×

विदेशिँदै गरेका लाखौं युवाहरुको प्रश्नको सामना गर्न म राजनीतिमा होमिएको हुँ : विनोद चौधरी

images

उद्योगी तथा व्यवसायी विनोद चौधरीले प्रत्यक्ष रुपमै आफू राजनीतिमा होमिनुको कारण प्रष्ट्याएका छन् । शुक्रबार राजधानीमा चार्टर्ड एकाउन्टेन्टहरूको संस्था दी एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (एक्यान)द्वारा आयोजित दीगो आर्थिक विकास विषयक सम्मेलन कार्यक्रममा बोल्दै व्यवसायी चौधरीले मुलुकको आर्थिक विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जनाका लागि आफू औपचारिक रुपमै राजनीतिमा होमिएको बताए ।

 

'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित नै छु । पैसाका लागि राजनीति गर्नुपरेको होइन र गर्दिन पनि । निजी क्षेत्रबाटै छ हजार भन्दा माथिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छु आखिर किन राजनीतिमा होमिए ?' व्यवसायी चौधरीले भने, 'अरु देशमा विकास निर्माण तथा सुशासनमा छुट्याइएको बजेट पुग्दैन । तर हाम्रो यस्तो देश छ जहाँ छुट्याएको, भएको बजेट पनि खर्च गर्न सक्दैनौं । आखिर किन ? ५० ओै लाख युवा कि त गोरखपुर हुदै कि त त्रिभुवन विमानस्थल हुँदै रोजीरोटीका लागि  बाहिर गइरहेका छन् ।  ती युवाहरुका लागि मैले पनि केही गर्न सकेको छैन । मौन रुपमा ती युवाहरुले मलाई पनि प्रश्न गरिरहेका छन् । हो, ती युवाहरुको प्रश्नको सामना गर्न म राजनीतिमा होमिएको हुँ' चौधरीले भने ।

व्यवसायी चौधरीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नवलपरासी १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । चौधरीले सत्ता  गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट प्रत्यक्षमा उम्मेदवारी दिएका हुन् ।

व्यवसायी तथा प्रतिनिधिसभाका उम्मेदवार चौधरीलाई एक्यानले कर्पोरेट एक्सिलेन्सी अवार्डबाट समेत सम्मान गरेको छ । ratopati

शुक्रबार​ २८ असोज २०७९ ०१:२२ PM मा प्रकाशित

प्रतिक्रिया