×

बुढानीलकण्ठ काण्डपछिको उपचार सकेर देउवा आज स्वदेश फर्कँदै: थाई एअरवेजबाट मध्याह्न अवतरण हुने, महाराजगञ्ज सर्ने तयारी

images

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब साढे पाँच महिना लामो विदेश बसाइ र स्वास्थ्य उपचार पूरा गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ। गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएका देउवा सिंगापुर र हङकङमा लामो समयको उपचार प्रक्रिया पूरा गरी थाइल्याण्ड हुँदै स्वदेश फर्कन लाग्नुभएको हो। 

गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा 'जेनजी (Gen Z)' आन्दोलनका क्रममा भएको आक्रमण र आगजनीमा परी घाइते हुनुभएका देउवा सोही घटनाबाट सिर्जित स्वास्थ्य जटिलताको फलोअप र उपचारका लागि विदेशमा रहनुभएको थियो। बूढानीलकण्ठ निवास क्षतिग्रस्त भएपछि देउवा दम्पती अब महाराजगञ्जको चुनदेवीस्थित भाडाको निवासमा बस्ने तयारी छ। 

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माका अनुसार देउवा थाइल्याण्डको बैंककबाट थाई एअरवेजको उडान नम्बर टीजी ३१९ मार्फत आज दिउँसो १२:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ। उहाँको स्वागतका लागि कांग्रेसको संस्थापनइतर समूहले विमानस्थलमा फूलमाला, अबिरजात्रा, बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य तयारी गरेको छ। सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रमलाई विशेष र व्यवस्थित बनाउन आन्तरिक समन्वय गरिएको छ। 

विमानस्थलमा देउवालाई स्वागत गर्न कांग्रेस संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितका शीर्ष नेता, सांसद तथा हजारौँ कार्यकर्ताहरू विमानस्थल पुग्ने तयारीमा छन्। 

देउवा निकट कांग्रेस नेता डा. प्रकाशशरण महतले भन्नुभयो, "शेरबहादुर दाइ आउने कुरा निश्चित भएको छ। यो समयमा पार्टीलाई उहाँको आवश्यकता छ र उहाँको आगमनले पार्टीको समग्र राजनीतिक परिस्थिति र आन्तरिक वातावरणलाई थप सुदृढ बनाउन मद्दत पुग्नेछ।" 

विदेशमै रहेका बेला देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरे पनि सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरिसकेको पृष्ठभूमिमा यो फिर्तीलाई निकै चासोका साथ हेरिएको छ। देउवा स्वदेश फर्किएलगत्तै साउन २९ देखि ३१ गतेसम्म सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको तीनदिने विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ करिब ५ हजार प्रतिनिधि सहभागी हुँदैछन्। 

बिहीबार २८ साउन २०८३ ०७:०७ AM मा प्रकाशित

प्रतिक्रिया