×

७५ हजार घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

images

रु ७५ हजार घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्याङ्जास्थित एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । “निजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ”, प्रहरी नायब उपरीक्षक युवराज खड्काले भन्नुभयो, “पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ ।”

विद्यालयको भवन पुनःनिर्माणका क्रममा अन्तिम निकाशाका लागि काम गरिदिनका लागि निजले रकम माग गरेको बताइएको छ । केही समय पहिलादेखि नै रकम माग गर्दै आएका उनलाई आज दमौलीमा रकम दिने शर्तसहित बोलाइएको थियो । उनी आजै बिहान सप्तरीबाट दमौली आइपुगेका थिए । इञ्जिनीयर निक्लम शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए । साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर नरहेको शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

शनिबार ४ भदौ २०७९ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया