×

अबको चुनावमा गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ- अध्यक्ष केपी ओली

images

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको दावी गरेका छन् । अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बताएका हुन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाड्ने चेतावनी दिए ।

अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन समेत आह्वान गरे । ‘अब एक वर्षभित्र चुनाव आउनुपर्छ, बढीमा एक वर्ष हो यिनीहरुको आयु’ उनले भने, ‘संसारभरका ज्योतिषीलाई एकै ठाउँमा राखेर सोधे पनि त्यही भन्छन् । जस्तै पानीमुनि गए पनि कहाँ यो स्वार्थी गठबन्धन बच्न सक्छ ? पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाइन्छ ।’ साथै महाभारतको कथा सुनाउँदै अध्यक्ष ओलीले भने, ‘महाभारतमा एउटा सकुनीको षडयन्त्रले राम १४ वर्ष वनबास गएका थिए, यहाँ त कति छन् छन् मन्थरा र सकुनी। मलाई प्रधानमन्त्रीबाट हटाउनु कुन ठूलो कुरा भयो र।’

ओलीले यहाँ बढीमा पाँच वर्ष कुर्नुपर्ने भन्दै अब चुनाव आउन एक वर्षमात्रै बाँकी रहेको बताए।प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ ।

‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर, जुम्सो जस्तो भएर जाने। राम्री केटी देखेपछि टाउकोमा सिन्धुर फालेर गुटुटु भाग्ने। के भो भन्दाभन्दै सिन्दुर फाल्यो कसले फाल्यो फाल्यो,’ ओलीले भने, ‘कहाँ कसले सिन्दुर हाल्यो खोजेर चेली जिम्मा लगाउनुपर्थ्यो, यहाँ पनि त्यस्तै कहिले माकुनेले सिन्दुर हाल्देको छ। कहिले माओवादीले। कहिले कांग्रेसले छ्यास्स हालिदिएको छ।’

ओलीले त्यस्ता झुक्याएर हालेका सिन्दुर फ्याँकिदिन र लक्स साबुनले धोएर एमालेमा आउन अनुरोध गरे। ‘आउनुस् देश बनाउने अभियानमा लागौं, जे पनि झुक्याएर नगरौं,’ उनले भने। संसारमा कहीँ नभएको संसदबाट नसकेरर अदालतमा मुद्दा हालेर जितेर सरकार ल्याइएको आरोप ओलीले लगाए।

‘बाजागाजासहित जन्ती निस्कियो सर्वोच्च अदालतबाट, के भएछ भनेको छ, सरकार लिएर आएछ,’ उनले भने, ‘यस्तो गजब नेपालमा हुन्छ। नेपालमा लोकतन्त्र छ चुनाव हुन्छ। अदालत सदालत केहीको लाग्दैन। अब जनअदालतले फैसला गर्छ।  माओवादीले हामी चार जना राखेर जनअदालत भन्थ्यो। हामी तीन करोड जनता राखेर भन्छौं।’फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ ।’

अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि उनको भनाई छ । यस्तै ओलीले फेरि गतिलो सरकार बन्ने बाटो रहेको बताएका छन् । भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा आज अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए ।


 

शनिबार ७ फागुन २०७८ ०५:३२ PM मा प्रकाशित

प्रतिक्रिया