारले दिएको एकल भत्ताले राहत भएको छ ।” जीवनमा अनेक पीडासँग जुध्दै तराई झरेको लक्ष्मीले बताउनुभयो ।

 उहाँ जस्तै पोलेको मकै बेचेर दैनिक जीवनयापन गरिरहेका थुप्रै महिला महेन्द्रनगरमा भेटिन्छन् । भीमदत्त नगरपालिका– १८ का धाना पन्तले पनि पोलेको मकै बेचेर दैनिक गुजारा चलाइरहनुभएको छ । रोजगारीको अन्य केही उपाय नभएपछि दुबै दम्पतीले मकै बेचेर साँझ बिहानको जोहो गर्दै आउनु भएको छ । “अन्य रोजगारी केही छैन पोलेको कमै बेचेर जीवनयापन गरिरहेका छाँै ।” उहाँले भन्नुभयो ।

“खेती किसानी गर्न जग्गा छैन अन्य काम गर्न सीप छैन ।” पन्तले मकै बेचेर दैनिक एक हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । “बुढाबुढी दुबैको कमाइ दिनको रु एक हजार ५०० जति बचत हुन्छ यसबाट घरखर्च धान्न पुगेको छ ।” उहाँले भन्नुभयो–“छोराछारीको स्कुल खर्च  पनि यसैबाट चलेको छ ।” महेन्द्रनगरमा मकै पोलेर मात्रै थुप्रैले जीविकोपार्जन गरिरहेका छन् । मौसमअनुसार बैशाखदेखि असोज महिनासम्म फुटपाथमा बसी मकै पोलेर मनग्य आम्दानी गरिरहेको उनीहरुको भनाइ छ । महेन्द्रनगरमा दोधारा चाँदनीबाट मकै आउने गरेको छ ।

बिहीबार ६ असोज २०७९ ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया