काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा दिवङ्गत नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताएकी छन्। जोशीप्रति आज यहाँ श्रद्धाञ्जलि व्यक्त गर्दै उनले भनिन्, ‘जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । त्यसैले उहाँलाई बहादुर युवा भन्नुपर्छ । यस्तो बहादुर छोरा जन्माउने आमा, उहाँको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ।‘
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले जोशीको शव नेपाल ल्याएसँगै विगत दुई वर्षदेखि जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका बताइन्। उनले विपिनलाई सकुशल पाउने नेपालीको विश्वास आज निराशामा परिणत भएको उल्लेख गरिन्।
‘हामीलाई विपिन फर्केर आउनेछन् भन्ने नै लागेको थियो । यही विमानस्थलमा भव्य स्वागत गरौँला भन्ने इच्छा थियो, तर त्यो सपनामै रह्यो‘, प्रधानमन्त्री कार्कीले भनिन्, ‘उहाँले चाहेको भए आफू बाँच्न सक्थे, तर साथीहरूलाई बचाउन लाग्दा अपहरणमा परे । अपहरणको शिकार हुँदा कति दुःखकष्ट भोगे होलान्, कसरी मारिए होलान्, परिवारमा कति कष्ट भयो होला ! सोच्दा पनि कहाली लाग्छ ।‘
विपिन जोशी सबैका छोरा भएको र उहाँको बहादुरी र साहस कहिल्यै बिर्सन नसकिने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले त्यो हिम्मत र साहसप्रति गौरव भएको बताइन्। ‘विपिन कहिल्यै अस्ताउने छैनन् । हामी सबैको, नेपालको छोरा भएर सधैँ बाँचिरहने छन्‘, उनले भनिन्।
स्व जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौं ल्याइएको हो।
शोक सभामा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, र नेपालका लागि इजरायली राजदूत H. E. Mr. Shmulik Arie Bass लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
इजरायलस्थित नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको सहयोगमा शव नेपाल ल्याइएको हो। विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि बन्धक बनाइएका थिए। जोशीको निधनको पुष्टि इजरायली सरकारले २०८२ कात्तिक २ गते (१४ अक्टोबर २०२५) मा औपचारिक रूपमा जानकारी गराएको थियो। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको तत्काल निधन भएको थियो।
प्रतिक्रिया