×

पृथ्वीको तापक्रम वृद्धि दर घटाउने सम्बन्धमा अमेरिकी र चिनियाँ अधिकारीबीच भेटवार्ता

images


जलवायुमामिला सम्बन्धी जिम्मेवारी तोकिएका अमेरिकी दूत जोन केरीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा चार घण्टा लामो वार्ता गरी पृथ्वीको तापक्रम वृद्धि घटाउने विषयमा रोकिएको कूटनीतिक वार्तालाई पुनर्जीवित गर्नुभएको छ । 

गत वर्ष अमेरिकी संसदकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले स्वशासित ताइवानको भ्रमण गरेर बेइजिङलाई आक्रोशित बनाएपछि दुई ठूला हरितगृह ग्यास उत्सर्जक देशहरूबीचको जलवायु वार्ता रोकिएको थियो ।

वासिङ्टन र बेइजिङबीच ताइवान र अन्य थुप्रै विषयमा विवाद भए पनि पूर्व विदेशमन्त्री केरीले चीनसँग तुलनात्मक रूपमा सुमधुर र निरन्तर सम्बन्ध राख्दै आउनुभएको छ । 

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उहाँले आफ्ना चिनियाँ समकक्षी सी झेन्हुआसँग जलवायुपरिवर्तनले पृथ्वीमा ल्याएको वातावरणीय सङ्कट र यसको नियन्त्रणका लागि विश्वका प्रमुख अर्थतन्त्र र प्रदुषणका लागि बढी जिम्मेवार मानिएका मुलुकहरूको भूमिकाप्रति सोमबार बेइजिङमा भएको चार घण्टा लामो वार्ताका क्रममा छलफल भएको थियो । 

“जलवायु परिवर्तनसम्बन्धी मामिलाका लागि चीनका विशेष दूत सी झेनहुआले उहाँका अमेरिकी समकक्षी जोन केरीसँग करिब चार घण्टा छलफल गर्नुभएको छ,” सरकारी प्रसारक सिसिटिभीले छलफल भएका बुँदा र सहमतिबारे थप विवरण सार्वजनिक नगरिकन वार्ताको पुष्टि गरेको छ । 

केरीले आइतबार सीएनएनलाई बताएअनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बेइजिङलाई ‘आफू विकासशील राष्ट्र हो भन्ने कुनै पनि प्रकारको दाबीको पछाडि नलुक्न’ दबाब दिने अमेरिकी अडान रहेको बताउनुभएको थियो ।

सुलिभानले भन्नुभयो, “चीनलगायत सबै देशको उत्सर्जन घटाउने जिम्मेवारी छ र मलाई विश्वास छ, विश्वले चीनलाई उत्सर्जन घटाउन अझ नाटकीय कदम चाल्न दबाब दिनुपर्छ र प्रोत्साहित गर्नुपर्छ ।”

चीनले लामो समयदेखि विकासशील राष्ट्रको रूपमा आफ्नो आधिकारिक हैसियतलाई आफ्नो उच्च उत्सर्जनको औचित्य पुष्टि गर्न प्रयोग गर्दै आएको छ तर यस सम्बन्धमा उनीहरूका लागि अझै धेरै काम गर्न बाँकी छ,” सुलिभानले भन्नुभयो । “विदेशमन्त्री केरीले बेइजिङमा रहँदा यो कुरा राख्नुहुनेछ,” उहाँले भन्नुभयो । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अर्थमन्त्री जेनेट येलेनले अमेरिका र चीनबीचको सम्बन्धलाई स्थिर बनाउने उद्देश्यले गरेका अन्य दुई उच्च स्तरीय भ्रमणपछि केरीको यो भ्रमण हुन लागेको हो ।

उत्तरी गोलार्धमा ग्रीष्मकालीन गर्मीको रेकर्ड कायमै रहेका बेला उहाँको चीन भ्रमण भएको वैज्ञानिकहरूले बताएका छन् ।

‘ग्रान्थम रिसर्च इन्स्टिच्युट अन क्लाइमेट चेन्ज एन्ड द इन्भाइरोमेन्ट’ का वरिष्ठ सदस्य चुनपिङ सीले एएफपीसँग भन्नुभयो, “केरीको भ्रमण र जलवायु अन्तरक्रियाको पुनरुत्थानले जलवायु सङ्कटलाई सम्बोधन गर्न समन्वयात्मक प्रयासको महत्वपूर्ण महत्वलाई जोड दिन्छ ।

“यसले साझा भलाइलाई बढावा दिन जटिल भूराजनीतिक सम्बन्धलाई पुनः स्थापित गर्ने उनीहरूको साझा दृढतालाई पनि प्रदर्शित गर्दछ,” सीले भन्नुभयो । 

जलवायु परिवर्तनलाई निम्त्याउने हरितगृह ग्यासको प्रमुख उत्सर्जकका रूपमा चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई उच्च बनाउने र सन् २०६० सम्ममा पूर्ण कार्बन तटस्थता हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि सन् २०२६ देखि कोइलाको प्रयोग घटाउने बताउनुभएको छ । 

तर बेइजिङले अप्रिलमा कोइला ऊर्जामा ठूलो वृद्धिलाई अनुमोदन गरेको थियो । वातावरण संरक्षणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था ग्रीनपीसका अनुसार चीनले कोइला ऊर्जामा ठूलो वृद्धिलाई अनुमोदन गरी उत्सर्जन घटाउने प्रतिज्ञाभन्दा ऊर्जा आपूर्तिलाई प्राथमिकता दिएको र यसले चीनको आफ्नो लक्ष्य पूरा गर्न असफल हुने चिन्तालाई बढावा दिएको छ । 


 

सोमबार १ साउन २०८० ०६:०१ PM मा प्रकाशित

प्रतिक्रिया