काठमाडौं। रंगहरुको पर्व होली आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ।
आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने पर्व होलीका अवसरमा आज काठमाडाैंलगायत देशका विभिन्न शहरमा होली कार्यक्रमको आयोजना गरिएको छ। केही वर्षदेखि होली खेल्ने परम्परा सभ्य पनि बन्दै गएको छ।
फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। तराई क्षेत्रमा भने भोली होली मनाइँदै छ। होली पर्व अथवा फागु पूर्णिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने हिन्दू संस्कृतिको प्रमुख उत्सव हो।
हिन्दू संस्कृति अनुसार होलीको इतिहास त्रेता युग सँग जोडिएको छ। त्रेता यूगमा भगवान विष्णुका भक्त प्रह्लादसँग जोडिएको होली हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएको पौराणिक कथन छ।
त्यसैले होली खेल्ने दिनको अघिल्लो रात होलीका दहन गरिन्छ। होलीका दहन पछि बिहानै देखि विभिन्न रंगका अविर आपसमा स्नेहका साथ लगाएर होली खेल्ने गरिन्छ।
यसका साथै फाल्गुण कृष्ण पूर्णिमाका दिन मनाइने होलीका दिनबाट वसन्त ऋतुको आगमन हुने भएकाले यसलाई वसन्तउत्सवकारुपमा पनि मनाउने गरिन्छ।
सबै उमेर समूहले उत्सवका साथ मनाउने होलीमा रंगहरुका साथै नाचगान र रमाइलो गर्ने पनि चलन छ। होलीलाई पुरानो कटुता समेत समाप्त गरेर आपसमा स्नेह र सद्भाव प्रारम्भ गर्ने सुखद दिनकारुपमा समेत लिइन्छ।
पौराणिक कथा अनुसार हिरण्यकश्यपु नामक राक्षस राजा थिए । उनीहरुको प्रह्लाद नामको छोरा थिए र राजाको होलिका नामकी एक बहिनी थिइन् । शैतान राजालाई ब्रह्माको आशीर्वाद भएको विश्वास गरिन्छ। आशीर्वाद जस अनुसार कुनै मानिस, पशु वा हतियारले उसलाई मार्न सक्दैन। उनले आफ्नो राज्यलाई परमेश्वरको सट्टा उनको उपासना गर्न आदेश दिए।
यसपछि सबैले हिरण्यकश्यपुको पूजा गर्न थाले तर प्रह्लादले आफ्नो पिताको पूजा गर्न अस्वीकार गरे किनभने प्रह्लाद भगवान विष्णुका सच्चा भक्त थिए। राक्षस राजा हिरण्यकश्यपुले आफ्नो छोराको अवज्ञा देखेर आफ्नी बहिनी सहित प्रह्लादलाई मार्ने प्रस्ताव राखे। उनले आफ्ना छोरा प्रह्लादलाई आगोमा होलिकाको काखमा बसाए, जहाँ होलिका जलेर भगवान विष्णुको आशीर्वादले प्रह्लाद सकुशल बाहिर आए ।
त्यसबेलादेखि अहिलेसम्म मानिसहरूले फागुन शुक्ल पूर्णिमालाई होलिकाको नाममा आस्थामाथि सद्भावको विजयको रूपमा मनाउन थालेका छन्।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।
प्रतिक्रिया