×
images

यात्रा संस्मरणः बाग्लुङ बसाईमा सम्झेका केही अनुहार

काठमाण्डौँ। यात्राको रहर जहिल्यै तिब्र रुपमा मन भित्रै देखि उर्लिन्छ । तर चाहँदैमा नहुने । रेडक्रस सोसाइटीको जागिरले भने बागलुंङका केही गाँउहरु मज्जैले घुम्ने अबसर जुटाइदियो । यस क्रममा मैले विशेषतः पटक पटक यात्रा गरेको ठाउँ गल्कोट,हुग्दिशिर र सिगाना हो । त्यहाँका दुई समुदायमा संस्थाले कार्यक्रम लागू गरेको थियो । यहि क्रममा नरेठाँटीको यात्रा कैयन पटक गरियो । त्यहाँको आत्मियताले मलाई मेरो ठाउँ विर्साइदिएको थियो।
अन्तिम पटकको यात्रा तय गरियो २०६० मंसिरको अन्तिम साता तिर ! कार्यक्रममा अन्तिम पुर्नः ताजगी कार्यक्रम र समग्र कार्यक्रमको मूल्याङ्कन गर्ने सिलसिलामा म त्यहाँ पुगेको थिंए। जान गाह्रो लागे पनि गैसकेपछिको अत्यन्तै आत्मिय भाव कहिल्यै बिर्सिनसक्ने छ । बुल बहादुर के.सी.सर महेन्द्र मा.वि.का शिक्षक,सामाजिक अभियन्ता पनि ! यस पटक जाँदा थाहा भयो उनलाई विद्रोही माओबादीले अपहरण गरेर लगेछन् । उनको घरमा केहि दिन बसेको थिंए म! उनको जोडीको आत्मिय आतिथ्य सत्कारलाई मैले कुनै शब्दमा लेख्न सक्दिन् । मलाई ति भाउजुले आफ्नै छोरो ठान्थिन्।

 बुल बहादुर सरसँग यस पटक भेट भएन । अग्ला वलिष्ट ज्यान र मिजासका धनी बुल बहादुर सर! कति अमिलो भयो यो मन । अरु प्रायःसबैसँग भेट भयो ।केयरसिंह दाई र भाउजुको आत्मियता उस्तै! एक रात बसें म यो पटक पनि उनीहरुसँग ! अत्यन्तै ब्यस्त छन् उनीहरु !  पसल यति धेरै चल्छ कि दुई जना मात्र छन् र त खाना खान पालो गर्नुपर्ने अवस्था छ । समाजसेवामा पनि उत्तिकै ब्यस्त रहने बानी छ उनको !  म यहि कारण पनि प्रभावित छु यो जोडीसँग ! 
       दुर्गा बहादुर कुँवर निवर्तमान नरेठाँटीका गाविस अध्यक्ष उनले जनमोर्चाबाट चुनाव जितेका रे !  उनको सहयोगी भाव विर्सिनसक्नु छ । उनको घर पुगेको थिंए म  !  गोपाल शर्मा दाई हुलाकमा काम गर्छ्न । बजार छेउमा सानो पसल पनि छ । उनी पनि समाजसेवामा रुची राख्छन् । शिव पाण्डे सर,घर अलिक पर्तिरको गाविस हरिचौर,महेन्द्र माविका शिक्षक,रेडक्रसको जिल्लामा पदाधिकारी पनि छन् । दिनेश पन्त पनि त्यहि स्कूलका सर हुन्  । रेडक्रस र क्लबतिर पनि सक्रिय छन् । 

हिरा श्रीस उनको पनि वजारमा सानो पसल छ । पसलमा उनकी जीवनसंगिनीले साथ दिन्छिन् । उनी त्यहि स्कूलमा पढाँउछन् । उनी गित गाउने रहर गर्छन् । मिठो र सुरिलो छ उनको स्वर ! मैले धेरै गीत सुनेको छु । 
रत्ना भण्डारी उनी सामाजिक रुपमा विभिन्न ठाँउमा आवद्ध छिन्। उनले मलाई ठुलो दुर्घटनाबाट जोगाएकी कहाँ विर्सनु मैले !  दिदी अम्बिका खत्रीले छुट्टिने बेला आँखाभरी बलिन्द्र आँसुका धारा बगाएर रुमाल चिनो दिएकी थिइन । ुभाई सायद अब भेट हुन्न होला है? म पनि इन्डिया भिनाजु भएको ठाँँउमा जान्छु छ्ट्टिै । रुमाल चिनो दिएकी छु । यहि रुमाल हेरेर दिदीलाई सम्झनु है । मैले धेरै बर्षसम्म रुमाल जतन गरी राखेको थिंए । पछि कोठा सर्ने क्रममा कता हरायो कुन्नी ? मन दुखित बन्यो । 
यसैगरी दिदी दुर्गा वि.क लेखाइ पढाई कम भएपनि चेतनाको स्तर उपल्लो स्तरको थियो उनमा ! उनी पनि मलाई देखेर उनको भाई विर्सेको बताँउथिन् । उनले पनि मलाई आफैंले कुुँदेको चाँदीको औठी उपहार दिएकी थिइन् । त्यो मसँग अद्यपी छँदैछ । मलार्इृ अहिले पनि त्यो दृष्य याद छ,महेन्द्र मा.वि. नरेठाँटी बजारबाट मलाई विदाई गर्दाको क्षण कति नरमाइलो भएको थियो । मेरा आँखा मात्रै होइन धेरैका आँखा रसाएर टिलपिलाएको देखें मैले ! दुर्गा दिदी कति टोलाएकी थिइन् । अम्बिका दिदी उस्तै निन्याउरी देखिइन् । केयरसिंह दाईले पनि मेरो प्रशंसामा धेरै समय खर्च गर्नुभएको थियो । मलाई अविर र मालाले रंग्याइएको थियो । भर्खर कलेज सुरु गरेका बहिनीहरुले डायरी उपहार दिएका थिए । सवैले मलाई टिका लगाइदिए । भावुक बनें त्यहाँको माहोलले म ! तर छिट्टै सँहालिएँ पनि !  दुनियाँको दस्तुर यस्तै हो मिलन पछि विछोड  !  विछोड पछि मिलन त हुन्छ हुन्न कुन्नी? एकछिन सबैतिर नजर डुलाएँ । सवैजसो अध्याँरो मुहार पारेर बसेका छन् । म पनि वोल्नसक्ने परिस्थितिमा थिइन् र पनि बलजफ्ती बोलें –”आत्मिय जनहरु,मिल्नु र छुट्टिनु त जीवनको चक्र न हो । हामी विछोड पछि फेरी मिल्नेछौं । यो नेपाल उतिसाह्रो ठूलो पनि छैन् ताकि फेरी कहिं न कहिं भेट नहोस्।त्यसैले विछोडको सन्त्रासबाट हामी सब मुक्त हुनुपर्दछ ।काभ्रे जिल्लाको फुच्चे केटा म  ! यहाँ आएर आफ्नो परिवारसँग विछोडिएको महसुस गर्न परेन् । यहाँहरुको मायाप्रेम,सहयोग,सद्भाव र आत्मियता प्रति अनुगृहित छु। मेरो मनको अनुभूति शब्दमा पोख्न सम्भव छैन्। “यो भन्दा गला अबरुद्ध भयो ।
 हामीले अन्त्यमा  सामुहिक फोटो सेसन ग¥यौँ जुन यद्यपि मसँग छँदैछ । दुर्गा,अम्बिका र रत्ना दिदीहरु घसघसाको उकालोसम्म पुर्याउन आए । छुट्टिने बेलामा दुर्गा र अम्बिका दिदी छाँद हालेर रोए । रत्ना दिदीले मन अमिलो पारिन्। ”लउनुस् भाई, गरिव दिदीले केही दिन सकिन्। अलिकति खट्टे र भटमास भुटेर राखिदिएकी छु बाटोमा खाजा खानु । सुन्तोलाका दाना टिपेर राखिदिएकी छु । यसो खाँदै जानु है।दुर्गा दिदीको माया बोल्यो ।“ मैले हार्दिकताको साथ त्यो पोको समाएँ र झोलामा हाले ।
ुप्रदीप भाई ! ”नभुल्नु है दिदीलाई।याद आँउदा रुमाल हेर्नु,त्यसमा यो दिदी देखिन्छे“अम्बिका दिदीले रिुँदै भनिन् । 

”सर, हजुरसँग चिनापर्चि भो।जिन्दगी प्रतिका धेरै सकारात्मक सोचाईहरु सिके। आत्मियता गाँसियो। यो नादान केटीलाई केहि भनि विझाएकी भए माफ दिनुहोला आफ्नै बैनी सम्झेर !“ अमृतामा पहिलेको कुराले पश्चाताप भाव देखिन्थ्यो । उनले मसँग प्रेम प्रस्ताव राखेकी थिइन्। मैले सिधासिधि आफु विवाहित भएकोले यस्तो कुरा नगर्न भनेको थिएँ।उनले एउटा डायरी दिइन्। मैले हार्दिकताका साथ स्वीकारें !  यो डायरी यद्यपी मेरो दराजमा भेटिन्छ ।
   ”सर,म बाग्लुङ् बजार आँउदा हजुरसँग भेट अबश्य हुनेछ हजुरको अफिसमा ! “ रत्ना दिदीले केहि दिनमै भेट हुने बताइन्। म अmझै पन्ध्र दिनजति बस्ने वाला थिएँ बाग्लुङ ! 
   सबैलाई हात जोडेर आँखाभरी विछोडका आँसु पारेर उक्लिएँ। घसघसाको उकालो घोडावाँधेको लागि  ! 

उनीहरुको सामिप्यतामा मैले आफ्नो कार्यक्रमलाई सफल पारेको हुँ । यता घसा तिरका अग्ला कदका ब्यक्तित्व,शितलपाटी प्रा.वि.का हेडसर तुलसीराम भण्डारी सर उनीसँग मेरो सामिप्यता अलि बढी नै भयो । ममाथि आक्रमणको प्रयास भएको दिन मलाई बाग्लुङ बजार पु¥याउन आउने उनी नै थिए । उनका दाजु भारतिय फौजीबाट रिटायर्ड डम्बरसिंह भण्डारी दाई मेरो मष्तिष्कमा अनुहार आइरहने नाम हो । मेरो जीवन जोखिम हुनबाट बचाएका थिए डम्बरसिंह दाजुले ! 
 यसरी नै त्यहिंका पसले दाजु याविन्द्रसिंह भण्डारी जहाँ मैले छोराकै रुपमा माया पाए । धेरै समय ब्यतित गरेको परिवार हो त्यो ! धन बहादुर भण्डारी दाईको नि याद आउँछ । उहाँकोमा पनि बास बसेको थिए म  !  ज्योतिष गुरु बलराम शर्मा पौडेल जसले मेरो भविष्यबारे बताएका थिए । संयोग हो कि यथार्थ हो कुन्नी धेरै कुराहरु मेरो जीवनमा मेल खायो । उनले केही दिनमै तपाईको जिन्दगीमा अनिष्ट हुनसक्छ भनेका थिए । उनले भनेको पर्सिपल्टै ममाथि असफल खुकुरी प्रहार भएको थियो । उनले मेरो अनुरोध विना नै चिना टिपन पनि बनाइदिएका थिए । चिना टिपन यद्यपि छ मसँग !  उनी जजमानी गर्न एकाविहानै घरबाट बाहिर निस्कन लाग्दा तत्कालिन द्धन्दरत पक्ष र सेना बिचको भिडन्तमा मझेरीमै ढलेका थिए । पछि सेनाको हेलिकप्टरले काठमाण्डौ ल्याएर उपचार गरेको थियो । उनी शरीरभरी द्धन्दकालिन गोलीका छर्रा बोकेर जिइरहेका मान्छे हुन्। 

यादगर बनेर आँउछन् सबैजना । यसैगरी नर बहादुर श्रीस जो गाविस पूर्व उपाध्यक्ष थिए,हाम्रो कार्यक्रमका संयोजक पनि उनी पनि यादगर मान्छे । उनको कमजोरी यद्यपि याद छ रक्सी पिउँथे धेरै र प्रायः तर भलादमी उत्तिक्कै ! अरुलाई भनि नविझाउने स्वभाव ! 
पवित्रा श्रीस आमा, उमेरले त्यतिवेलै तीन बीस कटेकी थिइन् । होचो कदकी हसिंलो मुहारका साथ सदा प्रस्तुत हुने उनी शितलपाटी मुनी कोदोखोरियाकी थिइन्। महिला स्वास्थ्य स्वयंसेविका पवित्रा आमामा भएको जोश जाँगर सम्मान गर्न लायक थियो । मलाई संकट पर्दा दर्विलो ढंगले उत्साह भरेकी थिइन उनले  !  सायद उनले भूमिका नखेलेकी भए मलाई साँझको बेला जंगलको बाटो एक्लै यात्रा गर्नुपर्ने अवस्था आउँथ्यो। जुन कम्ती गाह्रो कुरा थिएन ।

    गाँजाको लेक कटेर फेरी ओरालो अनि फेरी तेर्साे ! बल्ल आइपुग्छ बरेँङ !  त्यहाँ नर बहादुर वि.कसँगको मित्रता झाँगियो अनायासै !  पहिलो पटक जाँदा त्यहाँको गाँउले होटलमा बास बसेको म !  दोस्रो पटकदेखि उनकैमा बसें । धन बहादुर वि.क. नरबहादुरको दाई र उनकी श्रीमति काली दिदीलाई कहाँ बिर्सन सक्छुर । यसैगरि नर बहादुरको बुबा हुलाकमा कार्यरत थिए । नर बहादुर जी जनमोर्चाको स्थानीय नेता ! उनको घर उनका राजनीतिक दलका नेताहरु आँउदा बासबस्ने थलो रहेछ । जनताका चर्चित जनगायक जीवन शर्मालाई त्यहाँ पनि भेटे मैले  ! एक पटक नर बहादुरकोमा बस्दा एउटा घट्ना घटेको थियो । स्थानीय जनमोर्चा(चित्र बहादुर केसी)का कार्यकर्तालाई विद्रोही माओबादीहरुले अपहरण गरि लगेका रहेछन् । उनलाई छुटाउन त्यहाँका जनमोर्चाहरुले माओवादी कार्यकर्ता आफ्नो कब्जामा लिएका थिए । त्यो दिन नर बहादुरको सपरिवार मलाई मात्र घरमा छोडेर माओवादी लखेट्न गएका थिए । राती आए उनीहरु  ! म भनें नर्भस थिंए । त्यो घर साँझमा मैले एक्लै रुग्नु परेको थियो ।

त्यस्तै काशिराम पौडेल सर,देव बहादुर पुन हेडसर हरेक कुरालाई सकारात्मक रुपमा हेर्ने स्वभावका थिए । धनिश्वर पौडेल सर,थानेश्वर पौडेल सर जो बरेङको महेन्द्र मा.वि.का शिक्षकहरु कहाँ विर्सनु। मेरो कार्यक्रमकी सामाजिक कार्यकर्ता दीपा राना मगर, म उनलाई मोटी भनेर जिस्काँउथे । अत्यन्तै सरल स्वभाव उनको !  उनी निजी श्रोतमा बरेङको हाइस्कुलमा पढाउँथिन् । उनका माबलीका हजुरबासँग भलाकुसारी गर्न खुब मन पराँउथे म ! उनीबाट पुराना धेरै कुरा जानेको थिएँ र त्यहाँ मैले पटक पटक खाजा खाएको छु । उहाँहरुको आत्मिय मन !  आफ्नोपन !  भुलिनसक्नु उनीहरुसँग विताएका पलहरु  ! 
 गम बहादुर सर बरेंङ बजार नपुग्दै हेल्थपोष्ट भन्दा केही माथि घर थियो उनको ! मज्जा लाग्थ्यो उनीसँग गफिन । मधुर मुस्कानका धनी गम बहादुर सर जहिल्यै विस्तारै बोल्थे ।  अर्काे बिर्सन नसकिने नाम दिलमाया दिदी उनको सामाजिक कार्यमा समर्पित भएर लाग्ने स्वभाव !  हसिंलि तथा फरासिली  !  सबैसँग सहजै घुलमिल हुने स्वभाव थियो उनको । पटक पटकको आवागमनमा त्यहाँको समुदायमा घुलमिल भएर बसें । उसो त नयाँ वर्षको उपलक्ष्यमा बनभोज पनि गयौं हामी !  नाच गान,दोहोरीको मज्जा लिई गजब रमाइलो गरियो। । खसी मार हानियो । 

त्यस्तै यादगर छ, हुग्दिशीरको डाँडाकटेरी गाँउ  !  जयलाल शर्मा स्थानीय प्रा.वि.का शिक्षक  !  उनको घरमा धेरै पटक बसेको छु । पहिलो पटक आँटो खाँए त्यहाँ  ! बुढा बा,जयलालको जोडी र दुई छोरा सानो परिवार ! सरल परिवार ! उहाँको भन्दा केहीमाथि श्यामलाल दाईको परिवार !  त्यो घरको मकै भटमास !  पूर्व वडा अध्यक्ष जनमोर्चाबाट जितेका !  तर जातियताका कट्टर समर्थक !  उनको बुढी आमा पनि छन्। छोरा र छोरी पनि !  श्यामलाल दाईकोमा पनि एक छाक खाना खाएको छु । जयलालजीको घरभन्दा अलिक तल मुनिश्वर शर्माको घर छ । उनकी बैनी विष्णु अत्यन्तै सज्जन लाग्छिन् । त्यो परिवारसँग पनि समय विताएको छु । भाँगो र उवाको खाजा खाएको छु । डाँडा कटेरी गाउँको तल कलकल बग्ने ठाडो भण्डारखोला ! जुकालाई रक्तदान धेरै गरेको थिए मैले त्यहाँ  ! सबै सबैको सम्झनाका तरेलीमा तरेलिन्छ मेरो मन ! 

सिंगाना गाविसका दिनानाथ गौतम सर !  नेरेसो बाग्लुँङका दैवी प्रकोप समितिका संयोजक ! सिगाना माविका शिक्षक ! सदैव मेरो निर्णयमा सहमत हुन्थे । कैयन पटक हामी सँगै फिल्ड घुमेका थियौं ं । हराएको मान्छेको खोजी कार्य गर्न बाग्लुङको छिस्ति र जैदीसम्म पुगेका थियौं हामी दुई  !  बर्षातको याम, चिप्लो बाटो,उसमाथि काँस घासको घारी बाटोमा कति पल्ट लडेर उठाए दिनानाथ सरले गनिसाध्य भएन । कतै बास पाइएन । कतै केही खान पाइएन । हामी १२ घण्टा विना खाना,पानी हिडिर¥यौँ । कतै उकालोमा पसिना पुछ्दै त कतै ओरालोमा चिप्लेटी खेल्दै  ! एक ठाउँमा दुई तीन घरमा हामीले ”मकै एक घान भुटेर खान दिनुस्। हामी पैसा दिन्छौं।“भन्दा पनि कोही मनुवा हाम्रो भोक मेटाउन तयार नभएको दुखद यथार्थ हाम्रो सामु उभिएको थियो । कतै मान्छे हामी आँगनमा पुग्दा दैलो बन्द गर्थे । कोही बोल्न अनकनाउथे । अनि कतै चाहिं सत्य कुरा भन्दैनथे । सायद सशस्त्र द्धन्दको मारमा परेर होला । कोही हामीलाई सरकारी सुराकी ठान्थे । कतै चाहिं विद्रोही पक्ष !  खासमा चाहीं नौलो भएर पनि होला । हामी कोइ कसैसँग परिचित नभएर होला। वास्तबमै वडो विषम परिस्थिति थियो । सर्बसाधारणहरु भयभित र आतंकित देखिन्थे। यस्ता धेरै स्मरणहरु जिवन्त बनेर बसेका छन मनमा । 

टिकाराज पौडेल मेरो सहकर्मी ! घर तित्याँङ उनको !  कैयन पटक बास बसेको छु। त्यहाँ आमाको छत्रछाँयाको अभाव भएन । उनले मेरो धेरै कुराहरु सहजिकरण गर्थे । जिल्लाका विभिन्न गाउँहरुमा उनले नै परिचित गराएका हुन मलाई  ! पहिलो पल्ट परियोजना लागु भएका हुग्दिशिर,सीँगाना,नरेठाँटीका समुदायमा उनैले लगेका हुन् । उनीसँगका धेरै पलहरु मेरो ह्रदयमा रेकर्ड भएर रहेका छन् ।
 
बागलुङ बसाईको अर्काे भुल्न नहुने नाम गुरुप्रसाद शर्मा भाई ! रक्तसंचार सेवामा कार्यरत ! उनीसँगै धेरै बसउठ भयो । उनले बनाएको खाना धेरै खाएको छु । सुखदुखका साथी  !  नाचगान गर्न असाध्यै सिपालु भन्थे उनी रक्तिम साँस्कृतिक परिवारमा पनि आवद्ध थिए भनेर !  होटल हिल भ्यू र त्यसका संचालक राज थापा गल्कोटका !  उनकी श्रीमति आदरणीय दिदी ! करिव ५ महिना होटलमै बसेको म ! उहाँहरुको आत्मियता कहाँ विर्सन सकँुला मैले !  साना साना नानीहरु पनि सम्झिरहेको छु । उनको भतिज राम भाई प्रायःसंगै बस्थेउँ हामी ! अर्की पात्र हुन भकुण्डेकी प्रमिला थापा मगर उनको घरमा लोकल भाले र कोदोको ढिंडोको मज्जा जिव्रोमै झुण्डिरहन्छ । मलाई अति खातिरदारी गर्थिन उनी ! उनको होचो कद,गोरो मुहार र लामो केशराशी याद आउँछ ।

यस्ता थुप्रै नाम छन् । सहकर्मी सुशीलराज रेग्मी,कार्यालय सहयोगी लक्ष्मी गौतम दिदी,मैले खाना खाने गरेको दुर्गा दाई र उनकी आमा ! परिवार नियोजन संघका शाखा प्रवन्धक क्षत्र बहादुर क्षेत्री,पियन बेल बहादुर विष्ट दाई ,होटलबाला श्याम दाई थुप्रै नामसँग यादगर भएर जोडिएको छु म ! संकटकाल लागेको थियो मुलुकमा ! सशस्त्र द्धन्दको चपेटामा सलह जस्तै फैलिएको ‘क’ श्रेणीको जिल्ला बागलुङ ! प्राय फिल्डको कार्य ! बहुत कठीन थियो । संकटले आँगन भरिएको थियो । कैयन खतरनाक कहरपूर्ण पलहरु गुज्रिएर गए मेरा !  तर माथिका असल मनहरुको कारण मेरो यहाँको बसाई,मेरो अफिसियल कार्य सहज बनेको थियो । ति असली पात्रहरुको कारण संकटका घोच्ने काँडा पनि सजिलै पोल्न सकें मैले  ! 
पुराना कुरा यादमा नियाल्छु । मनको ढोका ऐतिहासिक बनेर खुल्छ । धवलागिरी हिमालको काखमा वसेर,कालीगण्डकीको कन्चन पानीका असला माछा !  छाप्राहरुमा खाएका माछाका स्वाद आहा ! करिब साँढे दुई बर्षको बसाईमा खेपेका,भोगेका दर्दनाक दृष्यहरु तथा रमाइला पलहरु मनमा उदाउँछन् अहिले पनि आक्कलझुक्कल !  बागलुङ कालिका भगवती मन्दिर जहाँ म प्रायः पुग्थें र दृष्यापान गर्थे,कालीगण्डकी,नजिकैको खोच र जंगलको आनन्द लिन्थे । वर्षातमा कालीगण्डकी नदीमा आउने छाल जस्तै खुशीका उत्ताल छालहरु आउँथे मनमा ! आतंककारीको विल्ला भिराएर तत्कालिन शाहीसेनाले समातेर लान खोज्दा छुटाउने आदरणिय गौतम बा र टिकाराम सापकोटा बालाई सम्झन्छु । त्यहीं बागलुङको नरेठाँटीको सितलपाटी स्कूलमा म माथि खुकुरी प्रहार गर्ने नारायण भण्डारीको मुहार पनि याद आउँछ । यस्तै विभिन्नताका परिवेशहरुसँग साक्षात्कार भएको बागलुङ तिम्रो मलाई सम्झना आउँछ । 

विहुँबाट घोडावाधे जाँदा बाटोभरी सूनौला,काला लगायत अनेकौं थरीका कालिजहरु बाटोमा चरिरहेको देख्दा आनन्द महसुस गरेको छु मैल ! नेपाल भित्रको नेपाल भनेर चिनिने त्यो पहाडी परिवेश कहाँ चाहेर भुल्नु । यात्रा र त्यसको संस्मरण सबैले गर्छन् । कसैले सुखद पलका मात्र स्मरण गर्छन् त कसैले अप्ठ्यारो समयको ! तर मेरा बागलुङ बसाईका ति सबै पलहरु यादगर बनेका छन् ।

 गाजाको लेकमा भयभित हुँदै एक्लै यात्रा गर्दा होस्। या जुकालाई टोकाउँदै हिड्नु पर्दा किन नहोस्। अथवा ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ का गायक जीवन शर्माको जोडीसँग उनीहरुका गीत सुन्दै बाटो काटेको पल ।कतै बास घरभित्र नपाएर पिढींमा सुतेर आकाशका तारा गन्दै गरेको समयलाई पनि साथ दिएको थिंए मैल !  देश बुझ्ने,आम भुईंमान्छेका दर्दनाक पीडासंग साक्षात्कार गर्ने अबसर पनि दिएको थियो उतिवेला बागलुङले ! सदरमुकामको गर्मी,अनि लेकको चिसो,आँटो र गिठ्ठा भ्याकुर तथा भाँगोको स्वाद चखाएकै हो बागलुङले मलाई  !  लाहुरेका सुन्दर सफा बस्ती,सेताम्मे केश फुलेको हिमाल,झोलुड्डे पुलहरु,गाजाको धुरीमा फैलिएको कपास जस्तै हुस्सु,अत्यासलाग्दो त्यो बन,मनै लोभ्याउने गाजाको दह !  बिचित्रको सामाजिक सद्भाव र संरचना बोकेको जिल्ला !  वलेवाको सुचारु नभएको एयरपोर्ट,उर्वरयोग्य गल्कोट एरिया,भकुण्डे बाट देखिने रमणीय दृष्य जहिल्यै खिच्छन् बाबै मलाई !  सींगानाको लामाचौरको दलित बस्तीमा कथित दलितको आरोप खेप्नु परेको,जातीय समानताको लागि मैले त्यहाँ गरेको सहभोज र त्यसको सकारात्मक प्रभाव सम्झँदा निःशन्देह मन आल्हादित छ । अहिले पनि सम्झिरहेछु,अनि फनफनी घुमिरहेछु यसरी घुम्दा कहिले पुग्छु जिप चढेर मुटु काँप्ने बाटो घोडावाँधे,कहिले जुकाले टोकेर रगताम्मे हुँदै गाजाको लेक चढिरहेछु । कहिले डाँडाकटेरीमा कुहिरो चुम्न पुग्छु त कहिले पैयौपाटाका उकालो चढ्छु । विहुँ कोट हेर्दै गल्कोटका मलिला फाँटहरु चाहार्छु । अनि कहिले गल्कोटे मल्ल राजाको दरवार । यादै यादमा मनले अहिले पनि पढिरहेछ त्यहाँको समग्र भूगोल ! 

शुक्रबार​ १ पुस २०७९ ०५:०५ PM मा प्रकाशित

प्रतिक्रिया