×

पर्यटन विकासका लागि ‘धौनीढोका’ गुरुयोजना तयार गरिने

images


धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटै चक्रपथको निमार्ण गर्नेगरी गुरुयोजना तयार गरिने भएको छ । धौलागिरि क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल सुरु भएको हो ।

धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको आवश्यकताबारे चर्चा हुन थालेको अभियान्ता कृष्ण केसीले बताउनुभयो । बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति, बागलुङ समाज पोखरा र गैसस महासङ्घ नेपाल बागलुङले संयुक्त रुपमा गुरुयोजना तयारीका लागि छलफल थालेका छन् । 

धौनीढोका’ का अभियन्ता  केसीले साविकको धौलागिरि अञ्चलको समग्र विकासका लागि ‘धौनीढोका’ महत्वपूर्ण वातावरणमैत्री पर्यटकीय चक्रपथ बन्ने बताउनुभयो । उहाँकै पहलमा स्थानीय सरकार र व्यवसायीले यसको गुरुयोजना बनाउन तयार भएका हुन् । हाल निमार्ण हुँदै गरेको मध्यपहाडी लोकमार्ग  र कालीगण्डकी करिडोरलाई जोडेर धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ निर्माणमा सरोकारवालाको जोड छ । 

गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि राष्ट्रिय रुपमै कार्यक्रमको खाँचो रहेको बताउनुभयो । उहाँले  ढोरपाटन क्षेत्रमा बन्न लागेको हाइड्रोपावर योजना नेपालकै सबैभन्दा सस्तो प्रोजेक्ट रहेको र उक्त प्रोजेक्ट पूरा भए कृत्रिम ताल बन्ने र पर्यटनको विकास हुनेमा आफू आशावादी रहेको बताउनुभयो । “धौलागिरि क्षेत्रको विकासका लागि प्रदेश होइन, सङ्घ सरकारको योजना पर्नुपर्छ अनि मात्र पर्यटन विकास सम्भव छ”, उहाँले भन्नुभयो ।
 
मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बढ्दो डोजरे विकासका कारण अहिले मुस्ताङमा पर्यटक घटेको बताउनुभयो । धौलागिरि पर्यटन चक्रपथका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न गाउँपालिका तयार रहेको उहाँको भनाइ छ । बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गण्डकी प्रदेशमा पोखरा पर्यटन क्षेत्रले धेरैअघि जाँदा धौलागिरि क्षेत्र भने निकैपछि पुगेको गुनासो गर्नुभयो । उहाँले पोखरामा पर्यटन व्यवसाय गर्नेले अन्नपूर्ण मात्रै देखाएको तर धौलागिरि हिमाललाई नदेखाउँदा पर्यटकको आकषर्ण नभएको बताउनुभयो । 

उहाँले पर्यटन चक्रपथ समग्र धौलागिरिको पर्यटनका साथै स्थानीयको आय आर्जनसँग जोडिएको विषय भएकाले यसलाई अघि बढाउन आफू प्रतिबद्ध भएको सुनाउनुभयो । पर्यटन व्यवसायी गणेश भट्टराइले ढोरपाटन क्षेत्रमा युरोपबाट बढी पर्यटक आउने जानकारी दिदैँ उनीहरुको बसाइ लम्ब्याउनका लागि स्थानीय व्यवसायीले नै पहिलो कदम चाल्न आश्वयक रहेको सुनाउनुभयो । 
बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले ‘धौनीढोका’ गुरुयोजनाअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारका काम बन्दा छोटो समयमा नै धौलागिरि क्षेत्र चर्चाको शिखरमा पुग्ने बताउनुभयो ।

सोमबार ३ असोज २०७९ ०१:४१ PM मा प्रकाशित

प्रतिक्रिया