×

भिजिट भिषा तस्करी प्रकरण-सहसचिव भट्टराईसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

images

काठमाडौँ - भिजिट भिषा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो। सहसचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए। उनी त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत थिए।

अख्तियारले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख र अर्यालविरुद्ध ५ लाख बिगो माग दाबी गरेको छ । अख्तियार स्रोतका अनुसार मुद्दा दायर भएका अन्य चार जना भिजिट भिषा तस्करीमा बिचौलियालगायतको भूमिकामा काम गरेकाहरु छन् ।

भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको छ । प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो । तर एक वर्षपछि १४ मंसिर २०८१ मा काठमाडौं जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गर्यो ।

बिहीबार २६ मंसिर २०८२ ०७:४५ PM मा प्रकाशित

प्रतिक्रिया