×

किसानका पीडामा मलम लगाउने गरी काम गर्छु - मन्त्री ज्वालाकुमारी साह

images

काठमाडौं। नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘मैले कृषि तथा पशुपन्छी मन्त्रालय सम्हालेको तीन दिन मात्र भयो । म स्वयं किसानको छोरी हुँ । मलाई आम किसानका मर्म र पीडा थाहा छ । मेरो मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु हो,’ रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा बोल्दै मन्त्री साहले भनिन् ।

कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको औंल्याउँदै उनले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको जानकारी दिइन् । साथै साहले माघ १ लाई राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थमन्त्रालयमा पठाउने निर्णय भएको पनि बताइन् । 
आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँबाट बढाएर ६१० रुपैयाँ पु¥याएको पनि उनले बताइन् । मन्त्री साहले थपिन्, ‘हामीले उखु ढुवानीको मूल्य प्रतिक्विन्टल २० रुपियाँ मूल्यवृद्धि गरेका छौं । किसानहरु समयमै उखुको मूल्य पाउने गरी काम गर्न आवश्यक निर्देशन दिइसकेकी छु ।’


दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने पनि मन्त्री साहले औंल्याइन् । उनले थपिन्, ‘नेपालमा २५ मेट्रिक टन दूध उत्पादन हुन्छ । तर त्यसलाई हामीले सही तरिकाले राख्न सकेका छैनौं । हामी दूधबाट दूध, घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनीर आदि उत्पादन गछौं । हामीले निर्यात गरेका छुर्पीलगायत वस्तु तेब्बर महँगो मूल्यमा फेरि खरिद गरेर प्रयोग र्नुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ ।’
कृषि क्षेत्रमा कम खर्चमा बढी उब्जनी हुने गरी काम गर्नुपर्ने पनि कृषिमन्त्री साहले बताइन् । उनले भनिन्, ‘आम किसानले खर्च अनुसार उब्जनी पाएका छैनन् । प्रतिबिघा ४० हजार खर्च हुन्छ भने आम्दानी १५ हजार मात्र छ । त्यसैले आम किसान निराश छन् । अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउनुपर्छ ।’ 


वर्षेनी आठ लाख अब माटो परीक्षण गरी ब्लक छुट्याएर मात्र कृषिमा लगानी गर्नुपर्ने उनको भनाइ छ । साहले भनिन्, ‘वर्षेनी आठ लाख युवा बाहिर गइरहेका छन् । अब स्वदेशमै रोजगारी सिर्जना हुने गरी काम गर्न सरकार लागिरहेको छ ।’ साथै अहिलेका चुनौती सामना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता पनि उनले औंल्याइन् । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

बिहीबार ५ माघ २०७९ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया