×

कविका रचनामा ‘भानु’

images

बागलुङ, ३० असार (रासस) :


        ‘खुबै आनन्दमा हुन्छु
        दुई–नौ असार आउँदा
        श्रद्धाले शीर निहुरिन्छ
        तिम्रा कीर्ति सुनाउँदा’

२०९औँ भानु जयन्ती समारोहमा स्रष्टाहरुले आदिकविको तस्बिरमा फूल मात्र चढाएनन् शब्दश्रद्धा पनि टक्राए । प्रस्तुत कवितांशमार्फत शब्दकर्मी मेघराज पाण्डेले भानु जयन्ती अर्थात् असार २९ लाई गौरवपूर्ण दिनका रुपमा लिनुभयो ।

‘श्रद्धासुमन’ कविता पाठ गरेपछि पाण्डेले आदिकविप्रति राज्यले दर्शाएको सम्मान स्तुत्य रहेको बताउनुभयो । “भानु जयन्तीमा सार्वजनिक बिदा दिएर गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूतिको मूल्यबोध गरेको छ”, उहाँले भन्नुभयो ।

कवि धनराज सापकोटा ‘जिज्ञासू’ले सरकारी कार्यालयमा हुने ढिलासुस्तीप्रति कटु प्रहार गर्दै भानुभक्तले लेखेको ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ कविताको प्रसङ्ग जोड्दै ‘भानु र भ्रष्टचार’ कविता सुनाउनुभयो ।

        ‘घुस्याहाहरु घुस माग्छन्
        मानौँ बिरामीले जुस मागेझैँ 
        लाग्छ घुस माग्नु 
        उनीहरुको संवैधानिक अधिकार हो’

    कवि सापकोटाले घुस्याहा प्रवृत्तिमाथि व्यङ्ग गर्नुभयो । आदिकवि भानुभक्तले कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्दाताका सरकारी अड्डामा जकडिएको ‘भोलिवाद’का विरुद्ध कविता लेख्नुभएको थियो ।

    आदिकविलाई ‘धु्रवतारा’को संज्ञा दिएर कवि गोविन्द सुवेदीले रचना सुनाउनुभयो ।

        ‘भानु तिमी आदिकवि हौ
        तर तिमी अन्त्यकवि होइनौ
        किनकी तिम्रो अन्त्य कदापि हुन सक्दैन
        तिमी अमर, अजर र अटल छौ
        सदा चम्किरहने
        धु्रबतारा जस्तै’

    सिर्जनाका मार्फत भानुभक्तको गुणगान गाउने लहरमा कवि कोपिला कँडेल पनि जोडिन आइपुग्नुभयो । कवि कँडेलले आजको सामाजिक परिवेशमा पनि भानुभक्तका रचना उत्तिकै सान्दर्भिक रहेको धारणा राख्नुभयो ।

        ‘कवितामा छन्द लिएर आउ
        धर्म, संस्कृति र संस्कारको गन्ध लिएर आउ
        जीवन र जगत्को मर्म बुझाउन आउ
        कर्तव्य, आचरण र मानवीय कर्म सिकाउन आउ
        भानु तिमी फेरि आउ’

बधुशिक्षामा विभेद झल्किएको भनेर आलोचना हुने गरेपनि आदिकविका अरु कृति अमूल्य रहेकामा कवि कँडेलले उल्लेख गर्नुभयो । उहाँले आदिकवि भानुभक्तद्वारा भावानुवाद गरिएको रामायण दोहो¥याइ–ते¥याइ पढेको बताउनुभयो । बुधबारको समारोहमा कँडेलले रामायणका केही श्लोकसमेत सुनाउनुभयो ।

कवि सापकोटाले पहिलेपहिले घरघरमा रामायण राख्ने र वाचन गर्ने परम्परा रहेकामा अहिले त्यो हराउँदै गएको बताउनुभयो । “अहिले भानु जयन्तीमा कतैकतै रामायण वाचनको प्रतियोगिता हुने गरेको सुनिन्छ, तर पहिलेझैँ घरमा रामायण पाठ गर्ने चलन लगभग हराइसक्यो”, उहाँले भन्नुभयो । 

कवि सापकोटाले भाषिक एकीकरणको श्रेय आदिकवि भानुभक्तलाई जाने उल्लेख गर्नुभयो । हिन्दी र संस्कृत भाषाको दबदबा रहेका बेला बाल्मिकी रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आदिकविले महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ छ ।

 धवलागिरि साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय र नारी साहित्य समाजद्वारा आयोजित समारोहमा आदिकवि भानुभक्तमाथि वक्ताहरुले विचारसमेत राखेका थिए ।

साहित्यसेवी विश्वनाथ रेग्मीले भानुभक्तद्वारा रचित कविता शिक्षाप्रद र प्रेरणादायी भएको टिप्पणी गर्नुभयो । उहाँले संस्कृत रामायणलाई नेपालीमा भावानुवाद गरेर आदिकविले भाषा, साहित्य र संस्कृतिप्रति सर्वसाधारणलाई अभिप्रेरित गरेको बताउनुभयो । 

 तनहुँको चुँदीरम्घा गाउँमा जन्मनुभएका आदिकवि गुरुशिक्षा लिने क्रममा बागलुङ नगरपालिका–३ मुल्पानीमा आएको रेग्मीले बताउनुभयो । “भानुभक्त यहाँ आएर पण्डित बद्रीदत्त पन्तको गुरुकुल आश्रममा पढेको र गुरु दक्षिणास्वरुप तनहुँको खेत दिएको प्रमाणित हुने कागजात हामीसँग सुरक्षित छन्”, उहाँले भन्नुभयो । 

धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले भानुभक्त नेपाली साहित्यका विशिष्ट प्रतिभा भएको बताउनुभयो । नेपाली भाषा र साहित्यको उन्नयनमा आदिकविले पु¥याएको योगदानमाथि जति चर्चा गरे पनि कम हुन जाने उहाँको भनाइ छ । 

अध्यक्ष रोशनले वर्षौँ अघिदेखि प्रतिष्ठानको अगुवाइमा भानु जयन्ती मनाउने थिति बसालिएको उल्लेख गर्नुभयो । विद्यामन्दिर पुस्तकालयको प्रेक्षालयमा चलेको समारोहमा छोटो कविता सुनाएर अध्यक्ष रोशनले नै २०९औँ भानु जयन्तीको मैजारो गर्नुभएको थियो । 

बिहीबार ३० असार २०७९ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया