×

एमाले बैठकमा घनश्याम भुसाल र रघुजी पन्तले राखे बाम गठबन्धन र पार्टी एकताको प्रस्ताव

images

नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा नेताहरूले वामपन्थी पार्टीहरूबीच एकता गरेर जानुपर्ने प्रस्ताव राखेका छन् । सोमबार काठमाडौंमा बसेको एमाले पोलिटब्युरो बैठकमा नेताहरू घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकता गरेर जानुपर्ने प्रस्ताव राखेको  स्रोतले जनाएको छ।

भुसाल र पन्त १० बुँदे सहमति गरेर नेकपा एमालेमा रहने समूहका नेता तथा तत्कालीन कार्यदलका सदस्यहरू पनि हुन् । दुवै नेताले अध्यक्ष केपी शर्मा ओलीलाई वामपन्थी एकताको पहल लिन आग्रह गरेको एक पोलिटब्यूरो सदस्यले बताए । बैठकमा भूसालले तीन कारणले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यकता रहेको उल्लेख गरेका छन् ।

एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरुबीच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामन्थी जित सुनिश्चित गर्न पार्टी एकता आवश्यक रहेको भूसालले प्रस्ताव गरेका छन् । यसअघि नेता भुसालले वाम एकता अहिलेको आवश्यक्ता भन्दै बहस चलाएका थिए ।

उक्त बहसप्रति अध्यक्ष ओलीले कटाक्ष गर्दै माधव नेपाल र प्रचण्डसँग एकता असम्भव रहेको जवाफ दिएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलसँग वामपन्थी एकता गर्नुपर्ने विषय उठेपछि केही नेताहरूले भने यसमा अल्झन नहुने बताएका थिए। 

सोमबार ७ चैत २०७८ ०४:३४ PM मा प्रकाशित

प्रतिक्रिया