×

माओवादीले पहिचानको आन्दोलनलाई छोडेको छैन- प्रचण्ड

images

धरान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार किरात र लिम्बूवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले संविधानलाई परिवर्तन नभई परिमार्जनको दस्ताबेजका रूपमा लिनुपर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले संविधान जनताको चाहना र आवश्यकताअनुसार समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता रहेको बताए । संविधान निर्माणदेखि सङ्घीय संरचनाको आधार तयार पार्न माओवादीको भूमिकाले वर्गीय र जातीय उत्पीडन अन्त्यका लागि निर्णायक मोड दिएको उनले दाबी गरे ।

‘समावेशिता, प्रतिनिधित्व र समानताको सवालमा हाम्रो पार्टीले विगतदेखि हालसम्म खेलेको भूमिका सबैलाई जानकारी नै छ । अब त्यसमा जहाँ कमजोरीहरू छन्, त्यहाँ संशोधन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ’, उनले भने,’हामीले वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय विभेद अन्त्यका लागि सङ्घर्ष मात्र नभएर त्यसलाई संस्थागत गर्दै शान्तिपूर्ण राजनीतिको धारामा रूपान्तरण गर्न निरन्तर भूमिका खेलिरहेका छौँ ।’

उनले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्न, आर्थिक विकास र समृद्धिका लागि जनताले कृषिलगायत क्षेत्रमा भोग्दै आएका समस्या समाधानको सङ्कल्पसहित अगाडि बढ्नुपर्नेमा जोड दिए । 

साथै उनले धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई धेरै नकारात्मक नहुन आग्रह गरेका छन् । उनले हर्क माओवादीप्रति धेरै नकारात्मक भएको भन्दै यस्तै गुनासो पोखेका हुन् । उनले भने,‘मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु। घरिघरि उहाँलाई के हुन्छ? उहाँ माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन।’

उनले माओवादीले पहिचानको आन्दोलनलाई नछोडेको पनि दोहोर्याए । उनले भने,‘सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न पनि म यसै कार्यक्रममार्फत आग्रह गर्न चाहन्छु ।’

आइतबार​ २८ बैशाख २०८२ ०८:१६ PM मा प्रकाशित

प्रतिक्रिया