×

अधुरा काम सम्पन्न गर्न महायज्ञ

images

पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा सञ्चालित पुम्दीकोट विशाल महादेवको मूर्ति परियोजनाअन्तर्गत अधुरा कार्य सम्पन्न गर्न आजदेखि महायज्ञ सुरु गरिएको छ ।

पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म सञ्चालन हुने महायज्ञको जगद्गुरु शङ्कराचार्य स्वामी नरेन्द्रानन्द सरस्वतीले उद्घाटन गर्नुभयो । पुम्दीकोट विशाल महादेवको मूर्ति परियोजनाअन्तर्गत अधुरा कार्य सम्पन्न गर्न पुनः दोस्रो पटक महायज्ञ आयोजना गरिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । 

परिमार्जित परियोजनाअन्र्तगत सुमेरु पर्वत नामकरण गरी कुमार, पार्वतीको मूर्ति स्थापना गर्ने, भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म विद्युतीय चियर कार निर्माण गर्ने, हरित पार्क निर्माण गर्ने, व्यवस्थित पार्किङस्थल निर्माण गर्ने लगायतका योजना रहेको उहाँले जानकारी दिनुभयो । ४० करोडको उक्त परियोजनाअन्तर्गत ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डम्मरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी), १०८ स्वर्गद्वारी सिँढी निर्माण सम्पन्न भएको छ । 

यसैगरी १०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिङ्ग, शिव ताण्डव नृत्य हल, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, मनोरेलद्वारा गणेश परिक्रमा, फूलमाला बिक्रीका लागि ४१ वटा सटर, कम्पाउन्ड वाल, प्रशासकीय भवन, शौचालयलगायत भौतिक संचरना निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

नौ दिनसम्म चल्ने महायज्ञबाट करिब रु छ करोड सङ्कलन गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ । उद्घाटन समारोहमा जगद्गुरु शङ्कराचार्य, उद्योगपति कमल जैन, पोखरा–२२ का वडाध्यक्ष मातृका बराल, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी ब्रह्मकुमारी अप्सरा, महायज्ञका प्रमुख कथावाचक भागवद्भाष्कर कमलनयन गौतम लगायतले महायज्ञको शुभकामना व्यक्त गर्नुभयो । 

आइतबार​ ४ बैशाख २०७९ ०९:१६ PM मा प्रकाशित

प्रतिक्रिया