×

साझेदारी लगानीमा वडा भवन

images

तनहुँ : देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको रु ४० लाख र गाउँपालिकाको रु ४० लाख गरी कूल रु ८० लाख लागतमा वडा भवन निर्माण गरिएको हो ।

स्थानीय रामचन्द्र थापाले करिब रु आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिनुभयो । स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपश्चात सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको उहाँले बताउनुभयो ।

वडा कार्यालयसम्म विद्युत् सेवा नपुगेकाले सोलार जडान गरी कार्यालयको कामकाज सञ्चालन गर्दै आइएको छ । उहाँले भन्नुभयो, “विद्युत्को पहुँच वडा कार्यालयसम्म पुग्न करिब एक किलोमिटर दूरी बाँकी रहेको छ ।” साविकको कोटा गाविसका वडा नं ४, ५, ६ र ७  साविकको बैदी गाविसको वडा नं ४, ५, ६, ७, ८, ९ वडा गरी १० वटा दुर्गम वडा गाँभेर हालको देवघाट–२ नं वडा बनाइएको छ । गाउँपालिकाका वडामध्ये २ नं वडा दुर्गममा पर्दछ । 

उहाँले भन्नुभयो, “सेवा लिन आउने सेवाग्राहीले एक दिन नै बिताउनुपर्ने बाध्यता रहेको छ ।” वडा कार्यालयसम्म सडकको पहुँच पुगे पनि विद्युत् पहुँच पुग्न करिब एक किलोमिटर दूरी छ । हाल वडाको कामकाज सोलारपावर जडान गरी सञ्चालन गर्दै आइएको वडाध्यक्ष आलेले बताउनुभयो ।

वडाका सबै क्षेत्रका बासिन्दालाई मध्यबिन्दु पर्ने गरी वडा कार्यालय  स्थापना गरिए पनि भौगोलिक विकटताका कारण सेवाग्राहीले सेवा लिन कठिनाइ भोग्नुपरेको छ । सबै क्षेत्रमा सडक सञ्जाल नपुगेकाले कम्तीमा चार घण्टादेखि साढे पाँच घण्टासम्म हिँडेर वडामा आएर सेवा लिनुपर्ने दयनीय अवस्था छ ।
–––

शनिबार २९ माघ २०७८ ०२:३७ PM मा प्रकाशित

प्रतिक्रिया