×

आलेख : हराउँदै चाडपर्व विशेषका लोक परम्परा

images

महोत्तरी, ७ चैत: वसन्त पञ्चमी बितेको पनि एक महिना नाघ्यो । तर मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कतै फागु गीतको रौनक छैन । वसन्तपञ्चमीसँगै फागुन पूर्णिमासम्म बस्तीबस्तीमा गाइने फागु (होरी) गीत सुन्न छाडिएको छ । साँझको खानपिन सकेपछि टोलटोलका बजनिया (बाजा बजाउने, झ्याली, मृदङ्ग, डम्पूm, हारमोनियम, ढोलक आदि) र गवैयाका समूह एक ठाउँ भेला भई झ्याली, डम्फू र मृदङ्को तालमा गाइने होरी गीतको शृङ्गारिक भाव सम्झेर महोत्तरीको भङ्गाहा–४ रामनगरका ७२ वर्षीय राजदेव महतो अहिले पनि रोमाञ्चित हुनुहुन्छ । “वसन्तपञ्चमी सकेपछि मिथिलामा वसन्तोत्सव सुरु हुन्थ्यो, टोलटोलमा समूहमा गाइने होरी गीत सुनेर ओछ्यानमा पल्टेका पनि लय भर्थे” महतो भन्नुहुन्छ, “करिब डेढमहिना (वसन्त पञ्चमीदेखि फागुन पूर्णिमासम्म) फागु गीतले रौनक छाउथ्यो, अब ती दिन कथाजस्तै भए ।” टोलटोल बस्तीबस्तीमा प्रत्येक रात भm्याली, मृदङ्ग र डम्पूmको तालमा गुञ्जने होरी गीत सुन्न छाएिपछि पर्वको रौनकता हराएको महतोको भनाइ छ । 

वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्मको अवधि परम्परागतखेती (धान, गहुँ, तेलहन, दलहन)बाट फुर्सतजस्तो हुने हुँदा यसबीच वैवाहिक सम्बन्धका लागि चर्चा र आफन्तजनसँगको भेटघाट परिवारका  मूलिले गर्ने पुरानो चलन पाका मैथिल सम्झन्छन् । “श्रीपञ्चमी वसन्तपञ्चमी, माघ शुक्ल पञ्चमी) देखि फागुपूर्णिमाबीच घरमा आइपुग्ने सम्धी÷भिनाजु र दौतेरीको स्वागत शीतल जल (पानी) ले हातगोडा धोएपछि अबिरले गरिन्थ्यो” पहिलेको यो चलन सम्झदै गौशाला–९ भरतपुरका ६५ वर्षीय शिवशरण राय भन्नुहुन्छ, “अब ती रीतिथिति हराए ।” रामायण, महाभारतलगायत पौराणिक ग्रन्थका कथा सामग्रीका ठाउँठाउँका रमाइला प्रसङ्गमा रोमाञ्चकता भरेर लयमा गाइने फागुगीत अब सम्झाउने पनि भेटिन छाडेका छन् । हिन्दूका आराध्यदेव सदाशिव र देवी पार्वतीसँगका प्रसङ्ग हुन् कि श्रीराम र सीताजी वा राधाकृष्णबीचका प्रेम प्रसङ्गसँगका मनोरञ्जक कथाका टुक्का हुन् । फागुगीतका लयमा बाधिएर यी कथाले दिने सन्देश र मनोरञ्जन अब एकादेशका कथाजस्तै भएका गौशाला–१० बटुवाका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा बताउनुहुन्छ । 

‘राधासँग कृष्ण खेलत होरी....
ग्वालबालसँग कृष्ण कन्हैया, सुन्दर रङ भरी झोरी , 
बाजत, आबत झाल मृदङ्ग सब, सब जन आवत रस बोरी । 
गिरिधर दास गाओल बालसँग, 
युग–युग जीबओ यह जोरी 
कृष्णसँग राधा गोरी ।।’

(अर्थात् राधासँग श्रीकृष्ण फागु खेल्छन्,  समस्त आफ्ना ग्वाल बालसखासँग कृष्ण राम्रा झोला (थैला) मा रङ्ग भर्छन् । गिरिधर अर्थात् श्रीकृष्णका सखा श्रीकृष्ण र राधाको जोडी सधैँसधैंँ युगयुगसम्म रहोस् भन्ने कामना गर्छन्) यतिमात्र होइन, रामसीतासँग जोडिएका फागुगीत पनि रसपूर्ण छन् ।‘किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरी ?हो.., रामजीक हाथमें कनक पिचकारी, सीयाजीक हाथ अबिर झोरी...! हो, खैलैय होरी ।’(अर्थात् कसको हातमा रङ् भरिएको सुनौला पिचकारी (रङ् खेल्न प्रयोग गरिने खेलौना) छ ? अबिरको झोला कोसँग छ ? गीतमै यस्ता प्रश्न उभ्याएर गीतमै रामजीका हातमा सुनौला पिचकारी र सीताजीका हातमा अबिरको झोला छ ।


 अब होरी खेलिन्छ)  भावका उत्तर दिइन्छन् । राधा–कृष्ण, शिव–पार्वती र सीता–रामबीचका फागु खेलका रमाइला प्रसङ्ग जोडिएका फागु गीतमा मिथिलामा नातानाताबीच हुने ठट्टा, परिहास र होरिखेलको रोमाञ्चक टुक्का पनि जोडिन्छन् । मिथिलामा सालासाली र भिनाजु, सोल्टासोल्टी र सरोजनी (साला वा जेठानका पत्नी)बीच फागु (होरी, होली) पर्वमा जमेर रङ् अबिरको छ्यापाछ्याप चल्छ ।  फागु गीतका बाजा र यिनको स्वर सुन्नासाथ मन विकल बनाएका व्यक्ति पनि एकचोटी पुलकित हुन्छन् । फागु गीतमा ईश्वरप्रतिको भक्ति, परम्पराको अनुशरण मात्र नभएर शृङ्गारिक भाव पनि हुने हुँदा राति सुत्ने तर्खरमा लागेका पनि झ्याली, मृदङग र डम्पूmको तालमा गाइने फागुगीत सुनेपछि रोमाञ्चित हुन्छन् । 

‘परदेशिया लै अङना निपाबे गोरिया... जब परदेसिया नगरबीच आयल, लाले लाल पुआ पकाबे गोरिया ।जब परदेसिया दअरेबीच आयल, लाल–रङग चदरा ओछाबे गोरिया । जब परदेसिया पलंगपर बैसल, रङ्ग अबिर उडाबे गोरिया ।।’(अर्थात् परदेशबाट उनी आउने भनेपछि नवयौवना घर लिपपोत गर्छिन्, उनी (परदेशी) बस्तीमा आइपुगेपछि मालपुआ (फागुपर्वमा खाइने मिष्टान्न परिकार) पकाउछिन्, आँगनमा आएपछि आफ्नै रङ्गीन पछ्यौरा ओछ्याउँछिन्, उनी पलङमा बसेपछि रङ्ग अबिर उडाउँछिन्) । यतिमात्र होइन, होरी गवैयाले गाउने गीतमा उमेर चढ्दै गरेकी नवयौवनाका अङ्गअङ्को वर्णन, चालढाल र रुपको वर्णन गर्दै फागु (होरी) खेल्न गरिने आमन्त्रण पनि हुन्छ । यसमा प्रचुर शृङरिकता भए पनि सम्बन्धबीचको मर्यादा र अनुशासनको पूर्णपालनाले उच्छृङ्खलताले ठाउँ नपाउने प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । यस्ता वसन्त पञ्चमीसँगै प्रत्येक रात गुञ्जने होरी गीत पछिल्ला वर्षम फागुपूर्णिमाका दिन कतैकतै सुनिए पनि त्यसअघि (फागु पूर्णिमाअघि वसन्तपञ्चमी मनाइएपछिको अवधिबीच) सुनिन छाडेका छन् । बरु अचेल केही वर्षयता त  कर्कश स्वरका डिजेबाजा, मद्यपानले सुर गुमाएका जमात र छाडा गीतको बोलबाला देखिने, सुनिने गरिएको पाका मैथिल चिन्ता व्यक्त गर्छन् ।  

वसन्त उत्सवको फागु गीत मात्र नभएर मिथिला लोक परम्पराका अभिन्न अङ्ग रहेका थुप्रै रीतिथिति मेटिदै हराउँदै गएका छन् । वसन्त पञ्चमीकै दिन कृषि श्रमिक, कृषि ज्यावल मर्मत गर्ने लोहरको वरण गर्ने मैथिल परम्परा अब यस्ता मान्छे नयाँ पुस्तामा पाइन छाडेपछि हराउँदै गएका छन् । यसैगरी हलोगोरु पूजा गर्ने र विधिकै लागि भए पनि केही मोड हलो जोत्ने वसन्त पञ्चमी परम्परा अब देखिन छाडेको भङ्गाहा–४ रामनगरका ८५ वर्षीय सीयाराम महतो बताउनुहुन्छ । “बाबु, पुराना हाम्रा चाडपर्वका परम्परा सबै हराए, अब हामी कुन संस्कृति परम्पराले चिनिने ?” महतोले चिन्ता व्यक्त गर्दै भन्नुभयो ।  वसन्तपञ्चमी, त्यसपछिको फागु गीत परम्परा मात्र हैन मिथिलामा नयाँवर्ष (वैशाख सङ्क्रान्ति) सँग जोडेर मनाइने जुडशीतल पर्वमा रुखबिरुवामा पानी सेचन गर्ने, खेतबारी डुल्ने पुरानो चलन हो । अबका नयाँ पुस्ताले यी चलनमा चासो नै राख्न छाडेका एकडारा गाउँपालिकाको भटौलिया बस्तीका ६५ वर्षीय विजयलाल कर्ण बताउनुहुन्छ । यसैगरी दसैँ (शारदीय नवरात्र) लागेपछि प्रत्येक दिन साँझपख बस्तीमा बज्ने ‘ढोल’ बज्न छाडेको एक दशकभन्दा बढी भइसकेको कर्णको भनाइ छ “हेर्नोस्  न, अब त चाडपर्व आएको थाहै पाइँदैन, दसैँमा न ढोल बज्छ, न प्रत्येक रात झिझिया नृत्य” कर्ण भन्नुहुन्छ, “अहिले राजनीतिक वृत्तमा पहिचान शब्द खुब सुनिन्छ, सबै रीतिथिति, परम्परा हराउँदै गएपछि के हुन्छ हाम्रो मौलिक पहिचान ? कसरी चिनिने मैथिल ?” खासमा नयाँ पुस्ता विदेशिने क्रमले पुरानो पुस्ताका लोकपरम्पराको देखासिकी हुन नसकेको पनि एउटा कारण हुनसक्ने कर्णको अड्कल छ । 


तिहार (दीपावली, मिथिलामा दियाबाती पनि भनिन्छ) मा रङ्गीविरङ्गी दाम्ला बाट्ने, गाईगोरु रङ्गाएर टिलिक्क पार्ने आम चलन थियो । तर पछिल्ला केही वर्षयता जोत्ने गोरु किसानका गोठमा देखिन छाडेका छन् । “अरु छिमेकका के कुरा गर्नु ? मेरै गोठमा १० वर्ष पहिलेसम्म तीन हल गोरु थिए, अहिले गोठ रित्तो छ” बर्दिबास–७ प्रेमनगरका उत्तिम महतो भन्नुहुन्छ,“गुहाली (गोठघर) रित्तो छ, न गाई छन्, न गोरु ।” करिब तीन सय घरको प्रेमनगर बस्तीमा अहिले गोरु पाल्ने किसान मुस्किलले एक÷दुई भेटिनसक्ने उहाँको भनाइ छ ।  उत्तिम भन्नुहुन्छ, “न गोरु, न हलोफाली..! पशुबस्तु पाल्न छाडेपछि मलका लागि सधँैं हाहाकार खेप्नु परेको उहाँ बताउनुहुन्छ । अचेल खेत जोत्ने कुरा ट्र्याक्टरकै भरमा चलेको आम किसान बताउँछन् । जोत्ने गोरु, राँगा पाल्न छाडिएपछि हलो, हरिस, जुवा, अनौँ, फालीजस्ता हलोसँगै जोडिने पुराना कृषि ज्यावल अब देखिन छाडेका छन् । किसानका घरघरै रहने यी परम्परागत कृषि ज्यावल अब पछिल्लो पुस्तालाई इतिहास पढाए झैं बुझाउन पर्ने भइसकेको शिक्षण पेसामा रहनुभएका बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका सूर्यदेव  महतो बताउनुहुन्छ ।


 पुराना रीतिथिति खेतीपातीका चलन अब कथामा सुनाउनपर्ने दिन आएका सो बस्तीकै ७० वर्षीय विशुनदेव महतोको भनाइ छ । “एक दशक पहिलेसम्म मनाइँदै आइएका चलन देख्दादेख्दै सबै हराए, यो दिनको त कल्पना थिएन हाम्रो पुस्तालाई” महतो भन्नुहुन्छ, “न पुरानो खेती प्रणाली रह्यो, न खेतीहर मजदुर नै पाइन्छन्, अनि के हाम्रा कृषि पर्वका परम्परा जोगियुन् ?” मिथिलाका चाडपर्व अधिकांश कृषिसँग जोडिन्छन् । चौरचन (भदौ शुक्लपक्षको चौँथी) पर्वमा नयाँ कृषि उपज (केरा र अन्य फल) चन्द्रमालाई अर्पण गर्ने र छठपर्वमा बोटैसहितको अदुवा, बेसार, निबुवा÷ज्यामिरसहितका फल, गुबोपातसहितको उखुका लाँक्रा सूर्यदेवलाई अर्घ दिँदा देखाइने अनिवार्य कृषि उपज पर्छन् । तर अब विस्तारै यी चलन पनि मेटिने पाका पुस्ताका मैथिलको चिन्ता छ । पहिलेपहिले धान रोपाइँका दिन मनाइने खुसियाली र उल्लास अब दन्त्यकथाजस्तो भइसकेको महतोको थप भनाइ छ । 

ठाउँठाउँका विशिष्ट परम्पराले त्यो ठाउँको खास पहिचान बनाएका हुन्छन् । मिथिला कला, संस्कृति, भाषा र आफ्नै रीतिथिति संसारलाई चिनाएको प्राचीन आर्य सभ्यताको थलो भए पनि अब पुराना परम्परा हराउँदै गएको कुराले पाका पुस्ताको मन अमिलिएको हो । नयाँ पुस्ताले ठाउँ विशेषका आफ्नै विगत परम्परा बुझ्न तत्परता देखाउन् र ती थिति थामी दिन पहलकदमी लिउन् भन्ने आफ्नो पुस्ताको चासो रहेको जलेश्वर नगरपालिका–६ बखरीभाँटका बासिन्दा पूर्वप्रशासक ८५ वर्षीय महेश्वर रायको भनाइ छ । 

गोपालप्रसाद बराल

बुधबार ७ चैत २०८० ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया