×

सवारी दुर्घटना रोक्न चालकलाई सम्मान

images

झापा । चाडपर्वको अवसरमा हुने सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान गरिएको छ ।  मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा चालकलाई जिम्मेवार बनाउन र उनीहरूको आत्मविश्वासलाई बढाउन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आज सम्मान गरेको हो । 

बडादशैं–दीपावली तथा छठपर्वलाई लक्षित गरेर सङ्गठनले थालेको ‘सुरक्षित यात्राका सारथी’ नारासहितको कार्यक्रममा काँकडभिट्टाबाट महेन्द्रनगर, नेपालगन्ज, चरिकोट र पोखराजस्ता लामा रूटमा सवारी कुदाएर हालसम्म कुनै दुर्घटना तथा ट्राफिक कारबाहीमा नपरेका चालकलाई अबिर, मालाले सम्मान गरिएको छ ।

सम्मानित हुने चालकमा श्यामबहादुर गुरुङ, हरेराम खड्का, गोविन्द ढकाल, सचिन महत, रविन रिजाल, दीपक गौतम, जगत् पौडेल र ढुवानी मजदुर विर्खबहादुर गिरी रहेका छन् ।

दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आठजना चालकलाई सम्मान गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए । उनले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकले देखाएको इमान्दारिताले समाजमा अरु मान्छेलाई पनि सहयोगी बन्न प्रेरणा मिल्ने आशा व्यक्त गरे ।

कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द बुढाथोकीले सवारीमा यात्रुमैत्री व्यवहार गर्न सवारी चालक, सहचालक र परिचालकलाई आग्रह गरे ।

बिहीबार २ कात्तिक २०८० ०६:५९ PM मा प्रकाशित

प्रतिक्रिया