×

सत्ता गठबन्धन कार्यदलमा विभिन्न मोडालिटीबारे छलफल

images

पाँच दलीय सत्ता गठबन्धन कार्यदलको आज बसेको दोस्रो बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।
 
बैठकमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनलाई पनि चुनावी तालमेलको आधार मान्न सकिने विषयमा समेत छलफल भएको थियो । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ । 
 
 यसबाहेक बैठकमा संविधान कार्यान्वयन, लोकतन्त्र र राजनीतिक प्रणालीको रक्षा, जनजीविकाका सवाल सम्बोधनलगायत विषयमा गठबन्धन केन्द्रित हुनुपर्ने विषयमा बृहत्रूपमा छलफल भएको उहाँले बताउनुभयो ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ भने नेकपा (माओवादी केन्द्र)बाट नेताहरू वर्षमान पुन र देव गुरुङ हुनुहुन्छ ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेता रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुुहुन्छ । कार्यदलको अर्काे बैठक यही साउन ३० गते बस्ने बताइएको छ ।

बिहीबार २६ साउन २०७९ १०:३१ PM मा प्रकाशित

प्रतिक्रिया