×

बालवाङ्मय सम्मान समर्पण 

images

 

काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरलाई "साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान" र सुश्री अनुज्ञा नेपाललाई "राकुपा वालवाङ्मय बालप्रतिभा पुरस्कार" प्रदान गरियो ।

प्रमुख अतिथि के के कर्माचार्यले सम्मानपत्र प्रदान गर्नुभएको थियो । "साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान"अन्तर्गत रू. २५ हजार र "राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार" अन्तर्गत रू. १० हजार रहेको छ ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले उपयुक्त व्यक्तिको चयनले पुरस्कार आफैं सम्मानित भएको बताउनुभयो । उहाँले बालवाङ्मय तथा अनुसन्धान केन्द्रले पुरानो र नयाँ दुवै पुस्तालाई पुरस्कृत गरेर उदाहरणीय काम गरेको धारणा राख्नुभयो । 

सम्मानित स्रष्टा शान्तदास मानन्धरले नयाँ पुस्तामा अत्यधिक विदेश मोह देखिनुमा अभिभावकहरूकै कमजोरी रहेको बताउँदै यो अत्यन्त डरलाग्दो प्रवृत्ति हो भन्नुभयो ।

वरिष्ठ साहित्यकार रामकुमार पाँडेले नयाँ पुस्तामा संस्कार, संस्कृति, भाषा र साहित्य प्रेम बढाउने कार्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरेको बताउनुभयो । 

अध्यक्षको आसनबाट केन्द्रका अध्यक्ष प्रमोद प्रधानले अग्रज पुस्तालाई सम्मान, समकालीन पुस्तासँग सहयात्रा र आउने पुस्तालाई प्रोत्साहन नै संस्थाको उद्देश्य भएको उल्लेख गर्नुभयो  । 

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले सम्मानित र पुरस्कृत स्रष्टालाई बधाई दिदै केन्द्रले महत्त्वपूर्ण कार्य गरेकोमा प्रशंसा गर्नुभयो ।

सो अवसरमा केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले स्वागत भाषण, कोषाध्यक्ष शान्ति सापकोटाले सम्मानित र पुरस्कृत व्यक्तिहरूको योगदानको चर्चा र सदस्य नेत्र तामाङले धन्यवाद भाषण गर्नुभएको थियो ।

साहित्य सृष्टि बालवाङ्मय साधना सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्युटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले रू ५ लाखको अक्षयकोष राखिदिनुभएको छ । यस्तै "राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार"का लागि वरिष्ठ साहित्यकार रामकुमार पाँडेले रू २ लाख ११ हजार १११ को अक्षयकोष राखिदिनु भएको छ । दुवै पुरस्कार पहिलोपटक वितरण गरिएको हो ।

आइतबार​ २५ मंसिर २०७९ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया