काठमाडौँ, २९ मङ्सिर : नेपाल सुपर लिग फुटबल प्रतियोगितामा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको छ ।
दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका लागि निर्णायक गोल सावित भयो । उनले रोहन कार्कीले दिएको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए ।
जितसँगै धनगढीले पाँच खेलमा तीन खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ । त्यस्तै हारसँगै चितवन भने छ खेलमा एकमा जित, दुई खेलमा बराबरी तथा तीन खेलमा हार व्यहोर्दै पाँच अङ्क बनाएको छ ।
चितवन अङ्कतालिकाको सातौँ स्थानमा रहेको छ । उक्त लिगअन्तर्गत भोलि साँझ ५ बजे हुने खेलमा झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया