×

बार्सिलोनाको उपाधि खडेरीमा पूर्ण विराम

images

काठमाडौ  ।  लियोनल मेसी विना नयाँ जीवन बिताइरहेको बार्सिलोनाले अन्ततः पहिलो उपाधि जितेको छ । बार्सिलोनाको उपाधि खडेरीमा पूर्ण विराम लगाउने क्रममा स्पेनी सुपरकप जितेको हो । मेसीले क्लब छाडेयता यो पहिलो उपधि हो । यस्तै प्रशिक्षकका रूपमा ज्याभी आएयता बार्सिलोनाले चुमेको यो पहिलो सफलता हो ।
सन् २०२१ मा मेसीले बार्सिलोना छाडेका थिए । त्यही वर्ष ज्याभीले प्रशिक्षकको भूमिका सुरु गरेका थिए । त्यही वर्ष बार्सिलोनाले अन्तिम पटक कोपा डेल रे जितेको थियो । बार्सिलोनाले सन् २०१८ मा अन्तिम पटक स्पेनी कप जितेको थियो । साउदी अरेबियामा भएको यसपल्टको स्पेनी सुपरकपको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–१ ले पराजित गर्‍यो ।
त्यसमा बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की, ज्याभी र पेड्रीले गोल गरे । खेलको अन्त्यतिर करिम बेन्जेमाले रियलका लागि एक गोल फर्काए । उता इंग्ल्यान्डमा भने आर्सनल लिग उपाधिको नजिक पुगेको छ । उसले इंग्लिस प्रिमियर लिगमा आफ्नो अग्रतालाई आठ अंक पुर्‍याएको हो र यसका लागि उसले आइतबारको उत्तरी लन्डन डर्बीमा टोटनहमलाई २–० ले हरायो ।
टोटनहमका गोलरक्षक ह्युगो लोरिसले सुरुमै आत्मघाती गोल पछि मार्टिन ओडगार्डले दोस्रो गोल थपे । टोटनहममाथि उसको घरमा आर्सनलले जित निकालेको यो सन् २०१४ यता पहिलो पटक हो । यो जितपछि आर्सनलको १८ खेलबाट ४७ अंक भएको छ । उसको पछाडि म्यानचेस्टर सिटी ३९ अंकमा दोस्रो स्थानमा छ ।
फ्रान्सेली लिग वान भने अझ रोमाञ्चक बनेको छ र लिग उपाधिको होड खुल्ला भएको छ ।  । मेसी, नेयमार र केयलिन एमबापेले आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हारबाट जोगाउन सकेन र रेनेससँग १–० ले पराजित रह्यो । फ्रान्सेली लिग वानमा पीएसजीको यो लगातार दोस्रो हार हो । पीएसजीको १९ खेलबाट ४७ अंक छ भने रेनेसको समान खेलबाट ४४ अंक भएको छ । 

सोमबार २ माघ २०७९ ११:०९ AM मा प्रकाशित

प्रतिक्रिया