×

बैंकसँग ४/५ अर्ब मात्र नगद तरलता भएपछि राष्ट्र बैंकले आफैँले किन्यो ट्रेजरी विल्स

images

काठमाडौ ।राष्ट्र बैंकले बिहीबार बैंकहरूबाट २८ अर्ब ५० करोड बराबरको ट्रेजरी खरिद गरेको हो। यसको औसत ब्याजदर ८.३७ कायम भएको छ। राष्ट्र बैंकले ३० अर्ब बराबरको ट्रेजरी सोझै खरिद गर्न सूचना जारी गरेको थियो।  बैंक तथा वित्तीय संस्थाले २० प्रतिशत तरलता अनुपात कायम गर्ने क्रममा ट्रेजरी विल्समा पनि लगानी गरेका हुन्छन्। 

कतिपय बैंकहरूले यस्तो अनुपात कायम गर्न आवश्यक पर्नेभन्दा बढी रकम समेत ट्रेजरीमा लगानी गरेका हुन्छन्। 

यसले गर्दा बैंकहरूलाई नगद पुँजी अभाव समेत हुने अवस्थामा राष्ट्र बैंक आफैँले यस्ता ट्रेजरी विल्स खरिद गर्ने गरेको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले बताए। 

यसरी बिक्रीपछि पाएको रकम बैंकहरूले अनिवार्य नगद अनुपातको रूपमा राष्ट्र बैंकमा राख्नै पर्ने कुल निक्षेपको ४ प्रतिशत रकम कायम गर्न, राष्ट्र बैंकबाट लिइरहेको स्थायी तरलता सुविधा अन्तर्गतको सापटी तिर्न लगायतमा प्रयोग गर्न सक्छन्। 
हाल बैंकहरूले अनिवार्य नगद अनुपात कायम गर्न समेत राष्ट्र बैंकबाट लिइरहेको सापटीमा भर परिरहेको कारण यसरी सोझै ट्रेजरी खरिद गरेको हो। 

हाल बैंकहरूले राष्ट्र बैंकबाट पाइरहेको सापटी स्थायी तरलता सुविधा अन्तरगत ९० अर्ब रूपैयाँ लगानीमै छ।  

राष्ट्र बैंकले सरकारको लागि आन्तरिक ऋण उठाउँन ट्रेजरी विल्स जारी गरेको हुन्छ। 

पछिल्लो समय यसरी बोलकबोलमार्फत् बिक्री गरेको ट्रेजरीमा बैंकहरूले औसत १० प्रतिशत माथि ब्याज मागिरहेका छन्। 

राष्ट्र बैंकले यो ब्याजदर घटाउन समेत यसरी आफैले ट्रेजरी विल्स बैंकहरूबाट खरिद गर्ने गरेको छ।

शुक्रबार​ २५ कात्तिक २०७९ ०४:३१ PM मा प्रकाशित

प्रतिक्रिया