×

दोस्रो त्रैमासिक अवधिमा निर्जीवन बीमा कम्पनीको नाफा १ अर्ब ९८ कारोडभन्दा बढी : शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि

images

 काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीहरुले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

उक्त वित्तीय विवरण अनुसार १८ ओटा कम्पनीहरुले चालू आवको दोस्रो त्रैमाससम्ममा कुल रू। १ अर्ब ९८ करोड नाफा कमाएका छन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ४ दशमलव ४४ प्रतिशत घटेको हो । 

गत आवको दोस्रो त्रैमाससम्ममा १८ ओटा कम्पनीहरुले रू। २ अर्ब ८ करोड नाफा कमाएका थिए । वित्तीय विवरण सार्वजनिक गरेका १८ ओटा कम्पनीमध्ये सबैभन्दा नाफा शिखर इन्स्योरेन्स कम्पनीले कमाएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू। २४ करोड ३० लाख नाफा कमाएको हो । 

यो नाफा गत आवको दोस्रो त्रैमासको तुनलामा भने सामान्य वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू। २४ करोड १४ लाख नाफा कमाएको थियो । 

त्यसैगरी, सर्वाधिक नाफा कमाउने दोस्रो कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । उक्त कम्पनीले रू। १९ करोड ४३ लाख नाफा कमाएको छ । यस कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४१ प्रतिशतले वृद्धि भएको छ । 

त्यसैगरी, प्रतिशतका आधारमा सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्स कम्पनीको नाफा ११८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू। २ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू। ६ करोड पुगेको हो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न सहयोग पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू। ५ करोड २६ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू। १० करोड ९८ लाख पुगेको हो । 

त्यसैगरी, प्रतिशतका आधारमा भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नेको इन्स्योरेन्स कम्पनीको नाफा ४३ दशमलव १० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू। २६ करोड ४० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू। १५ करोड २ लाखमा झरेको हो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घटेको देखिन्छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू। ४३ करोड आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू। २५ करोड ४७ लाखमा झरेको हो । यी १८ ओटा कम्पनीमध्ये सबैभन्दा कम नाफा अजोड इन्स्योरेन्स कम्पनीले रू। ४ करोड ६३ लाख कमाएको हो । 

मङ्गलबार ३ फागुन २०७८ १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया