×

१० वर्षमा पाँच गुणाले बढ्यो सेयर पुजीकरण

images

काठमाडौं । अर्थतन्त्रको प्रमुख हिस्साका रूपमा रहेको मुलुकको सेयर बजारको पुँजीकरण एक दशकमै पाँच गुणाले बढेको छ । डिजिटल प्रविधिमा आएको विकाससँगै अनलाइनबाट हातहातमा कारोबार गर्न मिल्ने भएपछि लगानीकर्ताको आकर्षणले पुँजी बजारमा छोटो समयमै उछाल आएको हो ।

आर्थिक वर्ष २०६९/७० मा ५ खर्ब १४ अर्ब रूपैयाँको सेयर बजार पुँजीकरण आव २०७९/८० मा आइपुग्दा ३० खर्ब ८२ अर्ब रूपैयाँमा पुगेको छ । यसरी हेर्दा नेपालमा सबैभन्दा द्रुत गतिमा विकास हुने क्षेत्रमध्ये पुँजी बजार पनि देखिएको छ ।

प्रविधिको विकास, पुँजी बजारमा नयाँ कम्पनीहरू लिस्टेट हुने क्रमको वृद्धि, ठुलो पुँजी भएका कम्पनीहरू सेयर बजारमा आएकाले पुँजीकरणको आकार बढेको हो । कोभिड - १९ को महामारीसँगै अनलाइन कारोबारले अझ व्यापकता पाएपछि सेयर बजारमा आकर्षण ह्वात्तै बढेको थियो ।

आव २०७७/७८ मा सेयर पुँजीकरण औसत ४० खर्ब १० अर्बरूपैयाँ पुगेको थियो । कोभिडको समयमा अन्य कारोबार नभएकाले सबै लगानीकर्ता सेयर बजारमा केन्द्रित भएका थिए । पछिल्ला दुई वर्षमा लगानीकर्ताले भने करिब १० खर्ब रूपैयाँ गुमाएपछि सेयर पुँजीकरण ३० खर्ब ८२ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

१० वर्षमा नेप्से सूचकांक पनि चार गुणाले बढेको छ । आव २०६९/७० मा ५१३.३३ रहेको नेप्से आव २०७९/८० को अन्त्यमा आइपुग्दा औसत सूचकांक १,९५३.०६ अंकमा पुगेको थियो । एक वर्षमा नेप्से सूचकमा भने सामान्य वृद्धि भएको छ । धितोपत्र बजार मापन परिसूचक नेप्से सूचक समग्रमा ८७.६ प्रतिशत मात्र बढेको छ ।

२०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचक २०८० असार मसान्तमा २० ९७. १ कायम भएको थियो । बुधबार नेप्से १,९९८.२८ अंक रहेको छ । अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्थाले सेयर बजारमा गृहणी, विद्यार्थी, कर्मचारीदेखि ठुला लगानीकर्ता प्रवेश गरेका छन् । सेयर बजारमा लगानीकर्ताको संख्या ५६ लाख पुगेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

मङ्गलबार ५ भदौ २०८० ०७:३५ AM मा प्रकाशित

प्रतिक्रिया