काठमाडौ । मङ्सिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि जिल्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी १३ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रतिनिधिसभाका लागि चार र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि नौजना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा नेपाल मजदुर किसान पार्टी, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये प्रमुख दल सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कुँवर, एमालेका रतननाथ योगी, राप्रपाका ज्ञानेन्द्र शाही र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस्तै प्रदेशसभातर्फ क्षेत्र १ (क) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही प्रतिस्पर्धी छन् । प्रदेशसभा क्षेत्र २ (ख) मा गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई, नेमकिपाका विर्षबहादुर रावत, राप्रपाका देवप्रसाद न्यौपाने र स्वतन्त्रबाट धनबहादुर बस्नेत प्रतिस्पर्धामा छन् । बाटो, पुल, सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीजस्ता विषयवस्तुलाई नै यहाँका उम्मेदवारले प्रायः चुनावी एजेन्डा बनाएका छन् ।
प्रतिक्रिया