×

राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब संस्थागत हुने चुनौती

images

काठमाडौ । मतदाताले राजनीतिक विश्लेषण गरेर मत दिँदैनन् । विश्लेषण गर्ने काम बेग्लै मानिसको हो । मतदाताले सन्देश मात्रै दिने हुन् । सबै मतदाता परिपक्व भएर, एउटा निर्णय गरेर मतदान गर्दैनन् । जनताको सन्देशलाई पार्टीहरूले बुझ्न सक्नुपर्छ । स्थानीय चुनावमा काठमाडौँमा हेरौँ, गठबन्धन थियो तर मेयरमा नसोचेको परिणाम आयो । योभन्दा ठुलो सन्देश के हुन सक्छ ? 

अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एउटा नयाँ शक्तिका रूपमा उदाउने देखिएको छ । तैपनि यो पार्टी कांग्रेस, एमाले, माओवादीसरह आउँदैन, यी तीनवटा पार्टीपछि ऊ चौथो पार्टी बन्न सक्ने सम्भावना देखिन्छ । हिजो चौथो पार्टी राप्रपा नेपाल पनि बनेको थियो । केही सिट ल्याउँदैमा राजनीतिक उथलपुथल हुने होइन, यद्यपि यो ठुला स्थापित पार्टीका लागि गम्भीर सन्देश हो ।

पार्टी उही पुरानै हुनुमा कुनै आश्चर्य होइन । संसारमा हरेक चुनावमा पार्टी बदलिँदैन, नेतृत्व र नीति बदलिने हो । हामीकहाँ पुराना दल गतिशील भएनन् । उही पुराना नेता बारम्बार राजनीतिक रंगमञ्चमा देखिए ।

परिवर्तन र आन्दोलन एउटा चरणमा हुन्छ, सधैँ आन्दोलन भइरहनुको कुनै अर्थ हुँदैन । सात साल, ०४६ साल, ०६२÷६३ मा आन्दोलन भए, एउटा देशको ७० वर्षको इतिहासमा यत्रो ठुलो परिवर्तन भएको संसारमा अर्को देश छैन होला । 

परिवर्तनका बेला पार्टीप्रति मानिसमा एक प्रकारको फिलिङ्ग्स हुन्छ, तर देश एउटा सिस्टममा अघि बढ्न थालेपछि जनताले परीक्षा लिन्छन्, एक खालको सन्देश दिन थाल्छन् । सधैँभरि उही पुराना नेता नाचेर हुँदैन, कति नाचिरहने प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल ! नाच पनि बाँदर नचाइभन्दा बढ्ता केही हुन सकेको छैन ।

अहिले जुन राजनीतिक परिदृश्य देखिएको छ, यही नै ट्रेन्ड हो र यो स्थापित हुन्छ भन्ने मलाई लाग्दैन । तर केही गम्भीर सन्देश यसले दिएको छ । पुराना पार्टी होइन, पुरानो नेतृत्व काम लागेन, उनीहरूले आफूलाई परिवर्तन गर्न सकेनन् ।

खुला समाजमा हुने निर्वाचनमा विभिन्न दल उदाउने, स्वतन्त्रहरू आउने भइरहन्छ । युक्रेनमा एक कलाकार राष्ट्रपतिमा आए, जनतासँगै रहेर काम गरिरहेका छन् । पार्टीको झन्डा बोक्ने व्यक्ति नै चुनाव लडेर नेतृत्व गर्न सक्छ भन्ने छैन । 

यत्तिका ठुलो राजनीतिक परिवर्तनपछि पनि नेताले नयाँपन दिन सकेनन् । यसले गर्दा मानिसमा धेरै ठुलो निराशा भयो, योपटक त्यो निराशा अलि बढी प्रकट भएको छ । तैपनि परिणाम धेरै ठुलो असर यसपालि पर्दैन, निर्वाचनको परिणाममा सामान्य फेरबदल आउन सक्छ । यसपालि स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरूले १२–१५ सिटसम्म ल्याउँछन् कि भन्ने मलाई लागेको छ । रविको पार्टी ठुलो शक्ति होइन, पुराना पार्टीलाई विस्थापन गर्न सक्ने हैसियत अहिले ऊसँग छैन, तर यसले के देखाउँछ भने मानिसहरूमा व्यापक असन्तोष छ ।

यसपालि स्वतन्त्र उम्मेदवारले कहीँ एकाध ठाउँमा जित्लान् । काठमाडौँका केही सहरी क्षेत्र, जहाँ पुराना पार्टीदेखि मुक्त युवा मतदाता छन्, उनीहरूको भोट निर्णायक हुने ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाउने देखिन्छ । समग्रमा हेर्दा, रास्वपाको पक्षमा देशव्यापी रूपमा केही न केही समर्थकको एउटा सञ्जाल देखापरेको छ । यस आधारमा भन्दा उसले पाँच–सात प्रतिशत भोट ल्याउन सक्ला । उसले १० प्रतिशत भोट ल्याइदियो भने त्यो धेरै हो । रवि लामिछानेले प्रदेश नचाहिने कुरा गरेका छन्, यो मात्रै उनले गरेको नकारात्मक कुरा हो । उनले गणतन्त्रको विरोध गरेका छैनन् । 

यसपालि रास्वपाको उदयले सकारात्मक काम पनि गरेको छ, उनको भोट राप्रपातिर जान सक्थ्यो । अब राजाको नाम लिएर नेपालमा कसैले भोट पाउँदैन । अघिल्लो चुनावमा राजेन्द्र लिङ्देनले एक्लै जितेको होइन, केपी ओलीको साथले हो । 

सोमबार ५ मंसिर २०७९ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया