×

कर्णाली प्रदेशको प्रवेशद्वार छिञ्चुमा व्यवस्थित ग्यारेज सहितको बसपार्क बन्दै

images

सुर्खेत :  सुर्खेतको पूर्वी भेगमा पर्ने भेरीगंगा नगरपालिका–१२ स्थित छिञ्चुमा बसपार्क निर्माणको काम सुरु भएको छ।


कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार रहेको ‘छिन्चु बसपार्क’ निर्माणको लागि सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भई काम सुरु भएको हो।

प्रदेश राजधानी वीरेन्द्रनगरपछिको दोस्रो सहरका रुपमा चिनिएको छिञ्चुमा बसपार्क अभावका कारण अव्यवस्थित बन्दै गएको थियो।

रत्न राजमार्गमा पर्ने छिञ्चुमा करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको बसपार्कको लागत १८ करोड ५८ लाख रहेको छ। योमध्ये ७० प्रतिशत अर्थात् १३ करोड ७४ हजारको ऋण नगर विकास कोषबाट नगरपालिकाले लिएको छ। बाँकी ३० प्रतिशत रकम भने नगरपालिकाले व्यहोर्ने छ।  

बसपार्कभित्र बिजनेस कम्प्लेक्स सहितको दुई तले भवन निर्माण हुनेछ। त्यसभित्र एक सय २० वटा व्यापारिक सटरहरु समेत रहनेछन्। सुविधासम्पन्न ग्यारेज र रात्रिकालीन समयमा ३० देखि ३५ वटा बसहरु बसपार्कमा राख्न सकिनेछ।

‘कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण हुने बसपार्कको यो आयोजना प्रदेशकै एक महत्वपूर्ण र नमुना आयोजनाको रुपमा हेरिएको छ,’ नगरपालिकाकी उपप्रमुख रेणु आचार्यले भनिन्, ‘गुणस्तरीयसँगै समयसीमाभित्र काम सम्पन्न गर्न हामी सक्रिय भूमिका खेल्नेछौं।’

स्थानीय तहको निर्वाचनमा आफूहरुले बसपार्कलाई पहिलो एजेण्डा बनाए पनि विविध समस्याका कारण ढिलाइ भएको उपप्रमुख आचार्य बताउँछिन्।

बसपार्क निर्माणको अन्तिम गृहकार्यमा भेरीगंगा नगरपालिका जुटेको छ। यस आयोजनाबाट हाल बजारमा अव्यवस्थित रुपमा सञ्चालन भैरहेको लामो तथा छोटा दूरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त बसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान दिने उनको आशा छ। छिन्चु वीरेन्द्रनगरपछिको दोस्रो ठूलो बजार क्षेत्र भएको स्थान हो।
 

शुक्रबार​ ६ फागुन २०७८ ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया