×

वैदेशिक रोजगारीको लागि अनलाइनबाट लिने सेवालाई अझै गुणस्तरीय बनाउनुपर्छ : श्रम मन्त्री कुँवर

images

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारी सम्बन्धी अनलाइन सेवा प्रवाहलाई अझै छिटो छरितो एवं व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । 

हाल प्रचलनमा रहेको वैदेशिक सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा देखिएका समस्या र वैदेशिक रोजगार सम्बन्धी विविध विषयमा सम्बन्धित सरोकारवाला निकायसँग  मन्त्रालयलमा छलफल भएको थियो । छलफलमा उहाँले प्रविधि मैत्री समयमा मन्त्रालयले दिने सेवालाई गुणस्तरीय र प्रभावकारी ढंगले जनता समक्ष पुग्ने गरी काम गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नु भयो । 

कुनै पनि बेला, कुनै पनि श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व भएको उहाँले बताउनु भयो । ग्रामीण भेगबाट सेवा लिन आउने सेवाग्राहीले समेत यो राज्य मेरो पनि हो है भन्ने खालको अनुभूति हुनेगरी काम गर्न सबै कर्मचारी र सरोकारवाला निकायलाई मन्त्री कुँवरले आग्रह गर्नु भयो । यस्तै उहाँले प्राविधिक क्षेत्रमा नयाँ तरिकाले काम गर्न अथवा अनलाइन सेवा सुरु गर्न आर्थिक समस्या भए मन्त्रालयले रकम उपलब्ध गराउन पनि तयार रहेको जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीमा लाखौँ रुपैयाँ ठगिएका गुनासो आइरहेकाले अब सरकार, म्यानपावर कम्पनी र स्वयं कामदारबीच समन्वय गरेर श्रमिक ठगिने गुनासो  न्युनीकरणमा लाग्ने उहाँले बताउनु भयो । मन्त्री कुँवरले विदेशमा काम गर्ने श्रमिकले ठूलो मात्रामा रेमिट्यान्स पठाइरहेकाले त्यो पैसालाई एकीकृत गरेर व्यवस्थित गर्ने, बैंकिङ प्रणालीलाई प्रभावकारी बनाउने र अझै श्रमिकलाई प्रोत्साहन हुने काम गर्ने पनि बताउनु भयो । 

अहिले सरकारले राष्ट्रिय परिचयपत्र, ई पासपोर्ट, श्रम स्वीकृति, कल सेन्टर, विदेशबाटै श्रम स्वीकृत गर्ने, क्षतिपूर्ति तथा राहत, औषधि उपचार सेवा दिने जस्ता वैदेशिक रोजगारीसम्बन्धी कामहरु अनलाइनबाटै गरिरहेको छ । 

छलफल कार्यक्रममा मन्त्रालयका सचिव, उपसचिव, वैदेशिक रोजगार विभाग, बोर्ड,  सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुलर विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग लगायतका कर्मचारीको सहभागिता रहेको थियो । सेवालाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि सबै विभागले एक, एक जना प्रतिनिधि राखेर समिति पनि बनाएको छ । समितिले वैदेशिक रोजगारी सम्बन्धी सेवा प्रवाहमा देखा परेका समस्यालाई पहिचान गरी समाधानको उपाय निकाल्ने जनाएको छ ।

बिहीबार ५ साउन २०७९ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया