×

  सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु

images

 
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ ।

    प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक हतियार बोकेका आतङ्ककारीको एक समूहले बुधबार बिहान लुकेर आक्रमण गर्दा सैनिक जवानले वीरगति प्राप्त गरेका सेनाको आन्तरिक सञ्चार तथा जनसम्पर्क कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सेनाले गरेको कारबाहीमा  पाँच जना आतङ्ककारी पनि मारिएका छन् । 

    पाकिस्तानी सेनाले सुरक्षा बल  बलुचिस्तानसहित पाकिस्तानको  शान्ति सुव्यवस्थामा खलल पार्ने शत्रुका सबै घृणित प्रयासलाई विफल पार्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ  । 
जातीय द्वन्द्वमा तेह्र जना मारिए

    यसैबीच, पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा दुई जनजातिबीच जारी झडपमा परी  मृत्यु हुनेको सङ्या १३ पुगेको छ  ।  बुधबार थप दुई जनाको मृत्यु भएको हो । हालसम्म ७४ जना घाइते भएका छन् । कुर्रममा लगातार छैटौँ दिन पनि जारी झडपमा थप पाँच जना घाइते भएका दैनिक समाचारपत्र डनलाई उद्धृत गर्दै एएनआईले जनाएको छ । 

    जिल्लाको बोसेहरा डाँडर क्षेत्रमा गत साता झडप सुरु भएको हो । जातीय द्वन्द्व अहिले खार कल्ले, बलेशखेल, पेवार, गिदु, तेरी मेङ्गल, कर्मान पारा चम्कनी, मकबल, कुञ्ज अलिजाईलगायत जिल्लाका अन्य भागमा फैलिएको छ । 

    हिंसात्मक झडपका कारण सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रका जनताले खाद्यान्न, औषधि र इन्धनको अभाव भोग्नुपरेको छ । शैक्षिक संस्था बन्द हुँदा जनजीवन प्रभावित भएको छ । कुर्रमका सहायतक कमिश्नर सैयद सैफुल इस्लाम शाहले जनजातिका अग्रजहरूसँग शान्ति बहाली तथा झडप रोक्ने सम्बन्धमा सहकार्यको  प्रयास भइरहेको बताएका छन् । 
–––

बिहीबार २८ असार २०८० ०४:२८ PM मा प्रकाशित

प्रतिक्रिया