×

मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइयो

images


हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ । 

    यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन छ । चार÷पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ । छेटु मेला सकिएपछि मितेरी लगाउने चलन छ । गुफामा पुगेर आमा समूहको सक्रियतामा कार्यक्रम आयोजना गरिन्छ । मरेपछि पनि छिटो भेटिने विश्वासका साथ मितेरी तथा गुफामा पूजाआजा गर्ने चलन रहेको स्थानीय माया गुरुङले बताउनुभयो । 

    मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित मिलेरेपा गुफामा लामाले ग्रन्थ पढेर पूजापाठ गरी मितेरी लगाउने गरिएको स्थानीय कर्मा छिरिङ गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन सात गाउँ वा मनाङ ङिस्याङ गाउँपालिकाको सबै वडाका स्थानीयको सहभागितामा पर्व मनाइँदै आएको छ । छेटुमा मेला हेर्न र मितेरी गाँस्नका लागि जिल्लावासीको उल्लेख्य सहभागिता रहने गरेको छ । 

    नाचगानसहित यो पर्व मनाउने चलन रहेको छ । गुफामा नाचगानसहित लामाले ग्रन्थ वाचन गरी लुगाकपडालाई पुजेर सकाएपछि मितेरी लगाउने कार्य प्रारम्भ हुने गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “लामाले पुजा सकाएपछि पुज्न राखेको दुई जनाको कपडा उचाल्दा जसको कपडा भागमा पर्छ, उसैसँग छेटु वा मितेरी लगाउने गरिन्छ ।” भगवान्लाई पुजेर नै मितेरी गाँसेर एकापसको सम्बन्ध जोडिन्छ । यसरी मितेरी साइनो गाँसिदा सम्बन्धमा प्रगाढता कायम रहने उनीहरुको विश्वास छ । 

    मित्रताको प्रतीकका रुपमा मिलेरेपा गुफालाई लिइन्छ । परापूर्वकालमा राजाले सिकार खेल्दै जाँदा मिलेरेपासँग भेट भएर हत्या, हिंसाको अन्त्य गर्न सफल भएको किम्वदती छ । 
––– 

शनिबार ३० असार २०८० १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया