×

रोजगारीका लागि विदेशिने दोब्बर

images

श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको सङ्ख्या पनि उल्लेख्य बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको सो अवधिको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । 

वैदेशिक रोजगार विभागका अनुसार गत साउन र भदौमा एक लाख ३९ हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन । २०७८ साउन र भदौमा ६१ हजार ४६८ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । यसअनुसार यो साउन र भदौमा ७७ हजार ५३२ जनाले बढी हुन्छ ।                                         

विभागका अनुसार गत भदौमा मात्रै ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् भने २०७८ भदौमा जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । गत साउनमा ६३ हजार ५९७ जनाले श्रम स्वीकृति लिएकामा अघिल्लो साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएका थिए ।  

यो वर्षको साउन महिनामा भन्दा भदौमा वैदेशिक रोजगारीमा जानका लागि १३ हजार ३६४ जना बढीले श्रम स्वीकृति लिएका छन् । विभागका महानिर्देशक उमाकान्त आचार्यले श्रम गन्तव्य देश र श्रमिक पठाउने देशमा कोरोनाको प्रभाव कम भएकाले वैदेशिक रोजगारी कोरोना सामान्य हुनेबित्तिकै गन्तव्य देशमा माग बढेकाले श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको बताए । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।  

मङ्गलबार २५ असोज २०७९ ०९:४८ AM मा प्रकाशित

प्रतिक्रिया