×

पर्यटकीयस्थल टोड्केमा शिद्धबाबा पार्क

images


म्याग्दीको पर्यटकीय स्थल टोड्केमा शिद्धबाबापार्क निर्माण गरिएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्र समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकहरुलाई लक्षित गरि रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो । 

पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तरगत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका वडा नं। ५ झिँको शिद्ध सामुदायिक वनमा उक्त पार्क निर्माण गरिएको हो । 
 
विभागको रु ७० लाख र गाउँपालिकाको रु ३१ लाख गरि रु १ करोड १ लाख लागत अनुमानको उक्त योजनामा खुसीहोम विल्डर्सले रु ६६ लाख ३२ हजार ८७ लाखमा ठेक्का सम्झौता गरेर पार्कको पूर्वाधार निर्माण गरेको हो । पार्क निर्माणको ७५ प्रतिशत भौतिक प्रगति भएको रघुगंगा गाउँपालिकाका इन्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार, पार्कमा ४ वटा विश्रामस्थल, एक वटा फाउन्टेन र एक वटा भवन ९घर० निर्माण गरिएको छ । जङ्गलको बिचमा खाली रहेका ठाउँहरुलाइ उपयोग गरि पदमार्ग समेत निर्माण गरिएको छ । पार्कभित्रको पदमार्गमा ढुंगाको सिँढी संगै ढुंगा छपाउने तयारी गरिएको छ । पार्कभित्र मात्रै १८२ मिटर पदमार्ग निर्माण हुनेछ । 

झिँ गाउँदेखि पार्कसम्म जाने पदमार्ग समेत निर्माण गरिएको छ । महेन्द्र मावि झिँ देखि २४० मिटर रेलिङ सहितको पदमार्ग निर्माण सम्पन्न भैसकेको छ । पार्कभित्र ढुंगाका छपनी विच्छाउने, पार्क परिसरमा फुल प्रजातिका विरुवा रोपण र पार्कसम्म जाने पदमार्ग अन्तरगत भिरकुनामा प्रतिक्षालय बनाउने काम बाँकी रहेको वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो ।

‘‘झिँदेखि पार्क हुँदै टोड्के मोटरबाटो र पदमार्ग दुबैले जोडिएको छ, पार्कका पूर्वाधार बनेसंगै पर्यटकहरु थप आकर्षित भएका छन्, जंगलभित्रको पार्क शान्त वातावरणमा मनोरञ्जन लिनेहरुको लागि आकर्षणको केन्द्र बन्न थालेको छ’’–वडा अध्यक्ष शेरमञ्जाले भन्नुभयो । झिँलाई रघुगंगाले साँस्कृतिक गाउँ घोषणा गरेको छ । गाउँमा पर्यटक लोभ्याउनका लागि साँस्कृतिक पार्क समेत निर्माण सुरु गरिएको छ । यस क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको सुविधाको लागि झिँमा होमस्टे ९घरवास० र टोड्केमा निजी क्षेत्रबाट रिसोर्ट सञ्चालनमा रहेको छ । 

समुद्री सतहदेखि दुई हजार ३८० मिटरको उचाईमा अवस्थित टोड्केबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका आधा दर्जन हिमालहरुलाई अवलोकन गर्न सकिन्छ भने सुर्योदय, गँुरासे जंगल, पहाडी भुगोल र ग्रामिण मगर संस्कृतीको अवलोकनका हिसावले महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित छ । रघुगंगा गाउँपालिकाको अगुवाईमा टोड्केमा फुटवल समेतको बहुउद्देश्यीय हाईअल्टीच्युट खेल मैदान निर्माण थालनी भएको छ । टोड्केमा वनभोज पार्क, टोड्के तपोभुमी शिवालय घेरावार, पार्क कम्पाण्ड, शौचालय र खानेपानी निर्माण लगायतका पूर्वाधारहरु निर्माण समेत गरिएको छ । 

बुधबार २९ भदौ २०७९ ०१:४० PM मा प्रकाशित

प्रतिक्रिया