×

‘पूनरागमन गर्नु खुसीको कुरा हो'

images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने नहुने बताएका छन् । पाँच महिनापछि नेपाली टोलीमा पूनरागमन गरेका ज्ञानेन्द्र अहिले टियु क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् ।

‘पूनरागमन गर्नु खुसीको कुरा हो । एउटा खेलाडीको रुपमा जहिले पनि शत प्रतिशत दिउँ र खेलौं भन्ने हुन्छ । त्यो पनि नेपाली टोलीको लागि खेल्न पाउनु कुनैपनि खेलाडीको लागि एउटा सपना हो । टिमलाई योगदान गर्नसक्छु भन्ने हिसाबले टोलीमा फेरि आउन पाएकोमा खुसी छु’, ज्ञानेन्द्रले भने ।

नेपाली क्रिकेटमा क्लासिक सट प्रहार गर्न माहिर मानिने ज्ञानेन्द्र सन् २००६ मा कुवेतविरुद्ध डेब्यू गरेपछि प्रदर्शनको कारण नेपाली टोलीबाट बाहिरिएको यो पहिलो पटक थियो । ज्ञानेन्द्र आफू भने टोलीबाट बाहिर हुँदा निर्णय स्वीकार गर्नुपर्ने बताउँछन् ।

‘बाहिर बस्दा गाह्रो हुन्छ भन्दापनि त्यो स्वीकार गर्नुपर्ने कुरा हो । सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने पनि हुदैन । अब मेरो लागि म मात्र होईन। यो अवस्थाको ९खराब लय० सबै खेलाडीले सामना गर्नुपर्छ । आफ्नो हातमा हुँदैन । आफूले आफूलाई समय दिने हो । जे गर्नुपर्ने हो त्यो निरन्तर गर्नुपर्छ । त्यसमा केन्द्रित छु’, पुनरागमनबारे उनले भने ।

ज्ञानेन्द्रले टोलीबाट बाहिर हुँदा समय मिलेसम्म नेपालको खेल हेरेको बताउँछन् । ‘मध्यरातमा पनि खेल भयो । घरमा समय पनि दिनपर्यो । सबै खेल लाईभ पूरा त हेर्न पाएन । जति सकें त्यति हेरें । कमजोरी भन्दापनि हामीले अझ राम्रो गर्नुपर्ने कुराहरु थियो र छ’, ज्ञानेन्द्रले भने । त्यसैमा थपे, ‘पहिला देखिनै हामीले ब्याटिङलाई लिएर धेरै कुरा गर्छौं । त्यसमा पनि अझ मिहिनेत गर्नुपर्ने हुन्छ । साझेदारी गर्नु पर्ने देखियो। बलिङ राम्रो छ । तर त्यो पनि सधैं राम्रो हुन्छ भन्ने हुँदैन । हामी सबैले स्वीकार गर्नुपर्छ कि तीन सय रन सधैं हानेर जिताउने अवस्था छैन । बलिङमा हाम्रो राम्रो छ । त्यो स्वीकार गरेर अघि बढ्नुपर्छ ।’

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक मनोज प्रभाकरले तीन दिनदेखि टोलीको प्रशिक्षण हेरेका छन् । उनी अनुभवी खेलाडी रहेको ज्ञानेन्द्र बताउँछन् । ‘वहाँ आफैं एक अनुभवी खेलाडी हुनुन्छ । वहाँले जुन स्तरमा खेल्नु भएको छ त्यहाँ खेल्न हामीले सोचिरहेका छौं । (हाम्रो खेलकुद)

बुधबार १ भदौ २०७९ ०९:५६ AM मा प्रकाशित

प्रतिक्रिया