×

‘सकेको गर्छु, कर्णालीका जनतालाई झुटो बोल्दिन’ ‘सदनमा पनि भ्रष्टाचार गर्नेको भण्डाफोर गर्छु’

images

काठमाडौँ : जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाही पछिल्लो समय चर्चामा छन् । उनी खासगरि सामाजिक सञ्जालबाट उदाएका युवा नेता हुन् । पछि राप्रपा प्रवेश गरेर उनले राजनीतिक उडान भरे । त्यो उडानकै क्रममा उनी अहिले जुम्लाबाट प्रतिनिधिसभा सांसद भएका छन् । उनी सांसद बन्नु संयोग मात्रै होइन, कर्णालीका धेरै जनता र मतदाताको भरोसा पनि छ । यसै विषयमा बदलिदो समयको राजनीतिक चर्चा र परिचर्चाबारे युवा सांसद ज्ञानेन्द्र शाहीसँग सुशील पाण्डेले गरेको गरेको कुराकानीको सम्पादित अंश :

एक युवा, जो चर्को स्वरले एजेन्डा उठाएर जनताको प्रतिनिधि अर्थात माननीय बन्नु भयो कस्तो लागेको छ ?
जनताले एउटा निर्णायक रूपमा जिम्मेवारी दिनु भएको छ । अब आफ्नो जिम्मेवारी पुरा गर्नु छ । जनताका आशाहरू पुरा गर्नु छ ।


हिजोसम्म सडकमा अभियन्ताको रूपमा आवाज उठाउनु हुन्थ्यो आज प्रतिनिधि हुँदा के फरक पाउनु भयो ?
केही फरक छैन । सडक र सदन दुवैलाई नीतिगत रूपमा काम गर्नु पर्दछ । आज तमाम युवाहरू रोजगारी नगाएर विदेशिनु परेको छ । त्यो सबै भ्रष्टाचारले गर्दा हो । त्यसलाई रोक्नु पर्दछ । भूमिका फरक होला त र काम एउटै हो । यसको लागि म जुम्लाको भए पनि मेरो आवाज जुम्लाको मात्र हैन । हरेक पिछडिन र विदेशीको आवाज उठाउनेछौँ, सदनभित्र बसेर जसले भ्रष्टाचार गर्दछ त्यसको भन्डाफोर गर्दछौँ । सदनमा गएर काम गर्न सकिन्छ । किनभने लोकतन्त्र धनेको सही छ भनेर दुईचार जनाले सही भनेर ताली बजाउनु मात्र हैन । अहिले म मात्र हैन म जस्ता धेरै युवा साथीहरू आउनु भएको छ । जसले आजको विज्ञान र प्रविधि बुझेका छन् । अहिलेको समस्या बुझेका छन् यसमा हाम्रो सहकार्य हुन्छ र काम हुन्छ ।

सबै युवाहरू एक भएर कसरी बस्न सक्नु हुन्छ त ?
उमेर बिचार दुवैले एउटा एलायन्स बनाएर काम गर्ने छौँ । किनभने भ्रष्टाचार मुक्त देश नबनाई यो देशको विकास हुँदैन । हामीले धेरै युवाहरू खाडीबाट बाकसमा फर्केको देखेका र सुनेका छौँ अबका दिनमा त्यस्तो नहोस् । हामीले यस्तो नीति बनाऊ जसमा युवाहरूले जागिर पाउन् । युवाहरूको भाग्य र भविष्यको निर्याण यही देशमा होस् ।

यी कुराहरू सम्भव होला त ?
संसारमा नसकिने केही छैन । इमानदारिता र हिम्मत छ भने सबै सम्भव छ । भने यो सामान्य कुरा हो ।

तपाइलाई जनताले धेरै विश्वासका साथ जिताएका छन् त्यो विश्वासलाई कसरी टिकाउनु हुन्छ त ?
म त्यो आशालाई निराशामा परिणत गर्दिन । म सँग चुनौतीहरू धेरै छन् । सम्भवतः सबै भन्दा सानो उमेरको कर्णालीको पहिलो उम्मेदवार हुँ । त्यहाँका प्राकृतिक श्रोतलाई कसरी नागरिकले उपयोग गर्न पाउने त्यो मेरो प्राथमिकता हुने छ । मेरो कणाली आज पनि दुनियाँ फोर जीमा पुग्दा हाम्रोमा टू जी नै छ । टेलिसञ्चार पुर्‍याउनु पर्दछ । जलविद्युतको सम्भावना धेरै छ । सडकको निर्माण उत्पादन खाद्य सामग्री को उचित बजार र मूल्य दिलाउनु छ । गर्न सकेको काम यो गरे है भन्छु र गर्न नसकेको यो चाहिँ गर्न सकिन है दाजुभाइ भन्छु । लुकाउनु पर्ने केही छैन । जनतालाई झुटो बोल्न सक्दिनँ ।

दीर्घकालीन रूपमा समस्या समाधान गर्नुपर्ने नीति बनाउनु पर्याे नि ?
हामी नीति निर्माण गर्ने कुरामा हामी उत्कृष्ट बनाउने छौँ । जस्तो आर्थिक नीतिको कारणले युवाहरू बेरोजगार भएका छन् । शिक्षा नीति यस्तो शिक्षाले हामीले भोलि कसरी देश विकास गर्ने छौ त त्यो नीति बनाउने छौँ । स्वास्थ्य नीति बनाउने छौँ ।

के अब ज्ञानेन्द्र शाही मन्त्री बन्दै छन् ?
अहिले हामी सरकारमा जाने कुनै नीति छैन । अब नयाँ सरकार बन्ने छ । जनताले दिएको जनमत भनेको राम्रो नीति बनाउने हो ।

मङ्गलबार २७ मंसिर २०७९ ०५:०० PM मा प्रकाशित

प्रतिक्रिया