×
images

रामेछाप जिल्लाका पर्यटन स्थल (फोटो फिचर )

रामेछाप जिल्लालाई प्राकृतिक साधन, स्रोत, एवं विशेषताले भरिपूर्ण मान्न सकिन्छ। कारण, यहाँ थुप्रै किसिमका ऐतिहासिक तथा रमणीय स्थलहरू,महत्त्वपूर्ण पोखरी, गुफाहरू, झरना, हिमशिखर, भञ्याङ, ताल, पोखरी, गुम्बा, मन्दिरहरूर जैविक विविधताले भरिएको छ । तर, आजसम्म पर्यटकीय स्थलको रूपमा चिनारी गराउने प्रयास कम भएको महसुस भएको छ। यस जिल्लालाई पर्यटकीय स्थलमा जति चाँडो परिचित गराउने र आवश्यक पूर्वाधार तयार पार्ने काम र उद्योग व्यवसायका सम्भावनाहरू बढेर जान्छन्, त्यति नै चाँडो जिल्लाको विकासको साथै रोजगारी पनि बढने यसतर्फ सम्बन्धित निकाय, स्थानीय वडा समिति, गाउपालिका,नगरपालिका , जिल्ला समन्वय समिति एवं पर्यटन बोर्डले विशेष ध्यान पुयाउन जरूरी छ।

यस जिल्लाका विभिन्न वार्डमा विभिन्न किसिमका महत्त्वपूर्ण ऐतिहासिक स्थलहरू रहेका छन् । यीमध्ये उल्लेखनीय भोर्जुङ, गुम्देल ३७२४ मिटरमा अवस्थित छ। यहाँ पाँचपोखरी, जटापोखरी, भालेपोखरी र बहुलापोखरी जाने बाटो पर्दछ। धूपीको जंगल भएको कडा चट्टानी पहाडका रमाइला किंबदन्तीहरू पाइन्छन् । हिमाललाई नजिकबाट नियाल्न रमणीय डाँडाहरु छन्। यहाँको वस्तुस्थितिबारे व्यापक प्रचार-प्रसार गर्नुजरुरत् देखिन्छ। साथै, आवश्यक बाटाघाटाहरू जतिसक्दो चाँडो बनाउन सम्बन्धित निकायले ध्यान पुयाउन जरूरी छ। त्यस्तै, गुम्देल वाड अन्तर्गत पर्ने कालाडाँडा जुन गुम्देल र सोलुको सिमानामा पर्ने यो डाँडाबाट वाढा-टाढासम्म देख्न सकिन्छ र खुब रमाइलो महसुस हुन्छ। यहाँ विभिन्न ताल, तलैया छन्, जाडो समयमा हिउँ प्रशस्त पर्दछ। सेर्दिङ डाँडा पनि गुम्देल वार्डमा पर्दछ ।

सेर्दिङ डाँडा ३४०० मिटर उचाइमा पर्दछ । प्राकृतिक प्यारापिटसहितको विशाल खेलमैदान पनि छ। गुराँस, चिमाल फुल्ने समयमा अत्यन्त रमणीयस्थलको रूपमा दोखिन्छ। गुम्देलमा तीन ताल पोखरी रहेको छ, जिल्लाकै सबैभन्दा ठूलो र उचाइमा रहेको पोखरी हो । यो नुम्बुर हिमाल चुलीको फेदमा रहेको छानुम्बुर हिमशिखर काठमाडौंपूर्वका हिमचुलीमध्ये सबैभन्दा दक्षिणको अग्लो चुली, सगरमाथासहित थुप्रै हिमचुली हेर्न सकिन्छ । यो ६९५८ मिटर उचाइमा अवस्थित छ । त्यसै गरी, लिखुचुलोको हिउँ पूर्व थामेखोला हुँदै दूधकोशी उत्तर पश्चिमको रोल्वालिङ हिमनदी हुँदै तामाकोशी दक्षिण हिमगंगा नदी हुँदै लिखुमा मिसिन्छ। यसरी गुम्देललाई पर्यटन गन्तव्यको रूपमा विकास गर्नु जरूरी छ। डढुवा वार्डको शैलुङ्ग पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नु आवश्यक छ। यो ३१४९ मिटर उचाइमा दोलखा र रामेछाप जिल्लाको मितेरी पहाडको रूपमा अवस्थित छ।

यो ठाउँ धेरै टाढासम्म देख्न सकिने रमणीय थुम्काहरूको धनी स्थल हो। शैलुङ्गडाँडालाई पर्यटकीय क्षेत्रको रूपमा चिनारी गर्न सकियो र आवश्यक पूर्वाधार तयार भयो भने अनतरिक एव बाहय पर्यटक यस क्षेत्रमा ओइरिन्थे, जसले ग्रामीण बासिन्दालाई पनि हरेक दृष्टिकोणबाट फाइदा पुग्न सक्थ्यो । विगत २,३ बर्ष सुनपाटी डाँडा, खनियापानी, हिलेदेवी र दिमीपोखरी वार्डको साझा चुलीको रुर्पमा लिने गरिन्छ। यहाँबाट काठमाडौं उपत्यकाका केही भागसमेत' देख्न सकिन्छ। यहाँ धार्मिक स्थलहरू पनि छन् । यहाँ आन्तरिक पर्यटकहरू पनि तान्न सकिने अवस्था छ। दोरम्बा, खाँडादेवी र दिमी वडाहरुमा अवस्थित अग्लेश्वर डाँडा काठमाडौंदेखि दूधकोशी क्षेत्रसम्मको सेरोफेरो देख्न सकिने रमणीय चुलीमा पर्दछ । यो दिमीपोखरी, दोरम्बा रखाँडादेवीको मिलन चुलीको रूपमा छ।

ओखेनी वार्ड मा पर्ने थानाडाँडा यसको चुलीमा परेको पानी लिखु, तामाकोशी र सुनकोशीमा बाँडिएर मिसिन्छ । सिन्धुली, दोलखा, काभ्रे, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङभन्दा टाढासम्म पनि हेर्ने सकिने रमणीय ठाउँ हो। यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न सकिन्छ। बिजुलीकोट वाड मा पर्ने धलारी डाँडाबाट सूर्यास्तको दृश्य हेर्न सकिन्छ। यस ठाउँलाई सयौं वर्ष पुराना किरातकालीन चिहानहरू भएको ठाउँको रूपमा पनि लिइन्छ । बाहै महिना भत्किने ध्यापचेको विचित्रको पहिरो छ। तामाखानीका पुराना सुरुङहरू पनि देख्न पाइन्छ। सैपु वार्ड गिद्देडाँडा जुन सैपु नामाडी, फर्पु दुरागाउँको उचाइमा रहेको यो प्रसिद्ध डाँडाबाट टाढा-टाढासम्म हेर्न सकिन्छ । यहाँबाट ओखलढुङ्गातर्फ पोकली झरना हेर्दा मनमोहक लाग्छ। जिल्लाको चुचुरेवार्डमा महत्त्वपूर्ण पोखरीहरू छन्।

यीमध्ये पाँचपोखरीमा पार्वतीले पाँचवटा पाँचकुने कुण्ड बनाएर तपस्या गरेको ठाउँ भन्ने विश्वास गरिन्छ र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण र पवित्रस्थलको रूपमा मान्ने गरेको पाइन्छ। यो ४५०५ मिटर उचाइ र ०.१६ वर्ग कि.मि. क्षेत्रफलमा रहेको छ। यहाँ अत्यन्त मनोरम र शान्त वातावरण छ। यस्तै, जटापोखरीलाई महादेवको जटा भएको ठाउँ भनिन्छ । यहाँ परापूर्वकालदेखि जनैपूर्णिमाको दिन मेला लाग्दै आएको छ र विभिन्न जिल्लाबाट थुप्रै भक्तजनहरू पनि आउने गर्दछन् । यसले ५२३५ मिटर उचाइ र ०.०५८ वर्ग कि.मि क्षेत्रफल ओगटेको छ।

त्यस्तै गरी, भूतपोखरीनजिक मान्छे पुग्दा यसको पानी अत्यास लाग्ने गरी उम्लिने गर्दछ। त्यसैले, आजसम्म मानिसहरू यसको नजिकै जान सकेका छैनन् । टाढैबाट दर्शन गरी फर्किन्छन्। जिल्लामा विभिन्न महत्त्वपूर्ण गुफा पनि छन् । यीमध्ये गुप्तेश्वर, त्रिपुरेश्वर, गणेशटार, कुसुण्डेओडार, खोस्मेरे ओडार, कण्ठेश्वर, बेनी, चीलभीर, उम्दी उल्लेखनीय गुफा हुन् । त्यस्तै गरी, रामेछाप जिल्लामा महत्त्वपूर्ण झरणाहरु पनि रहेका छन् । जस्तै, पल्खी छाँगो, तोरीफुले छाँगो, सीमपाखा, महभीर छाँगा, गुफाडाँडा छाँगा, छहरेखोला, रामदिङ्ग आदिलाई लिन सकिन्छ। जिल्लाको ठोसे बजार कुनै बेला अर्थात् वर्षअघि सम्म पर्यटकीय सासकृतिक बजारको रूपमा चिनिन्थ्यो, यसलाई काठमाडौंबाट नाम्चे जाने पर्यटकहरूका लागि बजार व्यवस्थाको रूपमा लिइन्थ्यो।

ठोसेको फलाम खानी नेपालकै दोस्रो फलाम खानीको रूपमा लिइन्छ र यहाँ फलामका विभिन्न समानहरू बनाइने र विदेशी र स्वदेशीहरूले किनेर लाने गरिन्थ्यो प्रत्येक वर्ष यहाँ विभिन्न किसिमका चाडपर्व मनाउने गरिन्छ। खास गरी गाईजात्रा, रोपाईजात्रा, घोडेजात्रा साथ अरू पर्वहरू पनि मनाइन्छ। यो वार्ड लाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रूपमा लिने गरिन्छ। ठोसे बजार बाट तावेडाँडा गएर मनोरम स्थलको रूपमा हेर्न सकिन्छ। रमाइलो दृश्यावलोकन बाट मन लोभ्याउने खालको छ। यहाँबाट रमाइलो प्राकृतिक दृश्य एवं हिमालहरू देख्न सकिन्छ। लाप्चाने भञ्ज्याङ र सिंगटी भञ्ज्याङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन् । विगतमा जिल्लाको सदरमुकाम मन्थलीमा विमानस्थल भएको हुनाले हप्तामा ३-४ हवाईजहाज उडान हुने गरेको थियो। हाल मन्थली सदरमुकाम र पुरानो सदरमुकाम रामेछाप र खिमति बजार सम्म पिच सहित मोटरबाटो पुगेको छ।

विभिन्न वार्डहरुमा पनि कच्ची मोटरबाटो बनेको छ । यसबाट पर्यटकहरूलाई आवतजावत गर्न सकिने सजिलो हुने स्थति छ। रामेछाप जिल्ला जैविक विविधताले पनि भरिपूर्ण मान्न सकिन्छ। भञ्ज्याङहरू आकर्षक छन् । जडिबुटी पनि थुप्रै छन् । सरसर्ती हेर्दा रामेछाप पर्यटकीय दृष्टिले धेरै पछाडि परेको मान्न सकिन्छ । रामेछाप जिल्ला थुप्रै ऐतिहासिक, धार्मिक, सौन्दर्यले भरिपूर्ण स्थल, पहाडी भञ्ज्याङ, चुली, ताल, पोखरी हुँदाहुँदै पनि पछाडि परेको छ। पर्यटन प्रवर्द्धन गर्न सकिने स्थलको रूपमा विकसित गर्न सकियो भने जिल्लाको आर्थिक, शैक्षिक र सामाजिक अवस्थाले फड्को मार्ने थियो । रामेछाप जिल्लालाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सम्बन्धित पर्यटन निकाय र जिल्लावासीहरूले पनि तन, मन, धनले प्रयत्न गर्नुपर्दछ । यसबाट रामेछाप भविष्यमा सबैले गर्व गर्ने अवस्थाको जिल्ला बनोस् ।

मङ्गलबार १० फागुन २०७८ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया