×

विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा

images

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो ।  शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स  सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन्। अर्जेन्टिना र क्रोएसियाबीचको खेल मंगलबार राति पौने १ बजे हुनेछ। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराएको थियो।

यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे खेल हुनेछ।  जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचिसकेको छ ।

मोरक्को पनि यस विश्वकपमा अपराजित छ । बेल्जियम र क्रोएसिया जस्तो टिम रहेको समूहमा विजेता बनेको मोरक्कोले नकआउट चरणमा स्पेन र पोर्चुगललाई हराएको थियो । विश्वकपमा मोरक्को र अफ्रिकन महादेशको यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो। 

यसअघि अफ्रिकन टिमको विश्वकपमा उत्कृष्ट नतिजा क्वार्टरफाइनलमा मात्र पुग्नु थियो। यसअघि क्यामरुन, घाना र सेनेगलले अन्तिम आठमा पुगे पनि सेमिफाइनलमा पुगेर इतिहास बनाउन भने चुकेका थिए।

पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोले अब साविक विजेता फ्रान्सको सामना गर्ने भएको छ । फ्रान्सले इंग्ल्याण्डलाई २-१ ले हराएर लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । चार वर्षअघि रुसमा फ्रान्सले क्रोएसियालाई हराएर उपाधि जितेको थियो ।

यस्तै क्रोएसिया पनि लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्दा अर्जेन्टिनान भने २०१४ पछि सेमिफाइनलमा प्रवेश गरेको हो । २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिना फाइनल पुगे पनि जर्मनीसँग पराजित भएपछि उपविजेता बनेको थियो । शनिबार खेलको ४२ मिनेटमा मोरक्कोले खेलमा अग्रता लियो। युसेफ इन नेस्स्रीले हेडमार्फत गोल गर्दै मोरक्कोलाई १-० गोलले अघि बढाएका थिए। उनलाई गोल गर्न अतियत अल्लाहले पास उपलब्ध गराएका थिए। उक्त गोल नै अफ्रिकी राष्ट्र मोरक्कोका लागि अन्तिम चारमा पुग्न पर्याप्त रह्यो।

यस्तै साविक विजेतासमेत रहेको फ्रान्सले कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो। फ्रान्सका औरेलिएन चुआमेनी र ओलिभिएर जिरूडले १-१ गोल गरे। इङ्ल्याण्डका लागि ह्यारी केनले गोल फर्काए।

खेलको १७ औँ मिनेटमा चुआमेनीले गोल गर्दै फ्रान्सलाई सुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरूमै इङ्ल्यान्डले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। उसका लागि ह्यारी केनले ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरे।

खेलको ७८ औं मिनेटमा जिरूडले गोल गर्दै खेलमा पुनः फ्रान्सलाई अग्रता दिलाए। इङ्ल्यान्डले दोस्रो हाफको ६ मिनेट बाँकी रहँदा पुन: बराबरी गर्ने अवसर पाएको थियो। तर कप्तान ह्यारी केनले पेनाल्टीको सदुपयोग गर्न नसक्दा टोली पराजित हुन पुग्यो।


सेमिफाइनल खेल

क्रोएसिया भर्सेस अर्जेन्टिना : मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे

मोरक्को भर्सेस  फ्रान्स मंसिर २८ गते बुधबार मध्यराति पौने १ बजे

आइतबार​ २५ मंसिर २०७९ ०८:५० AM मा प्रकाशित

प्रतिक्रिया