×

मनाङमा बुस्टर खोप अभियान प्रभावित

images

लमजुङ ।मनाङको नार्पाभूमि गाउँपालिकामा कोरोनाविरुद्धको बुस्टर डोज खोप कार्यक्रम प्रभावित भएको छ । अत्यधिक चिसो बढेका कारण अधिकांश स्थानीय गाउँमा नभएकाले खोप कार्यक्रम पनि प्रभावित भएको हो ।

जिल्लाका अन्य स्थानिय तहमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउने कार्यक्रम जारी रहे पनि नार्पाभूमिमा भने अहिलेसम्म खोप अभियान शुरु हुन सकेको छैन । निरन्तरको हिमपात र अत्यधिक चिसोका कारण गाउँपालिकाका अधिकांश स्थानीय घर छोडेर अन्यत्र गएका छन् । ‘सेवाग्राही नभएपछि स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पनि छैनन्’, स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्य भन्नुहुन्छ– ‘भौगोलिक विकटता, निरन्तर हिमवर्षासँगै सम्बन्धित ठाउँमा पुगेर तत्कालै खोप लगाउन सक्ने अवस्था छैन ।’

कार्यालय प्रमुख आचार्यका अनुसार जिल्लाका नार्पाभूमिबाहेक अन्य तीन स्थानीय तहमा भने खोप अभियान जारी रहेको छ । मनाङमा १ हजारभन्दा बढीले कोरोनाविरुद्धको बुस्टर डोज लगाइसकेका छन् । उहाँका अनुसार जिल्लाका अन्य स्थानिय पनि चिसोका कारण अन्यत्र गएको हुँदा थोरै संख्यामा खोप लगाइएको हो ।

उहाँका अनुसार यसअघि जिल्लाका ४ हजारभन्दा बढीले कोरोनाविरुद्धको पहिलो खोप लगाएका थिए । पहिलो चरणमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकहरु र १२ देखि १८ वर्ष उमेरसम्मका विद्यार्थीलाई पनि पहिलो चरणको खोप लगाइसकिएको प्रमुख आर्चायले बताउनुभयो ।

मनाङमा शुरुको चरणमा दुई डोज लगाउनुपर्ने कोभिसिल्ड र भेरोसेल खोप पुर्याइए पनि पछिल्लो चरणमा एक डोज मात्रै लगाए पुग्ने जोन्सन खोप उपलब्ध भएको थियो । हाल जिल्लाका धेरैजसो स्थानीय जिल्लाबाहिर रहेका र उनीहरु फर्कने क्रम शुरु भएसँगै खोप पनि उपलब्ध गराइने स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

 

आइतबार​ १ फागुन २०७८ ११:०६ AM मा प्रकाशित

प्रतिक्रिया