×

महोत्तरीको बर्दिबास क्षेत्र भने डेङ्गु महामारीको चपेटामा

images

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को रापताप उत्कर्षमा पुग्दै गर्दा महोत्तरीको बर्दिबास क्षेत्र भने डेङ्गु महामारीको चपेटामा छ । अहिले डेङ्गु जाँच गराउने र सङ्क्रमण पुष्टिपछिको उपचारको सेवा लिनेहरूले बर्दिबास अस्पताल भरिभराउ छ । 

कात्तिक महिनामा मात्रै हालसम्म (कात्तिक २५ गते मध्याह्नसम्म) १२६ जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ । “दैनिक डेङ्गु जाँच गर्न आउनेको चाप छ, सङ्क्रमण पुष्टि भएका पनि बाक्लै भेटिएका छन्”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले भने, “हामीलाई जाँच गर्न र उपचार दिन भ्याइनभ्याइ छ ।” गत साउनदेखि नै बर्दिबास नगरक्षेत्रमा डेङ्गुको सङ्क्रमण भेटिएको हो । गत साउनमा जाँच गर्न आएका २७ जनामध्ये दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसैगरी भदौमा जाँच गरिएका १२४ मध्ये २४ जना, असोजमा जाँच गरिएका २३९ मध्ये ९४ जना र जारी कात्तिकको हालसम्म जाँच गरिएका २७५ मध्ये १२६ जनामा सङ्क्रमण पुष्टि भएको डा महर्जनले जानकारी दिए । साउनदेखि हालसम्म २४६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो बर्दिबास अस्पतालको जाँच नतिजाको मात्र सङ्ख्या हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालमा पनि डेङ्गु जाँच हुँदै आएको छ ।

“अहिले अस्पतालमा जाँचका लागि दिनहुँ मान्छेको चाप बढ्दो छ, सङ्क्रमित पनि थपिँदा छन्” बर्दिबास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा भने, “हामीलाई डेङ्गु जाँचका लागि किटको पनि अभाव छ, बर्दिबास नगरपालिकाले अहिलेसम्म ६० वटामात्र किट उपलब्ध गराएको छ, हामीले ६६५ जनाको जाँच गरिसकेका छौँ ।” विभिन्न सङ्घसंस्थासँग मागजाँच गरेर किट व्यवस्था गरिएको शर्माको भनाइ छ । पछिल्लो पटक डेङ्गु सङ्क्रमण बढ्दै गएपछि आसन्न निर्वाचनमा खटाइएका स्वास्थ्य क्षेत्रका कर्मचारी जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेर फिर्ता बोलाइएको शर्माले जानकारी दिए ।

शुक्रबार​ २५ कात्तिक २०७९ ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया