काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- मधेस प्रदेशको मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई संबिधानको धारा १५६ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । सोनलले लोसपासहित जनमत, माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादीका ५६ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए ।
२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससमेत ४ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरको छ । अख्तियारले प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान कार्य योजनामा गुणस्तरहीन सामाग्री प्रयोग गरी मनोमानी ढंगले कार्य संचालन गरी अनियमितता तथा हिनामिना गरेको प्रमाणित भएको भन्दै कार्यालय प्रमुख दाससमेत ४ जना र निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले चारै जनालाई जनही २ करोड ३४ लाख ९९ हजार ९४५ बराबरको बिगो माग गरेको छ । मुद्धा दायर हुनेमा सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दास, तत्कालीन इन्जिनियर शैलेन्द्र कुमार चौधरी र सव-इन्जिनियर चन्द्रकान्त चौधरी, जय धनन्जय/रब्बानी जेभी तथा उक्त जेभीको तर्फबाट अधिकार प्राप्त रब्बानी कन्सट्रक्सनका प्रोपराइटर जफिर कवारी रहेको अख्तियारले जानकारी दिएको छ ।
३- पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंको इजलासले सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको भने दुवैको मिलेमतोमा इ–सिगरेटमार्फत सुनको तस्करी गरिएको आरोप लगाइएको छ । महराविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम मुद्धा दायर भएको थियो । महरालाई पुर्पक्षको आदेशपछि सुन्धारा कारागारमा पठाइएको छ ।
४- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् । आयोगको गत आर्थिक वर्ष २०८१-८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नु पर्ने आवश्यकता औंल्याए । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गरेका थिए । आयोगका पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले भने, ‘सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ जसले पिपिएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ, त्यसैगरी जलविद्युत आयोजनाको पिपिएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पिपिए प्रतिस्पर्धाबाट गर्न आधार दर तय गर्ने र बोलपत्र सम्बन्धी कागजात तयार गर्नुहोस् ।’ नेपाल विद्युत प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दै आएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रति युनिट ५.९४ (पाँच रुपैयाँ चौरानब्बे पैसा) रहेको छ । जलविद्युत आयोजनाको पिपिए दर वर्षा र हिउँदयामका लागि प्रतियुनिट दर क्रमशः ४. ८० र ८.४० रुपैयाँ रहेको छ । नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्धन एवम् प्रोत्साहन र प्राधिकरणलाई दीगो बनाउने गरी आफ्ना क्रियाकलापमा केन्द्रित हुन आग्रह गरे ।
५- काँग्रेसमा विशेष महाधिवेशनको माग राख्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाइएको छ । कांग्रेस नेता गुरु घिमिरेले विशेष अधिवेशनको माग गर्दै ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी दिएका छन् । सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशन गर्ने बताए पनि उनी पक्षका नेताहरु मंसिर भित्र महाधिवेशन गर्न तयार नभएपछि आज विसहेश महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइएको छ । काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।
६- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई एकबर्षसम्म निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समितिको सिफारिसमा निलम्बनको निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । अध्यक्ष शाहीसहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई एक वर्षका लागि निलम्बन गरिएको छ । राप्रपाले पार्टीका स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशन मङ्सिर मसान्तसम्म गर्ने गरि म्याद थप गरेको छ भने केन्द्रीय समितिको बैठक कार्तिक २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ ।
७- पाकिस्तानले जारी टेस्ट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई ९३ रनले पराजित गरेको छ । टेस्टको चौथो दिन २७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका १८३ रन बनाएर अल आउट भएको थियो । यसअघि पाकिस्तानले पहिलो इनिंगमा ३७८ र दोस्रो इनिंगमा १६७ रन बनाएको थियो । त्यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिंगमा २६९ रन बनाएको थियो । दुवै इनिंगमा गरि १० विकेट लिएका पाकिस्तानका बलर नोमान अली खेलको प्लेयर अफ द म्याच बनेका छन् । यो जितपछि पाकिस्तानले दुई खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २० देखि रावलपिन्डीमा शुरु हुने छ ।
८- कतारले जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा जापानलाई ३ विकेटले पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा जापानले दिएको १४० रनको लक्ष्य पछाएको कतारले १९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै जापानले २० ओभरमा ४ विकेट गुमाएर १३९ रन बनाएको थियो । यो जितपछि कतारको ४ खेलमा २ अंक भएको छ । यो सुपर सिक्समा पहिलो जित हो । त्यस्तै जापानको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ । सुपर सिक्स अन्तर्गत आज सामाओ र युएइ तथा ओमान र नेपालबीच खेल हुदैछ ।
९- नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ । ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशन मङ्सिर २७ देखि पोखरामा गर्नेगरी प्रस्ताव गरेका हुन् । यसअघि बसेको पार्टीको सचिवालय बैठकले मङ्सिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
१०- प्रधानमन्त्री सुशिला कार्कीले विपिन जोशीको मृत्युको पुष्टि भएकोप्रति स्तब्ध भएको बताउदै सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनेको बताएकी छन् । बुधबार प्रधानमन्त्री कार्कीले विपिनको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले स्तब्ध भएको बताउदै अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उनको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका र उनको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख गरेकी छन् । प्रधानमन्त्री कार्कीले बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उनले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाएको कुराले सबैलाई विपिन सदा कृतज्ञ बनाएको र उनको यो वीरतापूर्ण कार्य उनको जीवनको सबैभन्दा ठूलो विरासत भएको बताएकी छन् । साथै उनले विपिनलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्ने समेत बताएकी छन् ।
११- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु केन्द्रीय कमिटीको आदेशमा मात्र पद छोड्ने बताएका छन् । आजदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफु फेसबुकको आदेशमा पद नछोड्ने बताउदै केन्द्रीय कमिटीको आदेश मान्ने स्पष्ट गरेका छन् । पार्टीमा अध्यक्षले छोड्नु पर्छ भन्ने लहड चलेको बताउदै भने- 'मैले छोड्ने की नछोड्ने भन्ने फेसबुकले भन्ने होइन यो कमिटीले भन्नुपर्छ । यो कमिटीले हट्न पर्छ भनेका बेला एकदम खुशी साथ, अध्यारो मुख लगाउन घर जले पनि जानेको छैन, केहि भए पनि जानेको छैन । मारिने अवस्था हुदा पनि अध्यारो मुख लगाउन जानेको छैन । फेरी पनि कमरेडहरुको आदेशमा, यो आदेश दिने ठाउ हो, यसको आदेशमा जुसुकै कुरा गर्न पनि तयार छु ।' ओलीले यस कमिटीमा बसेर बाहिर गएर लोकप्रियवादको पछि लागेर नहिड्न नेताहरुलाई चेतावनी समेत दिए । उनले केन्द्रीय कमिटी र महाधिवेशनले नै नेतृत्वको टुंगो लगाउने स्पष्ट गर्दै तत्काल नेतृत्व नछोड्ने बताएका छन् ।
१२- नेप्सेमा आजपनि गिरावट आएको छ । बुधबार नेप्से २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३१८ कम्पनिका ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३ अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ । आज समता घरेलु लघुवित्तको शेयरमा सबैभन्दा बढी ६.९३ प्रतिशतले बढेको छ भने एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २० करोड ५४ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १३ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।
१३- राप्रपाले सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा जेनजीका माग पुरा नभएसम्म संसद पुनर्स्थापना गर्न नहुने धारणा राखेको छ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सबैभन्दा पहिला जेनजीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, गैरदलीय स्थानीय तह, भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुन, विदेशमा रहेका नेपालीका लागि अनलाइन मतदान प्रणालीको व्यवस्था लगायतका विषय टुंगो लगाउनुपर्ने धारणा बैठकमा राखेको बताएका छन् । प्रवक्ता शाहीले सभामुख घिमिरेलाई यी बुँदाहरूमा राष्ट्रिय सहमति जुटाउन, राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउन र कार्यान्वयनको दिशामा अघि बढ्न मार्गप्रशस्त गर्न निर्णायक पहलकदमी लिनका लागि सुझाब दिएको बताउदै यी विषयको टुंगो नलागेसम्म संसद पुन:स्थापनाको कदम पूर्ण रूपमा अर्थहीन हुने आफुहरुको ठहर रहेको बताएका छन् । सभामुख घिमिरेले बोलाएको आजको बैठकमा नेकपा एमाले संसद पुनर्स्थापनाको पक्षमा उभिएको छ । एमालेका नेता महेश बर्तौलाले संसद पुनर्स्थापना गरेर संबिधान संशोधन मार्फत जेनजीका माग पुरा गर्ने र निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए ।
१४- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू आर्थिक वर्षको लागि भारतको वृद्धि प्रक्षेपण ०.२ प्रतिशतले बढाएको छ । यससँगै, भारत विश्वको सबैभन्दा छिटो बढ्दो अर्थतन्त्र बनेको छ । आईएमएफको विश्व आर्थिक दृष्टिकोण वृद्धि प्रक्षेपण प्रतिवेदन अनुसार, उच्च अमेरिकी भन्सार दरहरूको बावजुद, आर्थिक वर्ष २०२५-२६ मा भारतको वृद्धि दर ६.६ प्रतिशत हुने अनुमान गरिएको छ । अमेरिकाले भारतमा ५० प्रतिशत भन्सार शुल्क लगाएको छ, जुन ब्राजिल बाहेक विश्वमा सबैभन्दा उच्च हो । यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको वृद्धि दर ७.८ प्रतिशत थियो । प्रतिवेदनले विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूको पनि उल्लेख गरेको छ । अनुमान अनुसार, यस आर्थिक वर्षमा चीनको वृद्धि दर ०.२ प्रतिशतले घटेर ४.८ प्रतिशत हुन सक्छ । अमेरिकी वृद्धि दर गत वर्षको तुलनामा ०.८ प्रतिशतले घट्ने र २.० प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ ।
१५- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए । उनले भने- 'अबको माओवादीको लाइन भनेको चुनाव हो ।' साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले स्पष्ट पारे- 'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।' कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए । उनले भने- 'अहिले मेरो जेनजी युवाहरुसँग पनि छ्लफल भैरहेको छ । युवाहरुले माओवादी सहि रहेछ भन्ने भुझ्नु भएको छ ।' उक्त भेटघाटमा उनले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिएका थिए ।
१६- नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको २ लाख ४८ हजार ९ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ४८ हजार ५०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले घटेर ३२४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३३२५ मा कारोबार भएको थियो ।
१७- क्रिस्टियानो रोनाल्डोले अर्को नयाँ किर्तिमान बनाएका छन् । रोनाल्डो विश्वकप छनौटका खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा दुई गोल गरेसँगै यस्तो किर्तिमान बनाएका हुन् । रोनाल्डोले अहिलेसम्म विश्वकप छनौटमा कुल ४१ गोल गरेका छन् । रोनाल्डो ५१ खेलमा ४१ गोल गर्दै यो नयाँ किर्तिमान कायम गरेका हुन् । त्यस्तै यो दुई गोलसँगै रोनाल्डोले राष्ट्रिय टिमका लागि अहिलेसम्म १४३ गोल गरेका छन् । जुन अन्तर्राष्ट्रिय फुटबलमा सबै भन्दा बढी हो । त्यस्तै रोनाल्डोले आफ्नो क्यारियरमा कुल गोल संख्या ९४८ पुर्याएका छन् । रोनाल्डोपछि ग्वाटेमालामा कार्लोस रुइजले ३९ गोल गरेका छन् । त्यस्तै लियोनेल मेसीले विश्वकप छनौटमा ३६ गोल गरेका छन् । गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा रोनाल्डोले २ गोल गरेपनि पोर्चुगल २-२ गोलको बराबरीमा रोकिएको थियो । यो बराबरीपछि समुह एफमा रहेको पोर्चुगलको ४ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै हंगेरीको ४ खेलमा ५ अंक भएको छ र समुहमा दोस्रो स्थानमा छ ।
१८- अफ्रिकी क्षेत्रबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ९ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा सेनेगल, दक्षिण अफ्रीका र आइभरी कोष्ट विश्वकपमा छनौट भएसँगै अफ्रिकी क्षेत्रको छनौट पुरा भएको हो । जसमा यी तीन देश बाहेक मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे रहेका छन् । केप भर्डे पहिलो पटक विश्वकपमा छनौट भएको छ । त्यस्तै अफ्रिकी क्षेत्रबाट एक देशले खेल्न पाउने इन्टर कन्टिनेन्टल छनौट खेलका लागि क्यामरुन, डिआर कंगो गाबोन र नाइजेरियाले प्लेअफ खेल्ने भएका छन् । अर्को महिना हुने प्लेअफबाट एक देश छानिने छ जसले इन्टर कन्टिनेन्टल छनौट खेल्ने छ । फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।
१९- विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने देशहरूमा नेपाल छैटौँ राष्ट्र बनेको छ । नेपालको यस उपलब्धिलाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गोब्रेयेसस र विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यकारी प्रमुख डा. क्याथरिना बोहेमले श्रीलङ्कामा जारी विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७८ औं बैठकको अवसरमा रूबेला निवारणको अवार्ड प्रदान गरेका छन् । स्वास्थ्य मन्त्रालयले यस उपलब्धि प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याएकोमा सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा विभाग, गाभी, डब्लुएचओ, युनिसेफ लगायत सम्पूर्ण सहयोगी निकायहरू, राष्ट्रिय खोप सल्लाहकार समिति एवं सम्बन्धित समितिहरू, विज्ञहरू र सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै मन्त्रालयले यसले बालस्वास्थ्यको क्षेत्रमा थप उत्साहित र जिम्मेवार भई कार्य गर्ने हौसला मिलेको बताउदै आगामी दिनहरूमा जनस्वास्थ्यको क्षेत्रमा थप उपलव्धीमूलक कार्यहरू गर्न प्रतिवध्दता व्यक्त गरेको छ ।
२०- विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अमेरिकी उच्च पदस्थ अधिकारी र विभिन्न दातृनिकायसँग छलफल गरेका छन् । यसक्रममा अर्थमन्त्री खनालले अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र अमेरिकाबीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल गर्नुका साथै नेपाल ट्रेड प्रेफेरेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरेका छन् । त्यस्तै अर्थमन्त्री खनालको अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने लगायत आपसी हितका विषयमा संवाद भएको थियो । त्यसै गरी अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो। साउदी फन्डका प्रतिनिधिले नेपालमा सिंचाई र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराएका थिए । जापान सहयोग नियोगका प्रतिनिधिसँग विपी राजमार्ग पुनर्स्थापना, नागढुँगा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ । त्यस्तै अर्थ मन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया प्रसान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा संचालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरेका थिए । सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदान प्रदान भएको थियो । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।
प्रतिक्रिया