×
images

पर्वतमा दुई जनामा डेङगुको सङ्क्रमण पुष्टि


यहाँ दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको बुधबार पुष्टि भएको हो ।


 उहाँहरू दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको अस्पतालले जनाएको छ । घरमा बसिरहेको अवस्थामा लगातार ५÷७ दिनसम्म ज्वरो आएपछि उपचारका लागि आएका उहाँहरूमा सङ्क्रमणको शङ्कामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेङ्गु रहेको पुष्टि भएको हो । दुवै जनाको उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताउनुभयो । 

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाउँदै गतवर्ष कसैमा पनि पुष्टि नभएको तर त्यसअघि भने सङ्क्रमण देखिएको बताउनुभयो । सङ्क्रमण देखिनुको अर्थ सबै जना सचेत हुनुपर्ने सूचना मिलेको जनाउँदै उहाँले लामखुट्टेको टोकाइबाट बच्नका लागि सुझाव दिनुभयो । 

बागलुङको तुलनामा पर्वतमा डर मान्नुपर्ने अवस्था नरहेको र यो अवस्था सामान्य जोखिमको रहेको पौडेलको भनाइ छ । बागलुङको मौसमी अवस्था, सहरीकरण र जनसङ्ख्या पर्वतभन्दा जोखिमयुक्त रहेको छ । 

बिहीबार ५ साउन २०७९ ०५:११ PM मा प्रकाशित

प्रतिक्रिया