×

दुर्गम क्षेत्रका विद्यार्थीलाई ऊर्जाको विद्युतीय चुल्हो

images

सरकारले दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुल्हो उपलब्ध गराउने लक्ष्यका साथ प्रक्रिया सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुभएको छ ।

दुगर्म क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई घरभाडामा लिएर सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यर्थीलाई खाना पकाउने एलपी ग्यासको सट्टामा विद्युतीय चुल्हो उपलब्ध गराउन लागिएको हो । त्यसका लागि निवेदन आह्वान गरिएको छ । यसबाट आन्तरिक रूपमा नै विद्युत् खपत बढाउने र विद्युतीय चुल्होको प्रवद्र्धनसमेत हुनेछ । नेपालमै पहिलो पटक सरकारका तर्फबाट यस्तो खालको अभ्यास हुन लागेको हो ।

 ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सो कामका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बिजुलीको आन्तरिक खपत बढाउनका लागि भरमग्दुर प्रयास गरिरहेको मन्त्रालयले विद्यार्थीलाई केन्द्रमा राखेर यस्तो अभ्यास गर्न लागेको हो ।

खाना पकाउने एलपी ग्यासको लगातार मूल्यवृद्धिका कारण हरेक घरको भान्छा असाध्यै महँगो बन्न पुगेको छ । त्यसको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाउनुभन्दा अर्को कुनै पनि विकल्प छैन ।

सोही अवस्थालाई आत्मसात् गरेर ऊर्जामन्त्री भुसालले तत्काल नै विद्यार्थीलाई विद्युतीय चुल्होको प्रवद्र्धन गर्ने गरी काम सुरु गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई निर्देशन दिनुभएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि स्थापित केन्द्रले तोकिएको कार्यादेशअनुसार प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको अवस्थामा मन्त्रालयले असाध्यै महत्वपूर्ण जिम्मेवारी दिएको हो । एलपी ग्यासलाई क्रमशः विस्थापित गर्दै लैजाने सोचमा सरकार छ । त्यसका लागि मन्त्रालयले अनेकन उपायहरू अवलम्बन गर्ने तयारी थालेको छ ।

ऊर्जामन्त्री भुसालले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई विद्यार्थीको विवरण सङ्कलन गर्न  र त्यसको आवश्यक तयारी गर्न निर्देशन दिनुभएको थियो । सोही आधारमा आज केन्द्रले एक सूचनामार्फत दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई  आवेदन दिन आग्रह गरेको छ ।

केन्द्रका अनुसार  आवेदन दिनेले नेपाली नागरिकताको प्रमाणपत्र, शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस पेस गर्नुपर्नेछ । यस्तै आफ्नो वैयक्तिक विवरण भर्नुपर्नेछ । सरकारले दुर्गम भनेर तोकेका जिल्लाका विद्यार्थीले पहिलो चरणमा यस्तो सुविधा पाउनेछन् ।

ऊर्जामन्त्री भुसालले विद्युत् खपत बढाउनका लागि यसअघि विभिन्न निकायसँग निरन्तर संवाद गरिरहनुभएको छ । सूचनाअनुसार त्यस्तो आवेदन यही फागुन २५ गतेसम्म दिन सकिनेछ । समस्यामा परेका विद्यार्थीलाई राहत महसुस गराउन र विद्युतीय चुल्होको प्रवद्र्धन गर्न दुर्गम क्षेत्रका विद्यार्थीलाई स्वच्छ चुल्हो कार्यक्रमको माग सङ्कलन गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

सोमबार ९ फागुन २०७८ ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया