×

बेनीकोत पुनःनिर्माण सकियो

images

म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको पुनःनिर्माण भएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण बनेको थियो । बेनी नगरपालिका र विभिन्न दाताको सहयोगमा कोतघर पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताउनुभयो ।

पुनःनिर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ मा रु आठ लाख विनियोजन गरेको थियो । नगरपालिकाको अनुदानको अतिरिक्त कोतघरमा केही सामग्री दाताले पनि सहयोग गरेका छन् । “छानो चुहिने, भुइँमा पानी जम्ने र पर्खाल चिरा पर्न थालेको थियो”, उहाँले भन्नुभयो, “पुरानो स्वरुप कायम रहने गरी संरचना बनाएका छौँ ।” गत फागुनको तेस्रो हप्तादेखि कोतघरको पुरानो छाना र पर्खाल भत्काएर नयाँ निर्माण थालिएको थियो । 

छानोमा तीनवटा गजुर राखिएको कोतघरको झ्याल, ढोका र टुडाल कलात्मक शैलीका छन् । भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर बनाएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । कोतघर वरपर घुम्न मिल्ने र बत्ती बाल्ने ठाउँ बनाइएको छ । 

विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए ।  ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरेर कोतघर पुनःनिर्माण भएको बेनी नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । 

ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र संरक्षण गरिएको हो”, उहाँले भन्नुभयो, “रु पाँच लाख बजेटबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ ।” 

सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इटा राखेर आकर्षक बनाइएको छ । यसअघि उपयोगविहीन रहेको सो जग्गामा बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ । साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी भएको छ । 

यस कोतघरमा बडादसैँ र चैतेदसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ । कोतघरलाई बेनीमा भित्रने पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन पहल गर्ने बेनपा–८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । 

शनिबार ४ असार २०७९ १०:०६ AM मा प्रकाशित

प्रतिक्रिया